यस्ता छन् ग्रिन टी पिउँदाका फाईदाहरु

यस्ता छन् ग्रिन टी पिउँदाका फाईदाहरु

विराटनगर । चिया संसारको दोस्रो सबैभन्दा लोकप्रिय पेय पदार्थ हो । मानिसहरू यसलाई यसको स्वाद र उत्तेजक प्रभावको लागि पिउँछन ।

मानिसको दैनिकी को सुरुवात पनि चियासँगै हुन्छ । त्यसैले हामीले पिउने हरेक कप चिया अर्गानिक र स्वस्थकर हुनु अत्यन्तै आवश्यक छ । कतिपय व्यक्तिहरुले भन्छन्, ‘दुध चिया नखाई चित्तै बुझ्दैन ।’ तर, चित्तभन्दा ठूलो स्वास्थ्य हो भन्ने कुरा हामीले भुल्नु हुँदैन् ।

प्रकृतिमा रहेको क्यामेलिया साईनेन्सिस नामक बिरुवा नै चिया हो । यस बिरुवाको मुनाहरुलाई प्रशोधन गरि मुख्यतः अक्सिकरण, अर्ध–अक्सिकरण, र अ–अक्सिकरण गरि ३ वर्गमा विभाजित गरिन्छ । यी सम्पूर्ण प्रशोधित चियाहरुको आ–आफ्नै बिशेषता, स्वाद र लाभकारी गुणहरु छन् । त्यही क्यामेलिया साईनेन्सिस जातको विरुवाबाट उत्पादन हुने हरियो चियाको माथिल्लो भागको मुना जतनका साथ ट्पक्क टिपेर होसियारीपूर्वक बिशेष प्रशोधन विधिबाट तयार पारिएको चिया नै ग्रिन टी हो । जसलाइ हरियो चिया वा अ–अक्सिकरणका नामले पनि चिन्ने गरिन्छ ।

सबैभन्दा पहिले चियाको उत्पादन र प्रयोग चीनमा मात्र सिमित थियो । तर, बदलिँदो समय परिवेशसँगै विश्वव्यापी रुपमा यसको व्यावसायिक उत्पादन र प्रयोग बढ्दै गएको छ । पछिल्लो समय जापान, युरोप, भारत, नेपाल र विश्वको अन्य विभिन्न मुलुकहरुमा यसको व्यावसायिक खेती नै हुन थालेको छ ।

नेपालमा भने चिया खेतीको व्यावसायिक सुरुवात भने वि.सं. १९२० सालबाट सुरु भएको हो । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा चीन भ्रमण गएको बेला चिनियाँ सम्राटले चिनियाँ जातको बिउ उपहार दिएपछि उनले इलाममा चियाखेती आदेश दिएका थिए । सोही समयदेखि नेपालमा पनि चियाको व्यावसायिक उत्पादन सुरु भएको बिषय इतिहासका पानाहरुमा उल्लेख छन् ।

वि.सं. २०३० सालदेखि नेपालमा संस्थागत रुपमा सरकारले नेपाल चिया विकास निगम गठ्न गरि निगम मार्फत थुप्रै ठुल्ठुला सरकारी बगानहरु स्थापना एवम् विस्तार गरेको पाईन्छ । निगमले २०३५–४५ को दशकमा साना तथा ठुला चिया उत्पादनकर्तालाई प्रोत्साहन प्रदान गर्दै विस्तारमा व्यापकता ल्याउन सुरु गरेको देखिन्छ । आर्थिक बर्ष २०५३/५४ मा ३५०० हेक्टरभन्दा कम रहेको चिया रोपण क्षेत्र आज अढाई दशक पश्चात् २७००० भन्दा बढी क्षेत्रफलमा फैलिएको छ । अढाई दशकको यस समयावधिमा हामी चिया आयात गर्ने मुलुकको सुचीबाट निर्यात गर्ने मुलुकको सुचीमा पर्न सफल भएका छौं ।

के हो ग्रिन टी ? के छन् यसका फाईदाहरु ?
एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो, ग्रीन टी । यसमा एन्टिअक्सिडेन्ट गुण पाईने भएकाले यो स्वास्थ्य र सौन्दर्य दुवैका लागि एकदमै लाभदायक मानिन्छ । यसमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने तत्वहरु समेत पाउने गरेको चिकित्सकहरु बताउँछन् । यसमा क्याफिनको मात्रा कम हुने भएकाले स्मरण शक्ति बढाउन समेत यसले ठुलो सहयोग गर्छ । एन्टिअक्सिडेन्टका रुपमा शरीरमा काम गर्ने भएकाले ग्रिन टी ले क्यान्सर हुनबाट समेत जोगाउँछ । यसले राम्रो कोलेस्ट्रोललाई बढाउने र नराम्रोलाई घटाउने हुँदा रक्तचापकोे लेभललाई कन्ट्रोलमा ल्याउँछ ।
ग्रिन टी मा एपिगलोकेटेशिन–३ गलेट पाइन्छ । जसले क्यान्सरको कोशिकालाई बढ्न दिँदैन । रक्तचाप नियन्त्रण गर्नका साथै शरीरमा बोसो जम्न नदिन पनि यसको खास भूमिका हुन्छ । जसकारण अनावश्यक मोटोपना छ भने पनि यसले नियन्त्रणमा ल्याउँछ ।

किन पिउने ग्रिन टी ?
दिमाग स्वस्थ राख्छ । चिया र कफी लगायत पेय पदार्थमा भन्दा ग्रिन टी मा क्याफिनको मात्रा साह्रै कम हुन्छ । ग्रिन टी मा पाइने जति क्याफिन दिमागका लागि राम्रो मानिन्छ । ग्रिन टी मा एमिनो एसिड, एल–थियानाइन जस्ता तत्व पनि पाईन्छन् । जसले क्याफिनसँग मिसिँदा दिमाग तेज र स्वस्थ हुन्छ ।

यस्तै ग्रिन टी मा क्याटचिन नामक तत्व पाइन्छ । जसले दाँत र गिजालाई समेत स्वस्थ राख्न मद्दत गर्छ । यसका साथै ग्रिन टी ले आयु समेत बढाउँछ । जापानमा गरिएको एउटा अनुसन्धानले नियमित ग्रिन टी खानेहरूको आयू बढी हुने गरेको पुष्टि गरेको छ । ग्रिन टी खानेहरूमा हृदयसम्बन्धि रोग र हृदयघातबाट मृत्यु हुने सम्भावना पनि न्युन हुन्छ । यसले क्यान्सरको जोखिम कम गर्छ ।

यसका अतिरिक्त ग्रिन टी खाने महिलालाई स्तनसम्बन्धि क्यान्सर लाग्ने जोखिम २२ प्रतिशतले कम हुन्छ भने पुरुषहरुमा प्रोस्ट्रेट क्यान्सर हुने जोखिम ४८ प्रतिशतले कम हुन्छ । दूधचियामा जस्तो क्षणभरलाई जिब्रोको स्वाद नदिए पनि ग्रिन टी को सेवनले ग्यास्ट्रिक साथसाथै अल्सरको जोखिमबाट समेत जोगिन सकिन्छ ।

मुटुको ख्याल गर्छ
ग्रिन टी मा एन्टिअक्सिडेन्टको मात्रा हुन्छ । यसले मुटुसम्बन्धि रोग लाग्न नदिएर मस्तिष्कको कार्य सम्पादनमा समेत सुधार ल्याउँछ । यसको अर्को प्रभाव भनेकै रगतमा भएको कोलेस्ट्रोलको मात्रालाई सन्तुलित गर्नु हो ।

तौल नियन्त्रण
तौल नियन्त्रणका लागि समेत ग्रीन टी पिउन सकिन्छ । कोलेस्ट्रोलको मात्रालाई मिलाउने र शरीरलाई स्फुर्त गराउन ग्रिन टीले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्