मानव बस्तीमा निर्माणाधिन अस्फल्ट प्लान्ट हटाउन स्थानीयको माग

मानव बस्तीमा निर्माणाधिन अस्फल्ट प्लान्ट हटाउन स्थानीयको माग

कानेपोखरी । मोरङको कानेपोखरीमा निर्माणाधिन अस्फल्ट प्लान्ट स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन् ।

मानवबस्तीमा प्रतिकुल असर पार्ने भन्दै स्थानीयले उक्त प्लान्ट तत्काल स्थानान्तरण गर्न माग गरेका हुन् । कानेपोखरी ५ स्थित जहदा सिरान चिसाङ खोला किनारमा रहेको मानव बस्तीको बिचमा हाल व्यवसायिक प्रयोजनका निम्त्ति अस्फल्ट प्लान्टको निर्माण कार्य भईरहेको छ । निमार्ण पश्चात प्लान्टबाट निस्कने विकारयुक्त धुवाँले वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने निश्चित छ । सोही बिषयलाई दृष्टिगत गर्दै स्थानीयले उक्त प्लान्ट तत्काल स्थानान्तरण गर्न माग हुन् ।

बि एण्ड बि कन्ट्रक्सन प्रा.लि. ले सञ्चालन गर्न लागेको सो प्लान्टबाट निस्कने विकारयुक्त धुँवा र रासायनिक ग्यासले वातावरण प्रदुषण हुनुका साथै यसले जीवजन्तु र मानव स्थास्थ्यमा नकारात्मक असर पुर्याउने स्थानीय बताउँछन् । यसले बालबालिका तथा ज्येष्ठ नागरिकहरु बढी प्रभावित हुने स्थानीयको बिश्लेषण छ । बि एण्ड बि को उक्त प्लान्टका कारण वायु प्रदुषण बढ्ने भएकाले उक्त योजना बिनाशर्त अन्यत्रै स्थानान्तरण गरेर सञ्चालन गर्नुपर्ने स्थानीय सामाजिक अभियान्ता सन्तोष गुरुङले बताए । उनले माग सहित स्थानीयले जारी गरेको ध्यानाकर्षण पत्रमा समेत सो बारे उल्लेख गरिएको जानकारी दिए ।

प्लान्टको निमार्ण कार्य रोक्न माग गर्दै स्थानीयले सामुहिक हस्ताक्षर सहित प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, घरेलु तथा साना उद्योग कार्यालय मोरङ र संघीय सरकारको वन तथा वातावरण मन्त्रालयमा ज्ञापन पत्र समेत बुझाएका छन् । स्थानीयको मागप्रति सरकारकोे ध्यानाकर्षण हुनुपर्ने उनीहरुको माग छ ।

यता अस्फल्ट प्लान्टका सञ्चालक भोजकुमार श्रेष्ठ भने प्लान्ट अत्याधुनिक प्रविधियुक्त रहेकाले यसले वातावरणीय तथा मानव स्वास्थ्यमा कुनै पनि प्रतिकुल असर नगर्ने दाबी गर्दै आएका छन् । आफु स्वयंम पनि स्थानीय बासिन्दा नै भएकाले प्लान्टबाट निस्कने हानिकारक वायुको विषयमा चिन्तित रहेको बताउँदै उनले प्लान्टले मानव स्वास्थ्यमा प्रतिकुल असर परेको देखिए उक्त योजनालाई तत्कालै विस्थापित गर्ने आश्वासन दिएका छन् । उक्त प्लान्ट भने अस्थाई रुपमा सञ्चालन गर्ने उद्धेश्यले निमार्ण गरिएको उनको भनाई छ ।

हाल निर्माणाधिन अवस्थामा रहेको सो प्लान्ट भने अबको केही महिनामै सञ्चालनमा आउने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्