खोप लगाउने दर बढ्दै

खोप लगाउने दर बढ्दै

सुदूरपश्चिम प्रदेशमा केही हप्ता अघिसम्म सुस्त रहेको कोरोना भाइरसविरुद्धको खोप लागाउने दर पछिल्ला दिनमा बढेको छ । कोरोना सङ्क्रमणदर बढेसँगै खोप लगाउने दर पनि पछिल्ला दिनमा बढेको स्वास्थ्य निर्देशनालय दिपायलका खोप सम्पर्क व्यक्ति मीनराज जोशीले जानकारी दिनुभयो ।

प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसङ्ख्या २२ लाख ८३ हजार ३८८ जनाको ५९ प्रतिशतले पूर्ण मात्राको खोप पाइसकेका छन् । सङ्क्रमणदर उकालो लागेपछि खोप लगाउने र नमूना परीक्षण गराउन नागरिकले चासो राखेसँगै खोप लगाउने दर पनि बढेको देखिएको हो । “खोप केन्द्रमा केही समय अघिसम्म मुस्किलले दिनमा १०÷१५ जनामात्रै खोप लगाउन आउँथे”, जोशीले भन्नुभयो, “कोरोना बढेसँगै हाल प्रदेशभरि दैनिक १५ देखि २० हजारले खोप लगाइरहेका छन् ।”

बाह्रदेखि १७ वर्ष उमेर समूहका ६४ प्रतिशतले पहिलो मात्राको खोप पाइसकेका छन् । उनीहरूलाई दोस्रो मात्राको खोप दिने समय पूरा भएपछि दोस्रो खोप दिने तयारी गरिएको छ । खोप उपलब्धताको हिसाबमा हाल कुनै समस्या नरहेको बताइएको छ । खोपप्रति मान्छेको आकर्षण घट्दै गएको तथा खोप लगाउन आवश्यक पर्ने सिरिन्जको अभावसमेत देखिएपछि खोपको काम बीचमा केही सुस्त देखिएको थियो ।

पूर्ण मात्राको खोप पाएर छ महिना अवधि पुगेका व्यक्तिलाई बुस्टर डोजको खोप दिने तयारी थालिएको छ । पहिलो चरणमा माघ ४ गतेदेखि अग्रपङ्क्तिमा खटिनेलाई यो खोप दिने तयारी छ । माघ १४ गतेपछि पूर्ण खोप पाएका ६० वर्षमाथिका व्यक्तिलाई भेरोसेल खोप लगाउने तयारी छ । प्रदेशमा भेरोसेल खोपको दुई लाख ४० हजार मात्र र कोभिशिल्ड खोपको ८० हजार मात्रा केन्द्रसँग माग गरिएको छ ।

मोडर्नाको दोस्रो मात्रा खोप लगाउन दुई लाख ३५ हजार मात्रा मगाइएको खोप सम्पर्क व्यक्ति जोशीले जानकारी दिनुभयो । भारतबाट भित्रिनेहरूलाई सीमानाकामै एन्टिजेन परीक्षणपश्चात एक मात्र खोप दिएर पुग्ने खोप लगाउने गरिएको छ । आगामी चैतसम्म लक्षित सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य सरकारको छ ।

निर्देशनालयका कोभिड–१९सम्पर्क व्यक्ति हेमराज जोशीले पछिल्ला दिनमा प्रदेशमा खोप अभियान तीव्र बनेको बताउनुभयो । सङ्क्रमणदर एकाएक उकालो लागेसँगै नमूना परीक्षण गराउन आउनेको पनि चाप बढेको छ । निर्देशालयको तथ्याङ्कअनुसार गएको छ दिनमा १० हजार ६९५ जनाको नमूना परीक्षण गरिएकामा एक हजार ५९१ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सङ्क्रमितको यो सङ्ख्या नमूना परीक्षण गरिएकाको झण्डै १५ प्रतिशत हो । प्रदेशमा सङ्क्रमित हुनेमध्ये अधिकांश भारतबाट भित्रिनेहरू रहेका छन् ।

अस्पतालका शय्या सङ्क्रमित बिरामीले भरिन थालेका छन् । सङ्क्रमण भई अवस्था जटिल भएका कतिपय बिरामीलाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार व्यवस्थापन भइरहेको छ । सीमानाका हुँदै भारतबाट फर्किनेहरूका उचितरूपमा व्यवस्थापन नभइरहँदा यसको सङ्क्रमण फैलिएको बताइएको छ । सङ्क्रमणको समस्या भएको देश भारतबाट भित्रिनेको सम्पर्कमा आउनेको गर्नुपर्ने ‘कन्ट्याक्ट ट्रेसिङ’ र भित्रिनेलाई समयमै क्वारेन्टिन अथवा आइसोलेशनमा राख्नमा देखिएको कमी–कमजोरीले कोरोना समुदायस्तरसम्म फैलिएको स्वास्थ्यकर्मीको बुझाइ छ ।

सीमाबाट भित्रिनेहरुको व्यवस्थापनका लागि भनेर निर्माण सुरु गरिएको होल्डिङ सेन्टरको अझै निर्माण पूरा हुनसकेको छैन । कैलाली र कञ्चनपुरमा एक– एक हजार क्षमताको होल्डिङ सेन्टर गएको असारदेखि नै निर्माण सुरु गरिएको थियो । हालकै गतिमा भइरहेको कोरोना सङ्क्रमणदर नरोकिएमा अस्पतालको हालको भौतिक तथा जनशक्तिको पूर्वाधारले धान्न नसकेर उपचार व्यवस्थापनमा थप चुनौती आउने देखिन्छ ।

कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सुरुका वर्षको तुलनामा हाल अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार जुटेको भए पनि दक्ष जनशक्तिको भने अझै अभाव रहेको जनाइएको छ । यसैबीच कोरोना भाइरसबाट सङ्क्रमित बाजुरा खप्तड छेडेदह गाउँपालिकाका ५२ वर्षीय पुरुषको आज होमआइसोलेशनमै मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले गएको २४ घण्टामा प्रदेशमा थप १८४ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्