आर्थिक गतिविधिलाई क्रियाशील बनाई कोभिडको सामना गर्ने : मुख्यमन्त्री राई

आर्थिक गतिविधिलाई क्रियाशील बनाई कोभिडको सामना गर्ने : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सिमित बजेटबाट कोभिडविरुद्ध लड्दै आएको प्रदेश सरकारलाई संघीय सरकारले बल प्रदान गर्नुपर्ने विचार प्रकट गरेका छन् ।

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको उपस्थितिमा आईतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो विचार प्रकट गरेका हुन् । उनले संघीय सरकार समेतको सहयोगमा कोरोनाविरुद्ध प्रभावकारी कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले कोभिडको तेस्रो झम्टाईलाई प्रदेश सरकार अत्यन्त सुझबुझका साथ सामना गर्ने पक्षमा रहेको दाबी गरे । आर्थिक गतिविधिलाई समेत क्रियाशील राखी कोभिडको तेस्रो लहरलाई सामना गर्नुपर्ने मुख्यमन्त्री राईको धारणा थियो ।

सो अवसरमा बोल्दै संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मानिसको जीवन निष्क्रिय नबनाई कोभिडविरुद्ध लड्ने स्पष्ट पारे । उनले अहिलेको अवस्थामा सकेसम्म भीडभाड नगर्न अपिल गर्दै भीडभाड हुने स्थानलाई व्यवस्थित गर्ने योजनाका साथ सरकार प्रस्तुत हुने जिकिर गरे ।

उनले कोभिडविरुद्धको खोपको पर्याप्त मौज्दात रहेको र ११ वर्षमुनिका बालबालिकालाई पनि खोप लगाउने तयारीमा सरकार रहेको जानकारी दिए । विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएपछि बालबालिकालाई पनि खोप लगाउने गरि सरकारले खोप उत्पादक कम्पनीसँग सहमति गरिसकेको मन्त्री खतिवडाले प्रष्ट पारे ।

प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जयराम यादवले प्रदेश नं. १ का जनसंख्या कम भएका पहाडी र हिमाली जिल्लामा खोप लगाउने प्रतिशत राम्रो भएको जानकारी दिए । उनले तराईकै जिल्लामा खोप लगाउनेको संख्या कम भएकोमा अब प्रभावकारी योजना मार्फत खोप लगाउने लक्ष्य पूरा गरिने दाबी गरे ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय अन्तर्गको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले प्रदेश नं. १ मा कोभिड १९ को वर्तमान अवस्थाका बारे जानकारी दिएका थिए । उनले माघ १ गतेसम्म प्रदेश नं. १ मा संक्रमितको संख्या एक लाख ५४ हजार एक सय ६१ पुगेको बताएका थिए । प्रदेशमा ६ लाख ६७ हजारले पीसीआर र एन्टिजेन परीक्षण गरेको तथ्यांक उनले प्रस्तुत गरे । अहिले प्रदेश नं. १ मा सक्रिय संक्रमित संख्या १ हजार ३९७ रहेको उनले जानकारी गराए ।

उनका अनुसार कोभिडका कारण प्रदेश नं. १ मा २ हजार १९६ जनाको मृत्यु भएको छ । प्रदेश नं. १ मा विभिन्न खोप गरी पहिलो डोज लगाउनेको संख्या २६ लाख र दोस्रो डोजसहित पूर्ण खोप लगाउनेको संख्या १७ लाख ५० हजार छ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेश नं. १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरे र सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित सुरक्षा निकायका प्रमुख, स्वास्थ्य सेवा क्षेत्रका प्रमुख तथा विभागीय मन्त्रालयका सचिवहरू लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्