विराटनगरको दिव्य ज्योतीमा ‘जलबिन्दु’ सम्बन्धी सम्पुर्ण उपचार सुरु

विराटनगरको दिव्य ज्योतीमा ‘जलबिन्दु’ सम्बन्धी सम्पुर्ण उपचार सुरु

विराटनगर । विराटनगर–१४ मलाया रोडमा अवस्थित रहेको दिव्य ज्योती अस्पतालले सेवा विस्तारको क्रममा जलबिन्दु सम्बन्धी सम्पुर्ण उपचार सुरु गरेको छ ।

गएको माघ १ गतेदेखि सेवाग्राहीको माग बमोजिम अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न उपकरणहरुबाट जलबिन्दुको पनि उपचार सुरु गरेको हो । २०७६ बैशाखदेखि सञ्चालनमा आएको अस्पतालले यसअघि चौबिसै घण्टा आकस्मिक, नाक, कान, घाँटी, फिजिसियन र आखाँको बिशेषज्ञ सेवाहरु प्रवाह गर्दै आएको थियो । तर, पछिल्लो समय जलबिन्दुका बिरामीहरुको समेत बढ्दै गएपछि अस्पतालले सो सम्बन्धी सेवा विस्तार गरेको हो । अस्पतालमा छुट्टै विभाग निर्माण गरि आँखा तथा जलबिन्दु रोग बिशेषज्ञ डा. प्रमोद शर्मा गौतमले सेवा दिने गरि उपचारकोे व्यवस्था मिलाईएको अस्पतालका अध्यक्ष कमलेश कुमार कर्णले बताए । उनले बिरामीको सहजताका लागि अस्पतालले फास्ट ट्रयाक सेवा समेत सुरु गरेको जानकारी दिए । उनले भने, ‘फास्ट ट्रयाक मार्फत बिरामीले छिटो छरितो सेवा प्राप्त गर्छन् । हामीले एकद्वार प्रणाली मार्फत् सेवा प्रवाह गर्ने प्रयास गरेका छौं ।’

जलबिन्दुुलाई बिशेष गरि ४० वर्षको उमेर नाघेपछि लाग्ने रोगको रुपमा अध्ययन गरिएको छ । तर, कतिपय अवस्थामा बालबालिका र किशोरकिशोरीहरुमा पनि यो रोग लाग्ने गरेको पाईएको छ । दृष्टिदोष भएका तथा आँखामा चोट लागेकाहरुमा यसको जोखिम उच्च हुने गरेको अस्पतालका आँखा तथा जलबिन्दु रोग बिशेषज्ञ डा. प्रमोद शर्मा गौतमले बताए । उनले समयमै जलबिन्दुको उपचार गराए दृष्टिविहिन हुनबाट जोगिन सकिने जानकारी दिए । उनले भने, ‘समयमै उपचार नगराएपछि समस्या जटिल बन्दै गएर दृष्टिविहिन हुने जोखिम समेत रहन्छ ।’

जलबिन्दु आँखाको प्रेसर बढ्दै गएपछि नशा सुक्दै गएर लाग्ने रोग हो । रोग लागेपछि अवस्था बिश्लेषणको आधारमा औषधी वा शल्यक्रियाको माध्यमबाट यसको उपचार गरिन्छ । सुरुवाती चरणको जलबिन्दुका बिरामीको उपचार औषधीबाटै सम्भव छ । तर, ढिलाई गरेर आँखाको नशा पुर्ण रुपमा सुकेपछि शल्यक्रिया गरेर पनि यसको उपचार गर्न सकिदैन् । त्यस्ता बिरामी दृष्टिविहीन हुनुपर्ने अवस्था आउँछ ।

सो अवस्था सिर्जना हुन नदिन विराटनगरस्थित दिव्य ज्योती अस्पतालले बिरामीको भिजुअल फिल्ड टेस्ट, सिसिटी र टोनोमेट्री अध्ययनको आधारमा जलबिन्दु सम्बन्धी सम्पुर्ण उपचार सेवा सुरु गरेको अस्पतालका निर्देशक देवा यादवले बताए । उनले जलबिन्दुको उपचार सुरु गर्न मात्रै अस्पतालमा थप १ करोड लगानी गरिएको जानकारी दिए । उनले भने, ‘जलबिन्दुको उपचार महङ्गो पनि छैन् । मात्र, ८ देखि १० हजारमा यसको सफल उपचार हुन्छ ।’

सेवा सुरु भएको पछिल्लो एक महिनाको अवधिमा दिव्य ज्योतीले जलबिन्दु भएका १२ जना बिरामीको सफल उपचार गरिसकेको छ । मोतियाबिन्दु र जलबिन्दु दुवै भएका बिरामीहरुको पनि सफल उपचार एकैचोटी सम्भव रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ‘कम्बाईन सर्जरी’ को माध्यमबाट आँखा सम्बन्धी दुवै रोग भएका बिरामीहरुको उपचार सम्भव छ ।

दिव्य ज्योती अस्पतालले भने हाल मोतियाबिन्दु र जलबिन्दुका साथै आँशुनली बन्द भएको, आँखाको ढकनी झरेको÷फर्किएको, आँखाको ढेडोपन, अल्छी आँखा, न्युन दृष्टि तथा अर्थोअप्ट्रिक्स लगायत आँखा सम्बन्धी सम्पुर्ण सेवाहरु प्रवाह गर्दै आएको छ । नेपालको प्रदेश १ र मधेश प्रदेशका साथै भारतको विभिन्न राज्यका बिरामीहरु समेत आँखा सम्बन्धी सम्पुर्ण उपचारका लागि दिव्य ज्योती आउने गरेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्