कोरोनाको कहर : सार्वजनिक सेवा प्रवाह चुनौतीपुर्ण

कोरोनाको कहर : सार्वजनिक सेवा प्रवाह चुनौतीपुर्ण

विराटनगर । नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमणका कारण सार्वजनिक सेवा प्रवाह प्रभावित बन्दै गएको छ ।

कार्यालयका कर्मचारीहरुमै संक्रमण पुष्टि हुुन थालेपछि सेवा प्रवाह चुनौतीपुर्ण बन्न थालेको हो । चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी कर्मचारी र सरसफाईकर्मीहरु समेत संक्रमणको उच्च जोखिममा पर्न थालेपछि सार्वजनिक सेवा प्रवाह हुने कार्यालयहरुले पछिल्लो समय आफ्नो सेवा कटौती गर्न थालेका छन् । उच्च संक्रमण दरका कारण जनशक्ति अभावमा कार्य सम्पादन जटिल बन्दै गएपछि यसको प्रत्यक्ष असर सेवा प्रवाहमा परेको छ ।

कर्मचारीहरुमै संक्रमण पुष्टि भएर पछिल्लो महिना दिनयता विराटनगरको यातायात व्यवस्था सेवा कार्यालय, मालपोत कार्यालय, कोशी अस्पताल, जिल्ला अदालत, उच्च अदालत तथा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आफ्नो सेवा कटौती गरेका छन् । संक्रमितहरु निको हुँदै कार्यालय आउँदै गरेको भएपनि यसले सेवा प्रवाहलाई जटिल बनाईदिएको सम्बन्धित कार्यालयका कर्मचारीहरु बताउँछन् । एकजना कर्मचारीमा संक्रमण पुष्टि हुँदा त्यसले समग्र कार्यालयको कार्य सम्पादनमा असर गर्ने गरेको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सुचना अधिकारी राजेन्द्र उप्रेतीले बताए । उनले भने, ‘एकजना कर्मचारीका कारण पुरै मन्त्रालयको कामकाज रोकिन्छ । पछि रिकभर भएर आउँदा सम्बन्धित कर्मचारी माथि नै कार्यभार थपिन्छ ।’

माघको पहिलो साता मन्त्रालयका सचिव, महाशाखा प्रमुख र चालक सहित आधा दर्जन बढी कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । ती मध्ये हाल केही कर्मचारीहरु निको भई आ–आफ्नो कार्यक्षेत्रमा फर्किसकेका छन् । केही अझै पनि संक्रमित छन् । ६ जना कर्मचारीहरुमा संक्रमण देखिएपछि गएकोे माघ २ गतेदेखि मालपोत कार्यालय विराटनगरले पनि सुचना टाँस गर्दै अनिश्चितकालका लागि आफ्नो सेवा प्रवाह स्थगित गरेको थियो । माघ ४ गते यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले समेत कार्यालयका केही कर्मचारीहरुमा संक्रमण र केहीमा मिल्दोजुल्दो लक्षण देखिएपछि अर्को सुचना जारी नहुन्जेलसम्मका लागि कार्यालयको आन्तरिक कामकाज तथा जरिवाना बाहेकका अन्य सम्पुर्ण सेवाहरु स्थगित गरेको थियो ।

यसका अतिरिक्त विराटनगरस्थित कोशी अस्पतालले पनि १०० जनाभन्दा बढी कर्मचारी संक्रमित भएपछि सेवा कटौती गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, चिकित्सक, नर्स, कार्यालय सहयोगी, लेखा अधिकृत र सरसफाईकर्मी लगायतका कर्मचारीमा संक्रमण देखिएपछि हाल कोशी अस्पतालको आधा दर्जनभन्दा बढी विभागको सेवा प्रवाहमा समस्या देखिएको छ । जनशक्तिको अभावमा उपचार नपाएर बिरामीहरु फर्किनुपर्र्ने अवस्था सिर्जना हुँदै गएको अस्पतालका प्रशासन प्रमुख नवराज लुँईटेलले बताए । उनले भने, ‘डाक्टर आफै बिरामी हुँदा बिरामीले निजी अस्पतालमा महङ्गो उपचार रोज्नुपर्ने अवस्था सिर्जना भएको छ ।’

८ जना न्यायाधिश सहित १६ जनाभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि उच्च अदालतले पनि प्रदान गर्दै आएको सेवामा कटौती गरेको छ । सर्वसाधारणको भौतिक उपस्थिति हुन नदिन अदालतले महत्वपुर्ण बाहेकका सम्पुर्ण सेवा स्थगित गरेको छ । यस्तै जिल्ला अदालत मोरङले पनि सोमबार एक सुचना जारी गर्दै माघ ११ देखि १५ गतेसम्म अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु स्थगित गरेको छ । अदालतको सोमबार बसेको पुर्ण बैठकले अभियुक्तलाई अनुसन्धानका लागि हिरासतमा राख्न दिईने म्याद थपको अनुमति, पक्राउ पुर्जी, कल डिटेलको अनुमति र पक्राउ पुर्जी समर्थन लगायतका कार्यहरु सम्भव भएसम्म भर्चुअल विधिबाट गर्ने तयारी गरेको जनाएको छ ।

कोरोना रोकथाम तथा प्रतिकार्यकोे प्रदेश १ सरकारले सक्रियता बढाएको भएपनि सर्वसाधारणको चहलपहलमा कमी नआएपछि पछिल्लो समय संक्रमण दर उकालो लाग्दै गईरहेको सरोकारवालाहरुले बताएका छन् । स्वास्थ्य सतर्कता र स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्ने गराउने पक्षमा आम सर्वसाधारणले ध्यान नदिँदा संक्रमण दर बढ्दै गईरहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बिश्लेषण छ । कोभिडको जोखिमलाई दृष्टिगत गर्दै प्रदेश सरकारले सीमानाका कडाई गरेको छ ।

पुस अन्तिम सातायता कोरोनाको संक्रमण दर तीव्र भएसँगै सरकारी निर्देशानुसार सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ । मास्क नलगाएको खण्डमा १ सय रुपैयाँ जरिवाना गर्ने नियम बनाईएको छ । नेपाल–भारत बिचको दोहोेरो आवागमन व्यवस्थित र सुरक्षित बनाउन माघ १ गतेदेखि खोप कार्ड समेत अनिवार्य गरिएको छ । यद्यपि, कोभिडको संक्रमण दर न्युनीकरण हुन सकेको छ । यसले आम नागरिक संवेदनशीलताले बयान गरेको मन्त्रालयका सुचना अधिकारी सदानन्द भट्टराईले बताउँछन् । उनी भन्छन, ‘हामीले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भरपुर प्रयास गरिरहेका छौं । यद्यपि, संक्रमण दरमा कुनै बदलाव छैन् । संक्रमण दर बढिरहेकै छ । यसले आम सर्वसाधारण आफ्नो स्वास्थ्यको सवालमा कत्तिको संवेदनशील छन् भन्ने देखाउँछ ।’

संक्रमण दर न्युनीकरणका लागि सर्वप्रथम आम सर्वसाधारण नै संवेदनशील हुनुपर्ने सुचना अधिकारी भट्टराईको भनाई छ । प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा भने १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ६९० र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्