सानू तपाईले पोड्कास्ट कहाँ सिक्नुभएको हो ?

सानू तपाईले पोड्कास्ट कहाँ सिक्नुभएको हो ?

सिर्जना भण्डारी ।

सानू तपाईले पोड्कास्ट कहाँ सिक्नुभएको ? इन्शुले सोधिन ।

पोड्कास्ट हैन पड्कास्ट हो नानी म सिक्दैछु । इन्शु, इन्शु को हो भन्नुहुन्छ भने मेरी दिदीकी छोरी । अनि कुरा मोडेर अन्त्यै पुर्‍याइदिन्छु । खै किन ? पड्कास्ट सम्झिँदा मुहारमा छुट्टै खुशी झल्किन्छ । खै कसरी सिक्न मन लाग्यो ?

एक दिन फेसबुक चलाएर बसीरहेको थिए । अमेरिकन कर्नर विराटनगरको वालमा पड्कास्ट सम्बन्धी सुचना देखे । फारम पनि भरे । ट्रेनरमा सबिना दिदी मेरो फेभरेट अनि आवाजको दुनियाँमा उहाँको सुमुधुर आवाजको फ्यान को नहोला ? आवाज मै जादु छ दिदिको । शुक्रबारको दिन थियो होला सायद । जानुका र सबिता दिदिहरु सँगै बसिरहेको थिए, फोन आयो । हेल्लो सिर्जना भण्डारी बोल्नुभएको हो ? हो, म सिर्जना नै बोलिरहेको छु । मैले जवाफ फर्काए । उताबाट हजुरले पड्कास्टको ट्रेनिङ्गको लागि फारम भर्नुभएको थियो । सेलेक्ट हुनुभएको छ । भोलि बिहान ९ बजे देखिको तालिम छ भन्ने खबर आयो । मेरो खुशीको सिमा नै रहेन । हुन्छ म आउँछु भनेर फोन राखे । अनि त्यो खबर दिदीहरुलाई सुनाए ।

दिदीहरुले राम्रो छ सिक भन्नुभयो । भोलिपल्टबाट सिक्न पनि गए । पड्कास्टबारे धेरै कुरा सिक्न र जान्ने अवसर पाए । सिक्ने क्रममा नै पहिलो पड्कास्ट रेकर्डिङ्ग गरे । सबै सामु प्रस्तुत गर्न पाउँदा सार्है नै तनाव महशुस भयो । तर, सबैको राम्रो र उत्कृष्ट फिड्ब्याक पाउँदा मन शान्त भयो । धेरैले मन पराईदिनुभयो । आवाजमा अलिकती निखारता ल्यायौ भने अझै उत्कृष्ट हुनसक्ने सुझाव समेत पाए । त्यो क्षण अझैै पनि बिर्सन सकेकी छैन् । आँखाबाट आँसु नै झर्न खोज्छ । साँच्चै नै केही गर्न सक्छु भन्ने अनुभूति भएको थियो त्यो दिन । धेरै नै हौसला र खुशी पनि मिलेको थियो । कार्यक्रम सकियो, सबैले आ आफ्नो पड्कास्टको नाम राख्ने बेला आयो । मैले नि मेरो एउटा पड्कास्टको थिम बनाए । 'कथा भित्रको व्यथा' - हरेक मानिसको आफ्नै कथा हुन्छ । अनि, त्यस कथाभित्र अनेकौं व्यथा ।

बेलाबेलामा सबिना दिदीसँग कुरा पनि हुन्थ्यो । आफूसँग भएको मोबाइलको प्रयोग गरेर धेरै नै प्रयासहरु नि गर्थे । आवाजमा निखारता ल्याउन के के पो गरियो सम्झिँदा अचेल हाँस उठ्छ । यसै क्रमलाई अघि बढाउन १०/२० पड्कास्ट रेकर्डिङ्ग पनि गरे । फेसबुकमा कथा भित्रका व्यथा पड्कास्ट बाई सिर्जना भण्डारी भन्ने पेज पनि बनाए । कोशिश थियो, प्रयासले निरन्तरता पायो । तर, धेरै अगाडिसम्म पुग्ने प्रयास छाडेपछि अहिले त अल्छि लाग्छ । कहिलेकाँही जाँगर चलाउँछु । म पनि आवाजको दुनियाँमा छुट्टै नाम कमाउँछु भन्ने लाग्छ । तर, फेरी यता कता कता हराउँछु ।

दिदी तुलसी दुलाल सरको एसएलसीमा फेल भएको कथा हजुरले सुनाउनु भएको हो ? हजुरको आवाज कति मिठो । कहाँ सुनेको भाई मैले सोधे उसले फेसबुकमा हजुरको पेजमा भएको लिङ्कमा सुनेको थिए भन्यो । म फिस्स हाँसे अनि चुपचाप हिँडे ।

साँच्चै तुलसी दुलाल सरको कथाको भाग २ पनि रेकर्डिङ्ग गर्न मन नलागेको हैन र नगरेको नि हैन । तर, के नमिलेको नमिलेको आवाजमा मेरो, बाँकी नै छ । त्यो कथा कति पटक रेकर्ड गरे, डिलिट गरे याद नै छैन । तुलसी सरले पनि बेलाबेला सिर्जना खोई त भनेर झकझकाइ रहनुभएकै हो । तर, कहाँ के नमिलेको महशुस हुन्छ ।

म पनि भाइरल न भएर पो हो कि ? बाजुबज्यै, ढिकिच्याउ, मेरो २ पैसा, अजिुस पड्कास्ट जस्तो पपुलर नभएर पो हो कि मन नलागेको ? खै किन म हरेक पटक जवाफ खोज्छु । अनि उत्तर पाउँछु। कर्म गर फलको आशा नगर । यो सिद्धान्त केवल मेरो लागि ठिक छ । तर, सबैले कहाँ बुझ्छन् र ? गहिरो लामो श्वास फेर्छु अनि सम्झन्छु काग र पिनाको, अनि बाघ र स्यालको कथा । अनि फेरि कोल्टे फेर्दै सुत्छु । फेरि लकडाउन सुरु भयो अब चाँही पड्कास्ट सुरु गरौँ कि भन्ने लागेको छ । म भाइरल नहोउँला, मेरो पड्कास्ट सबैले नसुन्लान । तर, कोरोनाको त्रास र यसको हुरीले मलाई पनि उडाई लग्यो भने, मेरो आवाज त जीवन्त रहीरहन्छ । मेरो आवाज त गुन्जिरहन्छ । त्यो, भाई जस्तै तुलसी सरको कथा भाग २ सुन्न चाहनेहरुले मेरो आवाज त सुनिरहनु हुनेछ ।

सानू पड्कास्ट कहिले आउँछ ? भनेर कसैले कसैलाइ त सोध्ने छन । सानुको आवाज भनेर कोही त रमाउने छन् । टाँढा कतै आगो ताप्दै कानमा एयरफोन हालेर तुलसी सरको रमाइलो कथा कसैले त सुन्ने छन् । अनि प्रेरणा लिने छन् । मेरा बा आमा अनि मेरा शुभेच्छुकहरुले त सुन्ने छन हैन र ? लेखाइमा स्पष्टता नहोला, शब्द चयन र भाव यताउता होला तर कोशिस न हो । पढीदिनुभयो सार्है खुशी लाग्यो । अब, एकपटक सुनी पनि दिनुस न है ।

www.anchor.fm/sirjana-bhandari

बिशेषगरि विद्यालय बिदाको समय, कोरोनाको त्रासको समयमा तपाई पनि केही उल्लेखनीय गर्ने कोशिस गर्नुस न है । पड्कास्ट रेकर्डिङ गर्नुहुन्छ भने सामान्य जानकारी यस प्रकार रहेको छ । विस्तृत जानकारी युट्युब र गुगलमा भेटिन्छ । तर, एकपटक खोजी चाहिँ गर्नुस न है ।

–पड्कास्ट के हो?
पड्कास्ट भनेको धारावाहिक रुपमा रेकर्डिङ गरि इन्टरनेटमा राखिएको अडियो फाईल हो । यसमा कथा, कविता, समाचार, समस्या र समाधान तथा जीवनका भोगाईहरु रेकर्डिङ गरेर कुनै व्यक्ति वा समुहले राखेको हुन्छ ।

– के यो निः शुल्क हो ?
यो पुर्णतः निःशुल्क नै हो ।

– किन पड्कास्ट ?
यो विकसित राष्ट्रहरुमा अत्याधिक चर्चामा आउँदै गरेको प्लाटफर्म हो । यसले नियमित लिसनरहरुलाई कुनै परिधिमा नबाँध्ने हुँदा यसको प्रयोग दिनानुदिन बढी रहेको छ । यसका फाईदाहरु निम्न छन् ।
- थोरै लगानीमा आफुलाइ मन परेको बिषयमा पडकास्ट रेकर्ड गर्न सकिने ।
- आफ्नो श्रोतासँग सजिलै कनेक्ट भई उनीहरुको अभिरुची अनुसार आफैले काम
गर्न सकिने ।
- आफ्नो पड्कास्ट आफ्नै दायरा, आफुले पस्कन लागेको बिषयवस्तुमा रोकटो नहुने ।
- शून्य या न्यून लगानीमा काम गर्न सकिने ।
- बोल्न आफ्नो अन्तर मनको भाव व्यक्त गर्न सहज हुने आदि ।

– पड्कास्ट रेकर्ड गर्न के–के चाहिन्छ ?
- एउटा स्मार्ट फोन, ईन्टरनेट र अन्य सामग्री आफ्नो क्षमता अनुसार ।

– पड्कास्ट सुरु गर्न अघि के के गर्नुपर्दछ ?
- एउटा राम्रो बिषय छनौट गर्नुपर्छ ।
- एन्कर आई.डी वा पड्कास्ट आई.डी बनाउनुपर्छ । अनि रेकर्डिङ गर्न सुरु गर्नुपर्छ ।
- तपाइको पड्कास्ट कसका लागि हो, जेनर डिफाईन गर्नुपर्छ ।
- तपाइको पड्कास्ट किन सुन्ने अरुलाइ बुझाउनुपर्छ ।

– के पड्कास्टबाट कमाई गर्न सकिन्छ ?
पड्कास्टबाट पनि पैसा कमाउन सकिन्छ । धेरैले कमाएका पनि छन । तर, यसलाई प्यासिभ इनकमको एउटा स्रोतको रुपमा लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्