महामारी नियन्त्रणमा प्रदेश १ सरकारको सक्रियता : अस्पतालदेखि अक्सिजन व्यवस्थापनसम्म

<span class='c1'>महामारी नियन्त्रणमा प्रदेश १ सरकारको</span> <span class='c2'>सक्रियता : अस्पतालदेखि अक्सिजन व्यवस्थापनसम्म</span>

विराटनगर । नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमण दर तीव्र भएसँगै रोकथाम तथा प्रतिकार्यको सवालमा प्रदेश १ सरकारले सक्रियता बढाएको छ ।

विदेशी भुमिबाट नेपाल आएका नागरिकहरुमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढेसँगै सरकारले अस्पताल व्यवस्थापनदेखि सीमानाकामा कडाई गर्ने लगायतका पक्षमा आफ्नो सक्रियता बढाएको हो । जिल्लाका कोभिड बिशेष अस्पतालको व्यवस्थापन, स्वास्थ्य जनशक्तिको पुनः परिचालन र अक्सिजनको पर्याप्त व्यवस्था लगायतका बिषयमा सरकारले बिशेष ध्यान दिएको छ । ‘म्युटेन्ट भेरिएन्ट’ सहितको दोश्रो लहरबाट पाठ सिक्दै विभिन्न जिल्ला अस्पताल र आइसोलेसन सेन्टरहरुलाई समेत दुरुस्त अवस्थामा राख्न निर्देशन गरिएको प्रदेश सरकारका सामाजिक विकास मन्त्री जयराम यादवले बताए । भारतीय सीमासँग प्रत्यक्ष जोडिएका जिल्लाहरुमा स्वास्थ्य सतर्कता र स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्ने गराउने पक्षमा सरकारले निर्देशन गरिसकेको उनले जानकारी दिए । उनले भने, ‘हामीले पछिल्लो दुई भेरिएन्टबाट ठुलो पाठ सिकेका छौं । त्यो अवस्था पुनः दोहोरिन नदिन हामी प्रयासरत छौं ।’

कोभिडको जोखिमलाई दृष्टिगत गर्दै प्रदेश सरकारले सीमानाका समेत आवश्यक कडाई गरेको छ । पुस अन्तिम सातायता कोरोनाको संक्रमण दर तीव्र भएसँगै सरकारी निर्देशानुसार सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ । मास्क नलगाएको खण्डमा १ सय रुपैयाँ जरिवाना गर्ने नियम बनाईएको छ । नेपाल–भारत बिचको दोहोेरो आवागमन व्यवस्थित र सुरक्षित बनाउन माघ १ गतेदेखि खोप कार्ड समेत अनिवार्य गरिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ का विभिन्न जिल्लाहरुमा निर्माण भईरहेको होल्डिङ सेन्टरको कार्यलाई पनि यथाशिघ्र सम्पन्न गर्न निर्देशन गरिएको छ । प्रदेश नं. १ को राजधानी विराटनगरको हकमा रानीको जुट मिल्समा नेपाली सेनाले निमार्ण गरिरहेको १ हजार क्षमताको होल्डिङ सेन्टरलाई समेत चाँडै सम्पन्न गर्न निर्देशन गरिएको मन्त्री यादवले आवर विराटनगरलाई बताए । उनले ८० प्रतिशत भौतिक प्रगति भएको होल्डिङ सेन्टर अब केहीदिनमै सञ्चालनमा आउने जानकारी दिए ।

यस्तै, सघन प्रकृतिका कोभिड संक्रमित बिरामीको उपचारका लागि प्रदेश सरकारले सञ्चालन गरेको कोभिड–१९ उपचार केन्द्रलाई समेत तयारी अवस्थामा निर्देशन गरिएको जनाईएको छ । हाल उपचार केन्द्रको पुर्वपट्टि अक्सिजन सहित आइसियु र एचडियु गरि ९६ बेड क्षमताको बिशिष्टिकृत कोभिड अस्पताल सञ्चालनमा छ । ८० बेड क्षमताको पुरानो अस्पताल पनि दुरुस्त अवस्थामा छ । यसका अतिरिक्त नयाँ ब्लक छेउमै दक्षिणपट्टिको खाली संरचनामा अक्सिजन प्लान्ट सहित ७६ बेड क्षमताको अर्को अस्पताल निर्माणको कार्य धमाधम भईरहेको छ । २४ आईसियु र ५२ एचडियु गरि स्वीस सरकारको कुल ४ करोड आर्थिक सहयोगमा शहरी विकास तथा भवन कार्यालय मार्फत् उक्त हस्पिटल निर्माण भईरहेको जनाईएको छ । अस्पतालको निर्माण कार्य अन्तिम चरणमा रहेको मन्त्री यादवको भनाई छ । उनले अस्पतालमा अक्सिजन आपुर्तिलाई सहज बनाउन प्रदेश सरकारले कोभिड अस्पतालको नयाँ ब्लकका लागि आफ्नै अक्सिजन प्लान्ट निर्माण गरेको जानकारी दिए । उनले भने, ‘दैनिक ३०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट निर्माण गरिएको छ ।’

अक्सिजनको पर्याप्त व्यवस्था
कोराना संक्रमितको उपचारका क्रममा विगतको जस्तो अक्सिजन अभावको समस्या नहुने मन्त्रालयको अध्ययन छ । सुनसरीको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, झापाको मेची प्रादेशिक अस्पताल र मोरङको कोभिड–१९ उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान भईसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशका नोबेल, विराट र बीएण्डसी अस्पताल लगायतका निजी अस्पतालहरुले पनि आवश्यक मात्रामा अक्सिजन आपुर्तिका लागि संयन्त्र मिलाईसकेका छन् ।

यस्तै संक्रमित बिरामीहरुको उपचारका लागि प्रदेश सरकारले १४ वटै जिल्लाका ३१ वटा अस्पतालमा १ हजार १ सय ३६ वटा बेड तयारी अवस्थामा राखिएको जनाएको छ । सरकारका अनुसार ती अस्पतालमा ११७ वटा भेन्टिलेटर, १६९ वटा आईसीयु, ३५७ वटा एचडीयु, ३५९ वटा जेनेरल बेड र २५१ आइसोलेसन दुरुस्त अवस्थामा छ ।

खोप कार्यमा प्राथमिकता
संक्रमणको जोखिम उच्च भएसँगै प्रदेश १ सरकारले खोप कार्यलाई प्राथमिकतामा राखेको छ । यही माघ मसान्तभित्र कुल जनसंख्याको ८० प्रतिशतलाई खोप लगाउने प्रदेश सरकारको तयारी गरेको छ । त्यसका लागि प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र मार्फत् प्रदेश सरकारले हाल १४ वटै जिल्लामा पर्याप्त मात्रामा खोप पठाईसकेको छ ।

हालसम्म प्रदेशका आधा जनसंख्याले कोरोना विरुद्धको खोप लगाईसकेको प्रदेश सरकारले जनाएको छ । प्रदेश १ को कुल जनसंख्या ४९ लाख ९५ हजार १६२ छ । जसमा सोमबारसम्म प्रदेशका २९ लाख ४७ हजार १ सय ४६ लक्षित वर्गले कोरोना विरुद्धको पुर्ण खोप लगाईसकेको मन्त्रालयको अस्पताल विकास महाशाखाकी कम्युनिटी फिजिसियन डा.संगीता राईले बताईन् । सोमबारसम्म १८ वर्षमाथिका ७४ प्रतिशत अर्थात् ३६ लाख ९६ हजार ४ सय २० जनाले कोरोना विरुद्धको पहिलो डोज लगाएको उनीले जानकारी दिईन् । पुर्ण खोप पाएकाहरुलाई चाँडै नै बुस्टर डोज लगाउने तयारी समेत रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्