रुट परिवर्तन गरी भीमनगर नाका हुँदै आयात निर्यात सुरु

रुट परिवर्तन गरी भीमनगर नाका हुँदै आयात निर्यात सुरु

विराटनगर । भारतको बथनाहास्थित मिरगञ्ज पुल क्षतिग्रस्त भएपछि पछिल्लो हप्तादिन देखि ठप्प रहेको मालवस्तुको आयात–निर्यात पुनः सुचारु भएको छ ।

रुट परिवर्तन गरि वैकल्पिक रुपमा सुनसरीको भीमनगर नाका हुँदै मालवाहक सवारीसाधनको आयात–निर्यात पुनः सुचारु भएको हो । भारतीय कस्टमको सहमतिमा मिरगञ्ज पुल सञ्चालनमा नआएसम्म भीमनगर नाकालाई वैकल्पिक रुटको रुपमा प्रयोग गर्ने गरि बुधबारबाट पुनः आयात निर्यात सुरु भएको हो । मिरगञ्जबाट पुनः सहज आयात–निर्यातको व्यवस्था नभएसम्म भीमनगर नाका प्रयोगमा रहने बिषयमा भारतीय कस्टमले सहमति जनाएको विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले बताए ।

जोगबनीदेखि करिब ५ किलोमिटरको दुरीमा रहेको मिरगञ्ज पुलमा क्षति पुगेपछि भारतीय प्रशासनको निर्देशानुुसार गत बिहीबारदेखि मालवाहक सवारीसाधनको आवागमन ठप्प थियो । नेपालको दोश्रो ठुलो नाका र सुनसरी–मोरङ कोरिडोरको एक मात्र प्रवेशद्धारको रुपमा रहेको उक्त पुल क्षतिग्रस्त अवस्थामा पुगेपछि सुनसरी–मोरङ औद्योगिक करिडोर प्रभावित बनेको थियो । करिडोरका उद्योगी व्यावसायीले सडकमा लामबद्ध मालवाहक सवारीसाधनको डिटेन्सन र डेमुरेज चार्ज बापतको निकै नोक्सानी व्यहोरेका थिए ।

गएको शुक्रबार नेपाल तथा भारतका भन्सार प्रमुख र करिडोरका उद्योगी व्यावसायीहरुले मिरगञ्ज पुलको अवस्था समेत अध्ययन गरेका थिए । अवस्था अध्ययनको क्रममा उद्योेगीहरुले वैकल्पिक रुटको पहिचान गर्दै मालसामान आयात निर्यातको सहज प्रबन्ध मिलाउन भारतीय प्रशासनसँग आग्रह गरेका थिए । मिरगञ्ज पुल छेउमै निर्माण भईरहेको अर्को आर.सी.सी पुलको निर्माणको कार्यलाई चाँडै सम्पन्न गरि सञ्चालनमा ल्याउनुपर्ने, अररियाकै भित्री सडकखण्डबाट आयात निर्यातको अनुमति दिनुपर्ने अथवा सुनसरीको भीमनगर नाका हुँदै मालसामान ओसारपोसारका लागि सहजीकरण गरिदिनुपर्ने उनीहरुको माग थियो । त्यसका लागि उनीहरुले नेपाल सरकारको भन्सार विभाग, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र प्रदेश सरकारका सम्बन्धित सम्पुर्ण मन्त्रालयलाई आवश्यक पहका लागि आग्रह समेत गरेका थिए ।

उद्योगीहरुको मागलाई ध्यानमा राख्दै मंगलबार बिहान विराटनगर भन्सार कार्यालयमा बसेको मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकारी र भन्सार अधिकृत सहितको बैठकले भीमनगर नाकालाई वैकल्पिक रुपमा प्रयोग गर्ने निर्णय गरेको हो । उक्त निर्णयप्रति भारतीय प्रशासन र भन्सारले समेत सहमति जनाएका छन् ।

रुट परिवर्तन गरि बुधबारदेखि सुरु भएको आयात–निर्यातका क्रममा भीमनगर हुँदै नेपाल भित्रिएका मालवाहक सवारीसाधन स्कर्टिङ गरि विराटनगर भन्सार कार्यालय ल्याउने गरिएको छ । जाँचपास सकिएपछि मात्र उक्त सवारीसाधनलाई आ–आफ्नो गन्तव्य लागि छोडिने गरिएको छ । रि–रुटका कारण करिब ३५ देखि ४० हजारको व्ययभार थपिएपनि कच्चा पदार्थको अभावमा संकटमा पर्न थालेका उद्योग व्यावसायलाई यसले निकै राहत पुगेको नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरेले बताए ।

भारतको बथनाहास्थित मिरगञ्जमा रहेको उक्त पुल ब्रिटिश सरकारकै पालामा निर्माण भएको स्थानीय बताउँछन् । जीर्ण भईसकेको उक्त पुल कतिबेला भत्किन्छ भन्ने बिषयको टुङ्गो नभएको उनीहरुको भनाई छ । आवश्यकता अनुसार मर्मत गर्दै सञ्चालन भईरहेको उक्त पुल २०७४ सालमा आएको बाढीले नराम्ररी प्रभावित भएको थियो । नेपालको दोश्रो ठुलो नाका र सुनसरी–मोरङ कोरिडोरको एक मात्र प्रवेशद्धारको रुपमा रहेको उक्त पुल क्षतिग्रस्त हुँदा ८ महिनासम्म उद्योगी व्यावसायीले सुनसरीको भीमनगर नाकाबाट रुट परिवर्तन गरी जेनतेन उद्योगधन्दा तथा कलकारखाना जोगाएका थिए । त्यसयता २ वर्षअघि पुनः मिरगञ्ज पुललाई क्षति पुगेको थियो । भारतीय पक्षले पुल मर्मतका लागी झण्डै महिनादिन लाग्ने बताएपछि उद्योगीहरुले आयात निर्यात सहजीकरणका लागि पटकपटक विभिन्न निकायहरुमा पहल गरेका थिए । तर, कुनै सुनुवाई भएको थिएन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्