कानेपोखरीको प्राविधिक कुटनेलाई कारबाहीको माग गर्दै ईन्जिनियरहरुको प्रर्दशन

कानेपोखरीको प्राविधिक कुटनेलाई कारबाहीको माग गर्दै ईन्जिनियरहरुको प्रर्दशन

कानेपोखरी । बाटो ग्राभेलको योजनाको अनुगमन गर्ने क्रममा कानेपोखरी गाउँपालिकाका प्राविधिक सुनिल कार्कीमाथि हातपात गरिएको भन्दै ईन्जिनियर तथा प्राविधिकहरुले कालोपट्टी बाँधेर विरोध प्रर्दशन गरेका छन् ।

शुक्रबार गाउँपालिकाका परिसरमा जिल्लाभरिका ईन्जिनियर र प्राविधिकहरुको टोलीले कालोपट्टी बाँधेर विरोध गरेका हुन् । उनीहरुले योजनासँग असम्बन्धित व्यक्ति स्थानीय विकास गुरुङले अपशब्द बोल्दै प्राविधिक सुनिल कार्कीमाथि हातपात गरेको भन्दै घटनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले पालिकाको कार्य सम्पादनमा फिल्डमा खटिएको प्राविधिक माथि भएको भौतिक आक्रमणले प्राविधिकहरुको ज्यानको सुरक्षामाथि नै प्रश्न उठेको भन्दै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न गाउँपालिकासँग माग गरेका छन् । शुक्रबार गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेलाई ५८ जना प्राविधिकहरुको हस्ताक्षर सहितको विज्ञप्ती हस्तान्तरण गर्दै उनीहरुले दोषीलाई कारबाहीकोे दायरामा ल्याउन माग गरेका हुन् । घटनामा संलग्नलाई कानुनी कारबाही नगरिए गाउँपालिकामा चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु हुने विज्ञप्तीमा उल्लेख छ ।

गएको पौष २९ गते गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक राजमती इङ्नाम र प्राविधिक कार्की सहितको टोली कानेपोखरी–४ स्थित श्याम राजवंशीको घरको दक्षिणतर्फ ग्राभेल गरिएको बाटो अनुगमनका लागि निस्किएको थियो । उपभोक्ता समितिका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेका पौष २८ गते परेको निवेदनको आधारमा टोलीले बाटोको अनुगमन गरेको थियो । अनुगमनकै क्रममा योजनासँग असम्बन्धित व्यक्ति विकास गुरुङले प्राविधिक कार्कीमाथि आक्रमण गरेका हुन् । घटना पश्चात गुरुङ फरार रहेको प्राविधिक कार्कीले बताए । फिल्डमा खटिएको प्राविधिकमाथि भौतिक आक्रमण गर्ने निजलाई भने तत्काल पक्राउ गरि कानुनको दायरामा ल्याउनुपर्ने उनको माग छ ।

यता, प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसन नेपालले पनि दोषीलाई प्रचलित नियमानुसार कारबाही गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्