बिमा बोर्डले पैसा नदिँदा कोशी अस्पताल सञ्चालनमा समस्या, १७ करोड रुपैयाँ बक्यौता

बिमा बोर्डले पैसा नदिँदा कोशी अस्पताल सञ्चालनमा समस्या, १७ करोड रुपैयाँ बक्यौता

विराटनगर । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको रकम नपाउँदा विराटनगरस्थित कोशी अस्पतालको सेवा प्रवाह चुनौतीपुर्ण बनेको छ ।

स्वास्थ्य बिमा बोर्डले समयमै बक्यौता भुक्तानी नगर्दा अस्पताल सञ्चालनमा चुनौती थपिएको हो । बिमा बोर्डले रकम उपलब्ध गराउन आलटाल गर्दा कार्यरत कर्मचारीको तलब, अवकाश प्राप्त कर्मचारीको औषधी/उपचार तथा उपदान खर्च र अत्यावश्यक औषधी खरिदमा समेत कठिनाई सिर्जना भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बिमा बोर्डले विगतको अढाई वर्षदेखि स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको रकम भुक्तानी गर्न बाँकी छ । मोरङमा २०७६ भदौ १६ गतेदेखि औपचारिक रुपमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएको थियो । त्यसयता बिमा बोर्डले विराटनगरस्थित कोशी अस्पताललाई बिमा कार्यक्रम अन्तर्गतको रकम भुक्तानी गरेको छैन् ।

बिमा बोर्डले अस्पताललाई झण्डै १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी देखिएको अस्पतालको प्रशासन फाँटका कर्मचारी नवराज लुँईटेलले बताए । उनले बोर्डबाट विगत लामो समयदेखि बिमा कार्यक्रम अन्तर्गतको रकम प्राप्त नहुँदा अस्पताललाई स्वास्थ्य सामाग्री, ल्याबमा प्रयोग हुने केमिकल र आवश्यक औषधी खरिदमा समेत कठिनाई भएको जानकारी दिए । ‘हामीले टेण्डर निकालेर स्वास्थ्य सामाग्री र औपधी खरिद गर्ने गरेका छौं । तर, अस्पतालसँग पैसा नभएको थाहा पाएपछि कसैले माग बमोजिमको औषधी र स्वास्थ्य सामाग्री आपुर्ति गर्न मान्दैनन,’ उनले भने, ‘अस्पतालको सेवा प्रवाह चुनौतीपुर्ण छ ।’

बिमा बोर्डले अस्पतालको बक्यौता भुक्तानी नगर्दा कार्यरत कर्मचारीहरुले समेत समयमा तलब नपाउने लगायतका समस्या झेल्दै आएका छन् । असोजसम्म अवस्था सामान्य नै रहेपछि त्यसयता कर्मचारीहरुलाई तलब खुवाउन हम्मेहम्मे पर्न थालेको अस्पतालले जनाएको छ । कोशी अस्पतालमा हाल अस्पताल विकास समिति मार्फत् नियुक्ति पाएर काम गरिरहेका २६७ जना कर्मचारीहरु छन् । जसमा समयमै तलब नपाएर १७० जनाभन्दा बढी कर्मचारीहरुको अवस्था दयनीय बनेको छ । बिमा बोर्डका कारण अवकाश प्राप्त कर्मचारीहरुको अवस्था पनि उस्तै बनेको कोशी अस्पतालको सर्जिकल वार्डमा काम गरेर अवकाश लिएकी कर्मचारी सकुन्तला कार्कीले बताईन् । उनीले भनिन्, ‘कार्यरत कर्मचारीको तलब त समयमा दिन सकिएको छैन् । झन, हामी जस्ता अवकाश प्राप्तको त कुरै नगरौं ।’

कोशी अस्पतालमा अहिले नेपाल सरकारको २४९ र विकास समितिको २६७ गरेर कुल २१६ जना कर्मचारीहरु कार्यरत छन् । जसमा विकास समितिका कर्मचारीलाई पाल्न धौंधौं भईरहेको अस्पतालले जनाएकोे छ । अस्पतालले स्वास्थ्य बिमा बोर्डलाई पटकपटक चिठी काटेर बक्यौता भुक्तानीका लागि आग्रह गरिरहेको भएपनि कुनै सुनुवाई नभएको अस्पतालको प्रशासन फाँटका कर्मचारी नवराज लुँईटेलले बताउँछन् ।

तर, यता स्वास्थ्य बिमा बोर्डले भने कोशी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बापतको रकम मागदाबी नै नगरेको बताएको छ । अस्पतालको तर्फबाट बिल, भरपाई सहितको माग दाबी प्राप्त नभएको बोर्डका शाखा अधिकृत सोभित रिजालले बताए । उनले पटकपटक सुचना निकाल्दा पनि अस्पतालले क्लेम नगरेको दाबी गरे । ‘हामी बिल, भरपाई बिनै जेल जाने गरि भुक्तानी दिन सक्दैनौं । भोलि बेरुजु देखिए अख्तियार लाग्न सक्छ । जे पनि हुनसक्छ । पैसा पाउन उहाँहरुले बिल पेश गर्नुपर्छ,’ उनले भने, ‘कोशीकै कर्मचारीहरुको अकर्मण्यताको कारणले उहाँहरुले भुक्तानी नपाउनुभएको हो ।’

यता, कोशी अस्पतालले भने बोर्डलाई पत्र काटेर मागदाबी गरिसकेको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्