विराटनगरका होटलमा बुकिङ क्यान्सिल, अकुपेन्सी आधा घट्यो

विराटनगरका होटलमा बुकिङ क्यान्सिल, अकुपेन्सी आधा घट्यो

विराटनगर । विवाहकै सिजनमा कोरोना संक्रमण बढेपछि त्यसको झट्का होटल तथा पार्टी प्यालेस सञ्चालकलाई लागेको छ । दुईवर्षदेखि कोरोना संक्रमणको प्रभावमा पर्दै आएको होटल व्यवसाय क्षेत्र चालु वर्षको वैवाहिक सिजनमा समेत नराम्रोसँग प्रभावित बनेको हो ।
विराटनगरस्थित होटल स्वागतमका सञ्चालक एवं होटल एशोसिएशन नेपाल प्रदेश १ का संयोजक राजन श्रेष्ठका अनुसार संस्थागत र वैवाहिक कार्यक्रमका लागि भएको बुकिङ्ग क्यान्सिल भईरहेका छन् । जसका कारण होटल व्यवसायलाई यो वर्ष समेत नराम्रोसँग धक्का लाग्ने देखिएको छ ।

उहाँले माघ र फागुनको पहिलो हप्तासम्म बुकिङ्ग भएका वैवाहिक कार्यक्रमहरु कतिपय स्थगित र कतिपय क्यान्सिल भएको जानकारी दिनुभयो । कोरोना संन्त्रासबाट मुक्त भएपछि साउन÷भदौदेखि लयमा फर्केको होटल व्यवसाय माघ लाग्दैदेखि पुनः सुस्ताउन थालेपछि चिन्ता बढेको संयोजक श्रेष्ठले बताउनुभयो ।
प्रदेश १ मा गत आर्थिक वर्ष १४ वटा नयाँ पर्यटकीयस्तरका होटल सञ्चालनमा आएका थिए । छ वटा होटल निर्माणाधिन चरणमा रहेका छन् । नयाँ लगानीमा सञ्चालित होटलका सञ्चालकलाई अहिले सबैभन्दा धेरै प्रभावित बनाएको श्रेष्ठको दावी छ । उहाँले प्रदेशभरमा होटलको स्तरोन्नतीका लागि ३०–४० करोड लगानी भएको जानकारी दिनुभयो ।

साउनपछि क्रमशः विराटनगरका होटलको अकुपेन्सी बढ्दै ७० प्रतिशतको हाराहारीसम्म पुगेको श्रेष्ठको भनाई छ । तर, अहिले पर्यटकीयस्तरका होटलको अकुपेन्सी ३० प्रतिशतमा झरिसकेको उहाँले जानकारी दिनुभयो । विराटनगरका होटलमा भारतबाट आउने पर्यटकहरुको संख्या स्वाट्टै घटेको छ । काम विशेषले विराटनगर आईपुग्ने भारतीय र नेपाली नागरिक बाहेकले होटल बुकिङ्ग गर्न छोडिसकेका छन् । होटल एशियाटीक विराटनगरका सञ्चालक पुण्य भट्टराईले माघ र फागुनसम्मका सबै कार्यक्रम क्यान्सिल र स्थगन भएको बताउनुभयो । सिजनका वैवाहिक कार्यक्रमहरु धमाधम स्थगन भएपछि होटल व्यवसायीले वैकल्पिक क्षेत्र खोज्नुपर्ने दिन आएको भट्टराईको गुनासो छ । गत बैशाख १७ गतेपछि विवाहका लागि भएका बुकिङ समेत क्यान्सिल भएकाले चालु वर्षमा सामाजिक जमघट हुँनै नपाएको उहाँले बताउनुभयो ।

कोरोनाकै कारण पम्किन नसकेका होटल जस्तै पार्टी प्यालेसको लगानी समेत जोखिममा परेको कृष्ण होटल एवं पार्टी प्यालेसका सञ्चालक रोशन खड्काको गुनासो छ । सरकारी, सामाजिक संघ÷संस्था, साँस्कृतिक कार्यक्रमहरु रोकिदाँ पार्टी प्यालेस बन्द हुने अवस्थामा पुगेको खड्काको भनाई छ ।
स्थानीय प्रशासनले ५० जना भन्दा बढी भेला हुन नदिने आदेश जारी गरेसँगै पार्टी प्यालेसको बुकिङ्ग क्यान्सिल र परिवर्तन भईरहेको खड्काले जानकारी दिनुभयो । दुईसय जनाको अर्डरलाई घटाएर ५० जनामा झारिएको छ, खड्काले भन्नुभयो–बजारमा भीडभाड छ, पार्टी प्यालेसमा भेला हुने नागरिकलाई मात्रै कोरोना लाग्छ जस्तो गर्छ प्रशासन ।
विराटनगरमा २६ वटा पर्यटकीयस्तरका होटल छन् । शहरभरी मापदण्ड पूरा नगरी खुलेका पार्टी प्यालेसको संख्या २० भन्दा बढी छ । महानगरमा मझौला होटलहरुको संख्या ६० को हाराहारीमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्