विराटनगर । विराटनगरमा रहेको कोशी अनलाईन खबरलाई सुनसरी धरानका मनोज विकले
बम हान्छु भनि दिएको अभिव्यक्तिको नेपाल पत्रकार महासंघ मोरङले भत्र्सना गरेको छ ।गत २०७८ माघ २५ गते सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थित युनाइटेड गोर्खा एकेडेमी स्कुलअगाडि भएको एउटा अमानवीय घटनाबारे विराटनगरको कोशी अनलाइन पोर्टलमा समाचार आएको थियो । उक्त समाचारको विषयलाई लिएर बिकले समाचार लेखेको तथा भिडियो प्रयोग गरेको भन्दै न्युज पोर्टलको विराटनगर स्थित कार्यालयमा बम प्रहार गर्ने धम्की दिएका थिए ।
उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ मोरङको गम्भीर ध्यानाकर्षण भएको भन्दै सचिव नेत्र पि अधिकारीले शनिबार विज्ञप्ति जारी गर्दै विकसहित अन्य व्यक्तिहरुले फोन मार्फत दिएको धम्कीको निन्दा गरेका छन् ।
समाचारमा पसलमा चोरी गर्न खोजेको आरोपमा एक युवालाई सार्वजनिकस्थलमा डोरीले बाँधेर निर्घात कुटपिट भएको विषय उल्लेख छ भने यातना दिएको भिडियो क्लिप पनि राखिएको थियो । ‘समाचार प्रकाशित भएपछि मनोज विक नाम गरेका व्यक्तिले २०७८ फागुन ६ गते बम पड्काउने धम्की दिदै अनलाइनको पेजमा अडियो म्यासेज गर्ने र अन्य व्यक्तिहरू मार्फत पनिफोन गर्न लगाई अनलाइनको कार्यालयमा धम्की दिएको घटनाको घोर निन्दा गर्दछौँ,’ अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार महासंघ मोरङले पत्रकारलाई धम्क्याउनु, कार्यालयमा बम प्रहार गर्छु भन्ने अभिव्यक्ति दिनु प्रेसविरोधी भएकाले दोषीलाई कडा कारबाहीको माग पनि गरेको छ ।