मिरगञ्ज पुल क्षतिग्रस्त : सुनसरी–मोरङ औद्योगिक करिडोर प्रभावित

मिरगञ्ज पुल क्षतिग्रस्त : सुनसरी–मोरङ औद्योगिक करिडोर प्रभावित

विराटनगर । सीमावर्ती बजार जोगबनीदेखि करिब ५ किलोमिटरको दुरीमा रहेको बथनाहास्थित मिरगञ्ज पुल क्षतिग्रस्त हुँदा सुनसरी–मोरङ औद्योगिक करिडोर प्रभावित बनेको छ ।

पुल भासिएको कारणले बिहीबारदेखि भारतीय प्रशासनले मालवाहक सवारीसाधनको आवागमनमा रोक लगाएपछि दुई देशको व्यापारिक कारोबार प्रभावित बनेको हो । बिहीबारदेखि उक्त पुलबाट मालसामान बोकेका ठुला सवारीसाधनको आवागमन ठप्प छ । निजी तथा सार्वजनिक यातायात र दुईचक्के सवारीसाधनलाई मात्र आवागमनको अनुमति दिईएको छ । पुल क्षतिग्रस्त अवस्थामा हुँदा नेपाली मालवाहक सवारीसाधन भारत प्रस्थान गर्न सकेका छैनन् भने भारतका सवारीसाधनहरु पनि नेपाल भित्रिन सकेका छैनन । दुवैतिरका मालवाहक सवारीसाधन हाल सडकमै लामबद्ध छाडिएका छन् । जसकारण सुनसरी–मोरङ औद्योगिक करिडोरमा हाल कच्चा पदार्थको अभाव सिर्जना हुन थालेको छ । आवश्यक कच्चा पदार्थको अभावमा उद्योग सञ्चालनमा कठिनाई हुनुका साथै सडकमा लामबद्ध छाडिएका मालवाहक सवारीसाधनको डिटेन्सन र डेमुरेज चार्जको व्ययभार समेत उद्योगी व्यावसायीले व्यहोर्नुपरेको छ । यस्तै अवस्था रहे अबको केहीदिनमै प्रदेश १ का निर्यातजन्य उद्योगहरु संकटमा पर्ने, दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना हुने र उत्पादित सामाग्रीको भाउ बढ्ने संकेत देखिएको नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरेले बताए । उनले समस्या समाधानका लागि कुटनितिक पहलको आवश्यकता रहेको जानकारी दिए ।

शुक्रबार नेपाल र भारतका भन्सार प्रमुख तथा करिडोरका उद्योगी व्यावसायीको टोलीले मिरगञ्ज पुलको अवस्था अध्ययन गरेको छ । अवस्था अध्ययनको क्रममा उद्योेगीहरुले वैकल्पिक रुटको पहिचान गर्दै मालसामान आयात निर्यातको सहज प्रबन्ध मिलाउन भारतीय प्रशासनसँग आग्रह गरेका छन् । मिरगञ्ज पुल छेउमै निर्माण भईरहेको अर्को आर.सी.सी पुलको निर्माणको कार्यलाई चाँडै सम्पन्न गरि सञ्चालनमा ल्याउनुपर्ने, अररियाकै भित्री सडकखण्डबाट आयात निर्यातको अनुमति दिनुपर्ने अथवा सुनसरीको भन्टाबारी नाका हुँदै मालसामान ओसारपोसारका लागि सहजीकरण गरिदिनुपर्ने उनीहरुको माग छ । मिरगञ्ज पुलबाट आयात निर्यातको अभावमा सुनसरी–मोरङ करिडोरका निर्यातजन्य उद्योगधन्दा तथा कलकारखानाहरु संकटमा पर्ने जोखिम रहेकाले समस्या समाधानमा नियामक निकायको ध्यानाकर्षण हुनु अत्यन्तै आवश्यक रहेको उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले बताए ।

भारतको बथनाहास्थित मिरगञ्जमा रहेको उक्त पुल ब्रिटिश सरकारकै पालामा निर्माण भएको स्थानीय बताउँछन् । जीर्ण भईसकेको उक्त पुल कतिबेला भत्किन्छ भन्ने बिषयको टुंगो नभएको उनीहरुको भनाई छ । आवश्यकता अनुसार मर्मत गर्दै सञ्चालन भईरहेको उक्त पुल २०७४ सालमा आएको बाढीले नराम्ररी प्रभावित भएको थियो । नेपालको दोश्रो ठुलो नाका र सुनसरी–मोरङ कोरिडोरको एक मात्र प्रवेशद्धारको रुपमा रहेको उक्त पुल क्षतिग्रस्त हुँदा ८ महिनासम्म उद्योगी व्यावसायीले सुनसरीको भन्टाबारी नाकाबाट रुट परिवर्तन गरी जेनतेन उद्योग व्यावसाय जोगाएका थिए । त्यसयता २ वर्षअघि पनि मिरगञ्ज पुललाई पुनः क्षति पुगेको थियो । भारतीय पक्षले पुल मर्मतका लागी झण्डै महिनादिन लाग्ने बताएपछि उद्योगीहरुले आयात निर्यात सहजीकरणका लागि पटकपटक विभिन्न निकायहरुमा पहल गरेका थिए । तर, कुनै सुनुवाई भएको थिएन् ।

हाल, पुनः मिरगञ्जको उक्त पुल क्षतिग्रस्त अवस्थामा पुगेको छ । उद्योगीहरुले नेपाल सरकारको भन्सार विभाग, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र प्रदेश सरकारका सम्बन्धित सम्पुर्ण मन्त्रालयलाई समस्या समाधानका निम्ति पहल गरिदिन आग्रह गरेका छन् । यता, क्षतिग्रस्त पुलका कारण आयात निर्यात प्रभावित बन्दा भन्सार राजस्वमा समेत गिरावट आउन थालेको छ । विराटनगर भन्सार कार्यालयले दैनिक १३ करोड बराबरको राजस्व संकलन गर्दै आईरहेको थियो । तर, मिरगञ्जको पुलमा पुगेको क्षतिका कारण आयात निर्यात प्रभावित बन्दा हाल दैनिक ८ देखि ९ करोडको हाराहारीमा मात्र राजस्व संकलन हुन थालेको विराटनगर भन्सारका सुचना अधिकारी रामचन्द्र ढुंगानाले बताए । उनले लक्ष्यको तुलनामा दैनिक १५ देखि २० प्रतिशतसम्मको गिरावट आउन थालेको जानकारी दिए ।

विराटनगर भन्सारबाट भने पेट्रोलियम पदार्थ, आईरन स्टिल, प्रशोधित पामतेल, खाद्यान्न र तरकारी लगायतका उत्पादनहरु आयात हुनुका साथै सेन्थेटिक यार्न, जि.आई.वायर, सनपातको धागो, फलामे पाता, चाउचाउ र नुडल्स लगायतका विभिन्न नेपाली उत्पादनहरु भारत निकासी समेत हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्