रोकिएनन् चोरीका घटनाः सुरक्षा प्रबन्धमाथि चुनौती

रोकिएनन् चोरीका घटनाः सुरक्षा प्रबन्धमाथि चुनौती

बागलुङ । दुई साताअघि गलकोटको व्यापारिक केन्द्र हटिया बजारस्थित सिवाइसी बचत तथा ऋण सहकारीको सदस्य सेवा केन्द्रमा चोरी भयो । लुटेराले मध्यरातमा झ्याल फोडेर कार्यालयभित्र छिरी नगद रु छ लाख ५४ हजार लगे ।

सहकारीका सहसचिव सुवास आचार्यले चोरले ‘भल्ट’ नै तोडेर पैसा लुटेको बताउनुभयो । “सबैभन्दा सुरक्षित मानिएको भल्टबाटै पैसा चोरी भएको छ, यो घटनाले वित्तिय क्षेत्रमै चुनौती थपेको छ”, उहाँले भन्नुभयो । सिसी क्यामेरामा कैद दृश्यमा तीन जनाले चार घण्टा लगाएर पैसा लुटेको देखिएको सहसचिव आचार्यले बताउनुभयो । सहकारीले घटनाको छानबिन र दोषीलाई कानुनी कठघरामा ल्याउन माग गर्दै प्रहरीमा निवेदन दिएको छ ।

गलकोट नगरपालिका–३ का वडाध्यक्ष वीरजङ्ग भण्डारीका अनुसार त्यसको चार दिनअघि मात्रै हटियाकै केही घरमा चोरले लुटपाट मच्चाएका थिए । यी त चोरीका पछिल्ला प्रतिनिधि घटना मात्रै हुन् । विगत डेढ वर्षलाई हर्ने हो भने गलकोटमा चोरीका शृङ्खाबद्ध घटना भएका छन् । नगद, गरगहना, महँगा वस्तुलगायत गरी लाखौँको लुटपाट भएको छ । अघिल्लोे वर्षको असोजमा गलकोट–२ नरेठाँटीका ज्येष्ठ दम्पतीलाई बन्धक बनाएर धनमाल लुटेको घटनायता त्यस क्षेत्रमा चोरको बिगबिगी नै चलेको छ ।

व्यक्तिका घरदेखि पसल, सहकारीसम्म गरी दर्जनौँ ठाउँमा चोरी भएको छ । लगातारजसो चोरीका घटना हुँदा पनि लुटेरा पक्राउ पर्न सकेका छैनन् । प्रहरी अनुसन्धान सोधपुछमै सीमित छ । कतिपय घटनामा त प्रहरी पुग्नै सकेको छैन । पीडित र स्थानीयवासीले भने प्रहरी अनुसन्धान फितलो र निष्प्रभावी भएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

चोरी नियन्त्रणमा प्रहरी संवेदनशील नबनेको उनीहरुको गुनासो छ । “घटनाका प्रकृति हेर्दा चोरीमा पशेवर गिरोह नै सक्रिय भएको देखिन्छ, प्रहरीले अनुसन्धान गरिरहेको भनिए पनि अहिलेसम्म खास उपलब्धि देखिएको छैन”, वडाध्यक्ष भण्डारीले भन्नुभयो । प्रहरीसँग पनि अनुसन्धानका लागि स्रोतसाधन र जनशक्तिको कमी रहेको उहाँको बुझाइ छ । शृङ्खलाबद्ध रुपमा चोरीका घटना हुँदा गलकोट क्षेत्रको सुरक्षा प्रबन्धमै गम्भीर प्रश्नहरु उब्जिएका छन् । मानिसहरुमा त्रास छ । असुरक्षा बढेको छ ।

हटिया प्रहरीचौकीका प्रमुख प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माले पछिल्लोपटक सहकारीमा भएको चोरीको घटनामा स्थलगत अनुसन्धान सकिएको बताउनुभयो । “अब प्राविधिक अनुसन्धानको पाटो बाँकी छ, आशा गरौँ अपराधी पत्ता लाग्नेछन्”, उहाँले भन्नुभयो । सिसी क्यामेरामा कैद दृश्य अस्पष्ट भएकाले पनि अनुसन्धान जटिल बनेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब निरीक्षक शर्माका अनुसार मध्यरात १२ बजेदेखि ३ बजेभित्रको समयमा सहकारीमा चोरी भएको थियो । “त्यस समयमा कुनै मोबाइल प्रयोग भएको थियो की ? भनेर पनि हामी हेर्देछौँ, अन्य प्रमाण पनि खोज्दैछौँ”, उहाँले भन्नुभयो । चोरीलगायत अपराध न्यूनीकरणमा समुदायको पनि सहयोग चाहिने उहाँले बताउनुभयो । त्यो घटनाको अनुसन्धानमा स्थानीयवासीले नसघाएको प्रहरीको गुनासो छ । वडाध्यक्ष भण्डारीले चोरीका घटना हुन नदिन व्यक्ति, परिवार र समाज स्वयं पनि जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । “टोल, बस्तीमा स्वयंसेवी समूह बनाउने, निगरानी गर्ने, सिसी क्यामेरा राख्ने, घर, पसल, व्यवसायको सुरक्षा मजबुद पार्ने गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय प्रहरीले हटियालगायत बजार क्षेत्रमा रात्रिकालीन गस्ती पनि सुरु गरेको छ । सादा पोशाकका प्रहरीलाई पनि शङ्कास्पद ठाउँमा पठाउने गरिएको प्रनानि शर्माले बताउनुभयो । प्रहरीले चोरी हुन नदिन सुरक्षाका उपाय अपनाउन, धनमाल र गरगहना घरभित्रै छाडेर बाहिर नजान, शङ्कास्पद व्यक्ति देखिएमा प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

जनप्रतिनिधिका तर्फबाट गलकोटमा भइरहेका चोरीका घटनालाई लिएर जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गरिए पनि खास सुनुवाइ हुन नसकेको नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । यतिका घटना हुँदा पनि अपराधी पत्ता लाग्न नसक्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ छ । “कि त प्रहरीको अनुसन्धान प्रक्रियामै त्रुटि छ, कि प्रहरीले घटनाप्रति चासो दिएकै छैन”, नगरप्रमुख शर्माले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्