मनमोहन प्राविधिक विश्वविद्यालयले सिभिल र इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गमा स्नातक पढाउने

मनमोहन प्राविधिक विश्वविद्यालयले सिभिल र इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गमा स्नातक पढाउने

विराटनगर । मोरङको बुढिगंगा–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले सिभिल र इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गमा स्नातक तहको पढाई सुरु गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७८÷२०७९ मा स्कूल अफ इन्जिनियरिङ्ग अन्तर्गत स्नातक तहको बी.ई.इन सिभिल इन्जिनियरिङ्ग र बी.ई.ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स कार्यक्रमका लागि भर्ना प्रक्रिया सुरु गरिएको हो ।

मन्त्रिपरिषद्ले माघ १२ गते दुईवटा कार्यक्रम सञ्चालनका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेसँगै मनमोहनले दुईवटा शैक्षिक विधामा २४÷२४ जना विद्यार्थीको भर्ना लिने प्रक्रिया थालेको छ । विश्वविद्यालयले यी दुई शैक्षिक कार्यक्रमका लागि प्रवेश परीक्षा आवेदन खुलेको उपकुलपति डा.सुभास पोखरेलले जानकारी दिनुभयो ।
विश्वविद्यालयले कार्यन्वयनमा आएका शैक्षिक कार्यक्रम बारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उपकुलपति पोखरेलले तीनवटा स्कूल सञ्चालनमा ल्याउने जानकारी दिइएको छ । स्कूल अफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी, स्कूल अफ इन्जिनियरिङ्ग, र स्कूल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज सञ्चालन गरिने भएको छ ।

चालु आर्थिक वर्षमा स्कूल अफ इन्जिनियरिङ्ग अन्तर्गतका दुई शैक्षिक कार्यक्रमको अध्यापन सुरु गरिने भएको हो । दुवै शैक्षिक कार्यक्रमका लागि विश्वविद्यालयले ४८÷४८ जनाको अध्यापन स्वीकृति पाएको छ । तर, पहिलो वर्ष २४÷२४ जना मात्रै भर्ना लिने उद्देश्य राखिएको छ ।
पढ्न ईच्छुक विद्यार्थीका लागि प्रवेश परीक्षा आवेदन खुल्ला गरेको विश्वविद्यालयले पाठ्क्रम समेत निर्धारण गरेको छ । प्रवेश परीक्षामा सामेल विद्यार्थीले गणित–३०, भौतिकशास्त्र–३०, रसायनशास्त्र–२० र अंग्रेजी–२० पूर्णाङ्कको परीक्षा लेख्नुपर्नेछ । पढ्ने ईच्छुक विद्यार्थी भौतिक विज्ञान वा जिव विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह, उच्च माध्यमिक तह, ए लेभल व इन्जिनियरिङ्ग डिप्लोमा तह, वा सो सरहको परीक्षामा कम्तिमा ४५ प्रतिशत नम्बर ल्याएर उत्तिर्ण भएकोलाई योग्य मानिनेछ । यसैगरी फिजिक्स, केमेस्ट्री र गणितमा ५० प्रतिशत अंक ल्याएर उत्तिर्ण भएको हुनुपर्ने प्रावधान तोकिएको छ ।

प्रवेश परीक्षा उत्तिर्ण विद्यार्थीले चारवर्षे कोर्षका लागि सिभिल इन्जिनियरिङ्गमा ५ लाख ८० हजार (नेपाली विद्यार्थी) र इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गमा ५ लाख ७० हजार (नेपाली विद्यार्थी) बुझानुपर्नेछ । यस बाहेक कुनै संस्थाको लगानी (प्रायोजित) विद्यार्थीले सिभिल इन्जिनियरिङ्गमा ७ लाख १४ हजार ९०४ र इलेक्ट्रीकलका विद्यार्थीले ७ लाख ४ हजार ९०४ रुपिँया बुझाउनु पर्नेहुन्छ । विदेशी विद्यार्थीका हकमा भने सिभिलमा ८ लाख ४९ हजार ८०० र इलेक्ट्रीकलमा ८ लाख ३९ हजार ८०० शुल्क निर्धारण गरिएको उपकुलपति पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्