विराटनगर विमानस्थल विस्तारमा संघले बजेट नदिएको भन्दै प्रदेश र स्थानीय सरकारको गुनासो

विराटनगर विमानस्थल विस्तारमा संघले बजेट नदिएको भन्दै प्रदेश र स्थानीय सरकारको गुनासो

विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि संघीय सरकारले प्राथमिकतामा राखेर बजेट उपलब्ध नगराएको प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखले गुनासो गर्नु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिकउत्सवको अवसरमा विराटनगर विमानस्थलले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री र विराटनगर महानगरपालिकाका मेयरले संघीय सरकारकासँग चित्त दुखाउनु भएको हो ।

प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले तीन तहका सरकारको संयुक्त लगानीमा विस्तार गर्ने सम्झौता अनुसारको काम अगाडी बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले अघिल्ला सरकारहरु दायित्वबाट पन्छिदा यस्तो स्थिति आएको भन्दै यो सरकार भाग्न नसक्ने बताउनुभयो । सम्झौता अनुसार विमानस्थलको धावनमार्ग तीन हजार मिटर लम्बाईमा विस्तार गर्ने योजनालाई चालु आर्थिक वर्ष भित्रैबाट अगाडी बढाउन पहल लिने मुख्यमन्त्री राईको दावी थियो ।

सरकारले खर्च गर्न नसकेको रकम विराटनगर विमानस्थलका लागि उपलब्ध गराउनुपर्ने मुख्यमन्त्री राईको भनाई थियो । त्यसका लागि संघीय सरकारमार्फत उपलब्ध गराउन आफूले पहल गर्ने दावी समेत गरिएको छ ।
संभव भएसम्म चालु आर्थिक वर्षमै बजेटको उपलब्धता गराउन माग गर्नेछु, मुख्यमन्त्री राईले भन्नुभयो–नत्र आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकतामा राख्न पहल लिनेछु । उहाँले प्रदेशको विकासका लागि महत्वपूर्ण मानिएको विराटनगर विमानस्थल विस्तारसँगै पर्यटन, अन्तरप्रादेशिक उडान, माउन्टेन फ्लाईट, अन्तरदेशिय उडान गराउन सकिने बताउनुभयो ।

क्षेत्रीय विमानस्थल आवश्यक रहेकोले सरकारले योजना बढाएको बताउँदै उहाँले संघले ५० प्रतिशत बजेट उपलब्ध गराएपछि प्रदेशले ४० प्रतिशत बजेट बिनियोजन गर्ने बताउनुभयो । आठ हजार मिटर भन्दा माथिका पाँचवटा हिमाल रहेको प्रदेश १ ले पर्यटन क्षेत्रबाट अपेक्षाकृत लाभ लिन नसकेको बताउँदै मुख्यमन्त्री राई माउन्टेन फ्लाईटको सुविधा विराटनगर विमानस्थललाई दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अघिल्ला सरकारहरु सम्झौता अनुसार दायित्वबाट पन्छिदा समस्या आएको आरोप समेत लगाउनुभयो ।

यो सरकार भाग्न सक्दैन, मुख्यमन्त्री राईले भन्नुभयो–पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग कुरा गरिरहेको छु, चाँडै निष्कर्षउन्मुख हुनेछ । उहाँले विराटनगर विमानस्थललाई स्थान्तरण गर्ने विषय उठ्नु गलत मनसाय रहेको बताउनुभयो ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले स्थानीयको जग्गा रोक्का राखेर मुआब्जाको सूचना जारी भईसक्दा पनि बजेट बिनियोजन नहुँदा दवाव थेग्नु पर्ने अवस्था आएको बताउनुभयो । उहाँले सम्झौता अनुसार संघले ५० प्रतिशत, प्रदेशले ४० प्रतिशत बजेट बिनियोजन गरे विराटनगर महानगरपालिकाले १० प्रतिशत बजेट उपलब्ध गराउने बताउनुभयो ।

तीन सरकारको संयुक्त लगानीमा विस्तार गर्ने सम्झौता भएर जग्गा प्राप्तीको प्रक्रिया बढेपनि बजेट अभावले विस्तारको काम अगाडी बढ्न नसकेको हो । २०२५ सालमा स्थापना भएको विराटनगर विमानस्थल आन्तरिक विमानस्थलमध्ये पुरानो मानिन्छ । एक हजार ५०० मिटर लम्बाई र २० मिटर चौडाई रहेको विमानस्थललाई विस्तार गरेर तीन हजार लम्बाई र ३० मिटर चौडाईको बनाउने गुरुयोजना तयार भईसकेको छ ।
काठमाण्डौंका लागि मात्रै दैनिक ४४ उडान÷अवतरण हुँदै आएको विमानस्थलबाट दुईहजार यात्रुले सेवा लिदैं आएको विराटनगर विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी दिनुभयो । उहाँले सौर्य एयरलायन्सले भैरहवा उडान भर्दै आएकोले अन्य प्रदेशमा समेत उडान भराउने प्रयास भईरहेको जानकारी दिनुभयो ।

सरकारले २०७७ कार्तिक २७ गते विमानस्थल विस्तारका लागि १२४.६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । विगतमा भारतको पटनामा विराटनगर विमानस्थलबाट उडान भरेको भएपनि अहिले प्रदेश भित्रका अन्य जिल्लामा समेत न्यून उडान हुने गरेको प्रमुख खरेलको गुनासो थियो । उहाँले तत्काल छिमेकी भारतसँगै बंगलादेश र भुटानमा उडान भर्न सकिने संभावना रहेको बताउनुभयो । विमानस्थलमा अहिले ७२ सिट क्षमतासम्मका जहाजले उडान र अवतरण गर्दै आएका छन् ।
विमानस्थल भन्दा बस्ती क्षेत्रको भूगोल उचाई हुँदै जाँदा २०७४ सालमा नौदिन र २०७८ सालमा तीनदिनसम्म डुबानका कारण उडान अवरुद्ध भएको प्रमुख खरेलले जानकारी दिनुभयो । त्यसका लागि विमानस्थलको पानी ढलो (वास्ता)मा मिसाइएको अन्य पानीको निकास हटाउनुपर्ने उहाँले माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्