प्रदेश १ मा गठबन्धनको सरकार : ६४ दिनमा के–के गर्‍यो आन्तरिक मामिला मन्त्रालयले ?

<span class='c1'>प्रदेश १ मा गठबन्धनको सरकार : ६४</span> <span class='c2'>दिनमा के–के गर्‍यो आन्तरिक मामिला मन्त्रालयले ?</span>

विराटनगर । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नो दुईमहिने कार्यप्रगति विवरण र भाबी रणनितिक कार्ययोजना सार्वजनिक गरेको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयले पछिल्लो ६४ दिनको अवधिमा गरिएका कार्यको प्रगति विवरण र भाबी कार्ययोजना सार्वजनिक गरेको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले उक्त विवरण सार्वजनिक गरेका हुन । विवरण सार्वजनिक गर्दै मन्त्री कार्कीले प्रदेशमा पाँच दलीय गठबन्धनको सरकार निर्माण भएपछि पछिल्लो २ महिनाको अवधिमा मन्त्रालयले लागुऔषध प्रयोगलाई निरुत्साहित र नियन्त्रण गर्न उपचारका साथै पुर्नस्थापनाको नीतिलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको बताए । उनले यसका लागि प्रदेशभित्रका सम्पूर्ण स्थानीय तहका नागरिक समाज, विद्यार्थी, युवा, जनप्रतिनिधी, सुरक्षा निकाय र रेडक्रस लगायतका संघ–संस्थासँग आवश्यक समन्वयमा स्वयंसेवक समूह परिचालन गर्ने तयारी गरिएको जानकारी दिए ।

विपद व्यवस्थापनका निम्त्ति उद्धार सामग्री खरिद, सुरक्षा निकायसँग समन्वय र उद्धारको पूर्वतयारी गर्न चुस्त अवस्थामा रहेको मन्त्रालयले सम्भावित जोखिमयुक्त क्षेत्रको नक्साङ्ककन गर्दै स्थानीय तहसँगको समन्वयमा बस्ती स्थानान्तरण, विपद मैत्री विकास व्यवस्थापन, उद्धार र राहत तथा पुर्नस्थापनाको तयारी समेत गरेको जनाएको छ । मन्त्रालयले प्रदेशस्थित १४ वटै जिल्लाका कारागारहरुको अनुगमन तथा निरीक्षण गरी भौतिक संरचना पुनः निर्माणका लागि संघीय सरकारसँग पहल गर्नुका साथै मानवअधिकार प्रवद्र्धन, कानुनी सहायता, पुस्तकालय र खेल सामग्री लगायतका सुविधा उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिएको छ ।

सडक सुरक्षाका लागि सडकको अनुगमन गरी व्यवस्थित गरिने, सिटी रिक्सा लगायतका सवारी साधनको उचित व्यवस्थापन गर्दै दुर्घटना न्यूनीकरणका लागि आवश्यक पहल गरिने मन्त्रालयको भाबी कार्ययोजना छ । संविधान प्रदत्त शान्ति सुरक्षा र अमनचयन कायम गर्नका लागि प्रदेश प्रहरी ऐन अनुसार प्रहरी समायोजनको प्रक्रिया अघि बढाउन आवश्यक पहल गरिने मन्त्रालयको दाबी छ ।

यस्तै बढ्दै गएको कोरोनाको ओमिक्रोन भेरिएन्टको जोखिमबाट प्रदेशबासीलाई जोगाउन यसको पहिचान, रोकथाम, नियन्त्रण र निदानका लागि कडाईका साथ सीमा क्षेत्रमा निगरानी बढाईएको मन्त्री केदार कार्कीले बताए । उनले भारत तथा तेस्रो मुलुकबाट आउने नागरिकको हकमा अनिवार्य स्वास्थ्य परीक्षण निरन्तरता दिइने बिषयमा कडाइ गरिएको जानकारी दिए । ‘संक्रमित पहिचान भएकालाई कोभिड–१९ उपचार केन्द्र र होल्डिङ सेन्टर लगायत उपयुक्त तोकिएको ठाउँमा राखेर उपचारको व्यवस्था गरिएको छ,’ उनले भने, ‘यसका लागि सुरक्षाकर्मी परिचालन गर्नेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन मेरो मास्क खोई ? भन्ने अभियान समेत सञ्चालन गरिएको छ ।’
यसैगरि प्रदेशका १४ वटै जिल्लास्थित सञ्चार गृहको तथ्याङ्कीकरण, पत्रकारहरुको क्षमता अभिवृद्धि र संस्थागत विकासका साथै सञ्चारगृहहरुको अनुगमन गरी समस्या पहिचान गरिने बिषय पनि मन्त्रालयको प्राथमिकतामा परेको जनाईएको छ । प्रदेशमा दर्ता भएका सञ्चारगृहहरुमा कार्यरत सञ्चारकर्मीहरुको न्यूनतम पारिश्रमिकको अवस्था अध्ययन गरि कार्यान्वयनमा जोड दिईने मन्त्रालयले जनाएको छ ।

यसका साथै मन्त्रालयले भने सभ्य प्रदेश निर्माणमा हाम्रो योगदान भन्ने नाराका साथ ‘हाम्रो अभियान, स्वाभिमान प्रदेश निर्माण’ कार्यक्रम १३७ वटै स्थानीय तहमा सञ्चालन गर्ने तयारी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्