पूँजीगत खर्च बढाउन निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री राई

पूँजीगत खर्च बढाउन निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पूँजीगत खर्च निरासाजनक हुँदा विकासमा अपेक्षित उपलब्धी हाँसिल हुननसकेको बताउनु भएको छ । प्रदेश लगानी प्राधिकरण प्रदेश १ विराटनगरको आयोजनामा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले खर्च बढाउन सर्वपक्षिय सहयोग आवश्यक रहेको बताउनु भएको हो ।

लगानीकर्ताले सहयोग गर्न आवश्यक रहेको बताउँदै मुख्यमन्त्री राईले प्रदेश सरकारको हालको पूँजीगत खर्च १२ अर्ब रहेको बताउनुभयो । ‘अत्याधिक बढ्दा पनि २० अर्ब भन्दा माथि पुग्न सक्दैन’ मुख्यमन्त्री राईले भन्नुभयो– एक कार्यकालमा पनि १४ जिल्लामा सडक निर्माण गर्न नसकिने किसिमको खर्चको स्थिति रहेको बताउनुभयो । उहाँले अहिलेको खर्चको अवस्थाले पाँचवर्षमा २ सय किलोमिटर सडक पनि निर्माण हुननसक्ने रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले छिमेकी भारत र चीनले तीब्र गतिमा गरिरहेको विकास र समृद्धिबाट लाभ लिन नसके नेपालको उत्पादन प्रणाली अझै जोखिमपूर्ण बन्दै जाने भएकोले आन्तरिक उत्पादनका क्षेत्रको पहिचान गर्न आवश्यक रहेको बताउनुभयो । उत्पादनको क्षेत्र, लगानीकर्ता, युवा जनशक्तिलाई देशमै रोकेर तीब्र गतिमा काम गर्नुपर्नेमा उहाँको जोड थियो ।

प्रदेश सरकार अन्तर्गतको प्रदेश लगानी प्राधिकरणले लगानीका क्षेत्रहरू अध्ययन गरेर अन्तिम चरणमा पु¥याएको मुख्यमन्त्री राईको दावी थियो । आगामि दिनमा कुन पालिकामा कुन वस्तुको उत्पादन र विकास गर्ने भन्ने विषय प्रष्ट पारेर आन्तरिक उत्पादनलाई प्रोत्साहन गरिने मुख्यमन्त्री राईको जोड थियो ।
कार्यक्रममा प्रदेशको सम्भाव्यताको विषयमा आफ्नो प्रस्तुतीकरण दिँदै अमेरिकन मिलिट्री युनिभर्सिटी अमेरिकाका प्राध्यापक प्रोफेसर मेदिनी अधिकारीले देशमा थुप्रै सम्भावना रहेको भएपनि त्यसको सदुपयोग हुननसकेको बताउनुभयो । नीजि क्षेत्र लगानी गर्न चाहेको भएपनि नितीगत समस्याका कारण वातावरण नभएको उहाँले धारणा प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेश लगानी बोर्डका कार्यकारी निर्देशक सरोज कोइरालाले विराटनगरबाट ढाका, कलकत्ता, दिल्लीमा उडान गर्नुपर्ने, प्रदेशमा विदेशी लगानी भित्र्याउन फाष्ट ट्र्याकमा काम हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश १ को लगानी बोर्डले विदेशबाट आएका लगानीकर्तालाई स्वीकृति प्रदान गर्न पनि संघीय लगानी बोर्डकै ढोका ढक्ढक्याउनु परेको भन्दै संघीयतामा प्रक्रियालाई पनि तल झार्नुपर्नेमा जोड दिनुभएको थियो।

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले अहिले पनि लगानीको वातावरण नभएको भन्दै गुनासो गर्नुभयो । औद्योगिक नीतिको अभाव छ, तजवीजिमा काम गर्ने परिपाटीले सरकार भए नभएको आभास भईरहेको छैन, घिमिरेले भन्नुभयो–सरकार परिवर्तन हुने वित्तीकै नीति परिवर्तन हुने परिम्पराले हैरानी भईसकियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष टीकाराम ढकालले कमिसनको खेलले लगानी नआउने भन्दै देशमा उत्पादन हुने वस्तुको ब्राण्डीङमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उद्योगी पवनकुमार सारडाले उद्योगीलाई लगानी गर भनेर वातावरण खल्बल्याउने समस्या सरकारसँगै रहेको आरोप लगाउनुभयो । स्थानीय सरकारले अनावश्यक कर लिने बहाना बनाएर हैरानी दिईरहेको गुनासो गर्नुभयो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशका मुख्यसचिव, सांसदहरु, सचिव तथा कर्मचारी र प्रदेश १ का उद्योगी व्यवसायीको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्