विराटनगर । मोरङको लेटाङ–८ की १२ वर्षीया बालिका करुणा राईको हत्याको आशङ्कामा दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जील मुकारुङले दुई जना पक्राउ परेको पुष्टि गरेपनि नाम खुलाइएको छैन । आशंकामा दुई जना पक्राउ परेका छन्, प्रारम्भिक अनुसन्धानमा रहेकाले अहिले नाम सार्वजनिक गर्न नमिल्ने मुकारुङले बताए ।
मोरङको लेटाङ नगरपालिका–८ स्थित लालहिरा सामुदायिक वनभित्र गाडेको अवस्थामा ज्यामिरे टोलकी ती बालिकाको शव आज बिहान फेला परेको थियो । उनको शव नाङ्गो अवस्थामा भेटिएको थियो । शवको पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत बालिका विद्यालयबाट घर फर्किने क्रममा बुधबार दिउँसो ४ बजेदेखि बेपत्ता भएकी थिइन् । बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई सूचना दिएका थिए ।
घटनास्थल बालिकाको घरबाट लगभग ३ किलोमिटर दक्षिण र उनी अध्ययनरत विद्यालयबाट लगभग २ किलोमिटरजति पश्चिममा पर्छ र्ने । प्रहरीले खाल्डोबाट बालिकाको शव उत्खनन गरेर बाहिर निकाल्दा घटनास्थल तनावपूर्ण बनेको थियो । चाररपाँच सयको संख्यामा भेला भएका स्थानीयले आक्रोसित हुँदै नाराबाजी र प्रदर्शन गरेका थिए ।