प्रदेश १ मा युवा उमेर समुह कोरोना संक्रमणको उच्च जोखिममा

प्रदेश १ मा युवा उमेर समुह कोरोना संक्रमणको उच्च जोखिममा

विराटनगर । प्रदेश नं. १ मा पछिल्लो समय युवाहरुको तुलनामा बालबालिका र वृद्धवृद्धा नै कोभिडको संक्रमणबाट बढी सुरक्षित देखिएका छन् ।

प्रदेशमा पछिल्लो समय २१ देखि ४० बर्ष उमेर समुहका जनशक्तिमा कोरोना संक्रमणको दर उच्च देखिएको हो । सरकारी तथ्याङक अनुसार पछिल्लो १ महिनाको अवधि अन्तर्गत प्रदेश नं. १ मा कुल १ हजार ६५६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा बढी २१ देखि ४० वर्ष उमेर समुहका सक्रिय जनशक्ति कोरोनाबाट संक्रमित भएका छन् । यसरी संक्रमित हुनेमा ४१० जना पुरुष र ४०० जना महिला रहेका छन् । यो पछिल्लो १ महिनाको अवधिमा थपिएका कुल संक्रमितको ४८.९१ प्रतिशत हो ।

प्रदेश नंं. १ मा पछिल्लो १ महिनामा २१ देखि ३० वर्ष उमेर समुहका ४२७ र ३१ देखि ४० वर्ष उमेर समुहका ३८३ जनामा संक्रमण पुष्टि भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश नं. १ मा हालसम्म १ लाख १० हजार ४३६ जनामा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ । संक्रमण पुष्टि भएका मध्ये १ लाख ६ हजार ५६० जना निको भई डिस्चार्ज समेत भईसकेका छन् ।

तर, हालसम्मको कुल संक्रमितको संख्यात्मक विवरण अध्ययन गर्दा पनि सबैभन्दा बढी संक्रमित हुनेमा २१ देखि ४० वर्ष उमेर समुहकै जनशक्तिको अग्रसरता देखिन्छ । तथ्याङ्कलाई आधार मान्ने हो भने प्रदेश नं. १ मा हालसम्म ४६.६४ प्रतिशत युवा उमेर समुहमा संक्रमण पुष्टि भईसकेको छ । यसरी संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समुहका २६ हजार ३१ र ३१ देखि ४० वर्ष उमेर समुहका २५ हजार ४८४ जना युवाहरु रहेका छन् ।

रोजगारी, पठनपाठन र अन्य पेशागत जिम्मेवारीका कारण उक्त उमेर समुहको अत्याधिक समय घरबाहिर नै व्यतित हुने भएकाले उनीहरुमा संक्रमणको सम्भावना उच्च रहने गरेको विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताउँछन् । उनी भन्छन, ‘युवा उमेर समुहको तुलनामा वृद्धवृद्धा तथा बालबालबालिकाहरु प्रायः घरमै बस्छन् । त्यसकारणले पनि उनीहरु सुरक्षित छन ।’

उमेर अनुसार संक्रमितको वर्गीकरण गर्दा प्रदेश १ मा ४० वर्षसम्मको सक्रिय जनशक्तिपछि ४१ देखि ५० वर्षको उमेर समुह पनि संक्रमण उच्च जोखिममा छ । पछिल्लो १ महिनाको अवधिमा मात्रै प्रदेश १ मा सो उमेर समुहका २३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यसपछि क्रमशः पछिल्लो एक महिनामा ० देखि १० वर्षसम्मको उमेर समुहका ३६, ११ देखि २० वर्षका १४९, ५१ देखि ६० बर्षका २०७, ६१ देखि ७० वर्षका ११८ र ७१ वर्षमाथिका ७७ मा कोरोनाको संक्रमण पुष्टि भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी सदानन्द भट्टराईले बताए । प्रदेश १ मा गत पुुसयता मात्रै कोरोनाको संक्रमण दर उच्च हुँदै गएको उनले जानकारी दिए ।

प्रदेश नंं. १ मा पछिल्लो समय सबैभन्दा बढी मोरङ, सुनसरी र झापा जिल्लामा कोरोनाको संक्रमण उच्च हुँदै गएको प्रदेश सरकारले जनाएको छ । छिमेकी मुलुक भारतसँगको खुल्ला सीमानाका कारण हुने दोहोरो आवागमनले यी जिल्लाहरुमा संक्रमणको दर उच्च रहेको प्रदेश सरकारको निष्कर्ष छ । प्रदेश १ मा हाल १ हजार ६८० जना संक्रमित बिरामीहरुको आईशोलेसनमा उपचार भईरहेको छ । प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म २ हजार १९६ जनाले ज्यान गुमाएका छन् भने १ लाख ६ हजार ५६० जना संक्रमणमुक्त भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्