ओबी फलोअप : स्वास्थ्य बिमा बोर्डद्वारा कोशी अस्पताललाई १७ करोड तिर्न आलटाल

<span class='c1'>ओबी फलोअप : स्वास्थ्य बिमा बोर्डद्वारा</span> <span class='c2'>कोशी अस्पताललाई १७ करोड तिर्न आलटाल</span>

विराटनगर । स्वास्थ्य बिमा बापतको १७ करोड बक्यौता भुक्तानीको अभावमा सेवा प्रभावित बनेको कोशी अस्पताललाई बोर्डले रकम निकासा गर्न आलटाल गरेको छ ।

विराटनगरस्थित कोशी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको रकम मागदाबी नै गरेको भन्दै स्वास्थ्य बिमा बोर्डले रकम निकासा गर्न आलटाल गरेको हो । बिरामीहरुले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत उपचार गराएपछि स्वास्थ्य बिमा बोर्डले अस्पताललाई १७ करोड भुक्तानी गर्नुपर्ने देखिन्छ । गएको पौष २३ गते नै कोशी अस्पतालले टेकुस्थित स्वास्थ्य बिमा बोर्डलाई स्वास्थ्य बिमाको रकम भुक्तानी गर्ने बारे चलानी नं. २०७५ भएको मागदाबी पत्र समेत पठाईसकेको छ । तर, अस्पतालले बिल, भरपाई सहित मागदाबी नै नगरेको भन्दै स्वास्थ्य बिमा बोर्ड रकम निकासा गर्नबाट पन्छिदै आएको छ ।

चालु आर्थिक वर्षको असार मसान्तदेखि नै अस्पतालले स्वास्थ्य बिमा मार्फत् उपचार गराएका बिरामीको रकम निकासा पाएको छैन् । माघ २३ गतेसम्म १७ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी देखिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार चालु आ.ब.को असार मसान्तसम्मको मात्रै ४ करोेड ३० लाख ९५ हजार ९११ रुपैयाँ मागदाबी भुक्तानी पाउन बाँकी देखिन्छ । त्यसयता साउनदेखि माघ २३ सम्म दाबी गरिएको मध्ये २ करोड ६५ लाख ९१ हजार १२७ रुपैयाँ पनि अस्पतालले पाएको छैन् । त्यसमध्ये स्वीकृत भएको ८५ लाख ६५ हजार १६८ रुपैयाँ पनि अस्पतालले प्राप्त गर्न बाँकी रहेको अस्पतालका लेखा प्रमुख राजेन्द्र सुवेदीले बताए । स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत दाबी नगरिएको औषधीको ४ करोड ५७ लाख ४२ हजार ४५० र सेवा प्रदान बापतको ५ करोड ४१ लाख ३२ हजार ९३१ रुपैयाँ पनि बिमा बोर्डबाट पाउन बाँकी रहेको उनले जानकारी दिए । तर, रकम भुक्तानीका लागि पत्राचार गरिसकेको भएपनि बिमा बोर्डले हालसम्म कुनै प्रक्रिया अघि नबढाएको उनको भनाई छ ।

यता, पटकपटक सुचना निकाल्दा पनि अस्पतालले पैसा क्लेम नगरेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । अस्पतालका शाखा अधिकृत सोभित रिजालका अनुसार अस्पतालबाट मागदाबी पत्र प्राप्त नै भईसकेको छैन् । उनी भन्छन्, ‘हामी बिल, भरपाई बिना जेल जाने गरि भुक्तानी दिन सक्दैनौं । भोलि बेरुजु देखिए अख्तियार लाग्न सक्छ । जे पनि हुनसक्छ । पैसा पाउन उहाँहरुले बिल पेश गर्नुपर्छ ।’ कोशी अस्पतालका कर्मचारीहरुकै अकर्मण्यताको कारणले बक्यौता भुक्तानी गर्न नसकिएको बिमा बोर्डको तर्क छ ।

बिमा बोर्डले रकम उपलब्ध गराउन आलटाल गर्दा कोशी अस्पतालमा कार्यरत कर्मचारीको तलब, अवकाश प्राप्त कर्मचारीको औषधी/उपचार तथा उपदान खर्च र अत्यावश्यक औषधी खरिदमा कठिनाई सिर्जना भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बिमा बोर्डले विगतको अढाई वर्षदेखि स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको रकम भुक्तानी गर्न बाँकी छ । बोर्डबाट विगत लामो समयदेखि बिमा कार्यक्रम अन्तर्गतको रकम प्राप्त नहुँदा अस्पताललाई स्वास्थ्य सामाग्री, ल्याबमा प्रयोग हुने केमिकल र आवश्यक औषधी खरिदमा समेत कठिनाई भएको अस्पतालको प्रशासन फाँटका कर्मचारी नवराज लुइँटेल बताउँछन् । ‘हामीले टेण्डर निकालेर स्वास्थ्य सामाग्री र औपधी खरिद गर्ने गरेका छौं । तर, अस्पतालसँग पैसा नभएको थाहा पाएपछि कसैले माग बमोजिमको औषधी र स्वास्थ्य सामाग्री आपुर्ति गर्न मान्दैनन,’ उनी भन्छन्, ‘अस्पतालको सेवा प्रवाह चुनौतीपुर्ण छ ।’

बिमा बोर्डले अस्पतालको बक्यौता भुक्तानी नगर्दा कार्यरत कर्मचारीहरुले समेत ३ महिनादेखि तलब पाएका छैनन् । कोशी अस्पतालमा हाल अस्पताल विकास समिति मार्फत् नियुक्ति पाएर काम गरिरहेका २६७ जना कर्मचारीहरु छन् । जसमा समयमै तलब नपाएर १७० जनाभन्दा बढी कर्मचारीहरुको अवस्था दयनीय बनेको छ । बिमा बोर्डका कारण अवकाश प्राप्त १७ जना कर्मचारीहरुको अवस्था पनि उस्तै बनेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले बताए ।

अस्पतालबाट बिमितले बहिरङ्ग तथा अन्तरङ्ग सेवा, शल्यक्रिया, प्रसूति, फार्मेसी, ल्याब, फिजियोथेरापी र एक्सरे लगायतका सेवा लिँदै आएका छन् । सरकारले समयमै स्वास्थ्य बीमाको रकम उपलब्ध नगराए बाध्य भएर अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतका सेवा तत्कालका लागि बन्द गर्नुपर्ने अवस्था सृजना हुनसक्ने अस्पतालले जनाएको छ । अस्पतालले उधारोमा औषधि ल्याएर बिरामीलाई वितरण गरिरहेको छ । स्वास्थ्य बिमा कार्यक्रमले सर्वसाधारणको उपचार सहज भएपनि औषधीको लागि अस्पतालले लगानी गर्नसक्ने अवस्था नभएको अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले आवर विराटनगरलाई बताए । बोर्डमा पटक–पटक रकम निकासाको लागि पहल गरिएपनि रकम नआएको उनको भनाई छ । निजी अस्पताललाई बोर्डले बिमाको रकम समयमै भुक्तानी गर्ने गरेको श्रोतको दाबी छ ।

कोशी अस्पतालमा गएको साउनदेखि हालसम्म स्वास्थ्य बिमा कार्ड मार्फत ६७ हजार बिरामीले सेवा लिएका छन् । जसमा मासिक करिब ५ हजारभन्दा बढी र दैनिक ५ सयको संख्यामा बिरामी लाभान्वित भएको अस्पतालको तथ्याङ्क छ । कोशी अस्पतालमा २०७४ साल माघबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो । नेपालमा ४२ लाख २२ हजार ६ सय ११ जना बिमा कार्यक्रममा आबद्ध छन् भने प्रदेश १ मा १३ लाख ७५ हजार ६ सय ८२ जनाले बिमा गराएका छन् । प्रदेश १ मा सरकारी ७२, निजी २१ र सामुदायिक ५ गरि कुल ९८ वटा अस्पतालबाट बिमितहरुले सेवा पाईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्