चितवन । कोरोना सङ्क्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ ।
कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ ।
कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलिन सक्ने भन्दै बन्द गरिएको हो । क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा समस्या आउने भन्दै उहाँले कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार बन्द गरिएको जानकारी दिनुभयो । सार्वजनिकस्थलमा स्थानीय प्रशासनले २५ जनाभन्दा बढी जमघट र भेला हुन रोक लगाएको छ ।
उहाँले भन्नुभयो, “जोखिम बढेसँगै कैदीबन्दीका आफन्तहरुसँग भेटघाटमा रोक लगाएका छौ ।” कारागार कार्यालयले बाहिरबाट ल्याईएका कैदीबन्दीको कोरोना परीक्षण नगरी नबुझ्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पिसिआर परीक्षणको रिपोर्ट नभएसम्म कैदीबन्दी हामी बुझ्दैनौ ।” कारागार कार्यालयमा रहेका एक जना कैदीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएसँगै उच्च सावधानी अपनाइएको उहाँले बताउनुभयो । कारागार प्रशासनले बाहिरबाट नयाँ आएका कैदीबन्दीलाई र अस्पताल लग्नुपर्ने कैदीबन्दीलाई छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । ३० जनाको क्षमता रहेको क्वारेन्टिको व्यवस्था गरिएको उहाँले बताउनुभयो । जहाँ नयाँ आएका र बिरामीलाई छुट्टै राख्ने गरिन्छ ।
उहाँले भन्नुभयो, “दुई कोठालाई क्वारेन्टिनको रुपमा प्रयोग गरिएको छ ।” अहिले क्वारेन्टिनमा १३ कैदीबन्दी छन् । बाहिरबाट कारागारमा थपिने कैदीबन्दीको सङ्ख्या बढ्दै जाँदा यसलाई थप गर्न सकिने काफ्लेको भनाइ छ । २५ जना महिला र २५५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा अहिले ७१२ जना छन् । जसमध्ये ४४५ कैदी तथा २५८ बन्दी छन् । कारागारमा रहेकामध्ये ५० महिला र ६६२ पुरुष हुन् । उनीहरुसँगै दुई आश्रित बालिका छन् ।
कारागार कार्यालय भरतपुरमा विभिन्न २० मुद्दाका कैदीबन्दी रहेको काफ्लेले जानकारी दिनुभयो ।