मीरगञ्ज पुलका कारण विराटनगर भन्सारको राजश्व प्रभावित

मीरगञ्ज पुलका कारण विराटनगर भन्सारको राजश्व प्रभावित

विराटनगर । सुनसरीको भीमनगर–सेतुबन्ध नाकाबाट मालवस्तु आयात–निर्यात रि–रुट भएपछि पैठारीकर्ताले नाका परिवर्तन गर्दा त्यसको अवसर विराटनगर भन्सार कार्यालयको राजश्व असुलीमा देखिएको छ । भारतको मीरगञ्ज खोलको पुल भासिएपछि विराटनगर भन्सारमा दैनिक राजश्व संकलनको लक्ष्य २ करोड ५० लाखले कम भएको हो ।

राटनगर भन्सार कार्यालयदेखि ४ किलोमिटर दुरी दक्षिणमा मीरगञ्ज पुल पर्दछ । यो पुल भत्किएसँगै पुस अन्तिमदेखि भन्सार कार्यालयको राजश्व घट्दै गएको हो । व्यवसायीले ११० किलोमिटर रि–रुटको विकल्पमा अन्य नाका प्रयोग गरेका कारण राजश्व असुली प्रभावित बनेको भन्सारका अधिकारीहरुको दावी छ ।
दैनिक १४ करोड ५० लाख भन्सार राजश्व संकलन गरिरहेको विराटनगर भन्सारले माघलागेपछि औसतमा दैनिक १२ करोड ७१ लाख रुपिँयामा खुम्चिनु परेको छ । माघ महिनामा तीन अर्ब ५ करोड ११ लाख राजश्व संकलन भएको छ ।

साउन महिनामा १२ करोड ४० लाख प्रतिदिन राजश्व संकलन भएको थियो । चालु आर्थिक वर्षमा ३ अर्ब ३४ करोड ९६ लाख राजश्व संकलन भएयता मंसिरसम्मको प्रगति सन्तोषजनक नै रहेको थियो । भदौमा ३ अर्ब ८६ करोड ९७ लाख राजश्व संकलन भएको थियो । असोजमा प्रतिदिन १७ करोड २४ लाखमा पुगेको तथ्यांक छ । चाडवाड लगायतका कारण असोजमा ३ अर्ब ७९ करोड २४ लाख राजश्व कार्यालयले संकलन गरेको थियो ।

कर्तिकमा १४ करोड ८३ लाख प्रतिदिनका दरले ३ अर्ब ५७ करोड ५ लाख र मंसिरमा ३ अर्ब ९४ करोड ४० लाख राजश्व संकलन भएको थियो । पुल भासिएपछि पुुसमा ३ अर्ब २७ करोड ६१ लाख राजश्व संकलन भएको थियो । पुसको २२ गते पुल भासिएपछि तीनदिन निकासी–पैठारी अवरुद्ध भएको थियो ।
विराटनगर भन्सार कार्यालयको तथ्यांक अनुसार माघ महिनासम्ममा २८ अर्ब ४३ करोड ७७ लाखको लक्ष्यमा २४ अर्ब ८४ करोड ४१ लाख मात्रै राजश्व संकलन भएको छ । जसमा भन्सार महसुलबाट १० अर्ब ३६ करोड ७४ लाख, मूल्य अभिबृद्धि करबाट १२ अर्ब ५९ करोड ४९ लाख र अन्तःशुल्कबाट १ अर्ब ६३ करोड ७३ लाख संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्