झापा। झापा र इलामको सीमा क्षेत्रमा पर्ने झापाको मेचीनगर नगरपालिका–१ भालुखोपस्थित जङ्गलबाट सशस्त्र प्रहरीले करिब साढे १९ टन फर्सीको बियाँ बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाबाट खटिएको टोलीले मङ्सिर १३ गते जङ्गलमा लुकाएर राखिएको अवस्थामा १९ हजार ४०० किलोग्राम फर्सीको बियाँ बरामद गरेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यको कमाण्डमा परिचालित टोलीले ४८५ बोरामा राखिएको उक्त परिमाणको फर्सीको बियाँ बेवारिसे अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
बरामद गरिएको फर्सीको बियाँसँगै दुई थान मोबाइलसमेत फेला परेको छ । बरामद सामग्री आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।