आज माघे सङ्क्रान्ति : के छ यसको महत्व ?

आज माघे सङ्क्रान्ति : के छ यसको महत्व ?

विराटनगर । आज माघे सङ्क्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन । भौगोलिक, जातीय र सांंस्कृतिक विविधता रहेको नेपालमा एकैदिन पर्ने पर्व र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न समुदाय र भेगमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ ।

यसको उदाहरणका रूपमा माघे संक्रान्ति पर्वलाई लिन सकिन्छ । नेपाली जनसमुदायको एक महत्त्वपूर्ण चाडको रुपमा रहेको माघे संक्रान्तिलाई मकर संक्रान्ति र माघी पर्वका नामले पनि चिनिन्छ । यस पर्वलाई थारु समुदायले माघी भनेर नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । यस दिन नेपालमा सार्वजनिक बिदा समेत दिइन्छ ।

नेपालको समस्त भू-भाग हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, लिम्बू, मगर, गुरुङ, नेवार र मधेसी जनसमुदायमा पनि यस पर्वको बेग्लै महत्व छ । सबैले आ–आफ्नो धार्मिक संस्कृति, परम्परा र मुल्यमान्यता अनुसार माघे संक्रान्ति मनाउने गर्दछन् ।

ज्योतिष शास्त्रानुसार माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनको नाम मकर संक्रान्ति रहन गएको हो । शास्त्र अनुसार यस दिनबाट सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ प्रवेश गर्ने भएकाले तुलनात्मक रूपमा दिन लामो हुने, रात छोटो हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्छ । त्यसैले यस पर्वको छुट्टै खगोलीय पनि महत्व छ ।

माघे संक्रान्ति नेपालभरका विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मनाईन्छ । यस पर्वमा बिशेष गरि वन तरुल, घर तरुल र सखरखण्ड (सुठुनी) जस्ता कन्दमूल तथा फलार खाने गरिन्छ ।

त्यसैगरी यस पर्वमा घिउ, चाकु र तिलको लड्डु पनि खाने गरिन्छ । सनातन संस्कारमा तिलको बिशेष महत्त्व छ । चाहे होम जाप गर्नलाई चरुको रूपमा होस् वा पूजा, दान तथा कुनै पितृ र शुभ कार्य गर्न होस, तिल अपरिहार्य छ । आजको दिन तिलको पकवानका लागि पनि प्रसिद्ध छ । तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाइएका लड्डुहरू आजको विशेष परिकार हो । त्यसै कारणले पनि माघे सङ्क्रान्तिलाई तिलुवा सङ्क्रान्ति पनि भनिन्छ ।

यसपर्वको दिन नेपालका विभिन्न देवालयहरूमा स्नान, दान र श्राद्ध गर्नेहरूको भीड हुने गर्छ । यसदिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, तरुल, वस्त्र, पानीको भाँडो सिदा दान गरेमा विशेष फल प्राप्त हुने र निरोगी भइने धार्मिक विश्वास छ ।

शिशिर ऋतुमा पर्ने यस पर्वमा स्नान गरी शरीर शुद्ध गरी घिउ, चाकु, तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हालेर पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी रोग र अन्य रोगसमेत नाश हुने विश्वास गरिन्छ ।

धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक दृष्टिले पनि माघे संक्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ । धार्मिक रूपले यस पर्वमा कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने उक्त मानिस सात जन्मसम्म पनि निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्