बिराटनगर । जिल्ला प्रहरी कार्यालय संखुवासभा मातहतमा रहेको प्रहरी चौकी टुटे देउराली र जिल्ला प्रहरी कार्यालय तेह्रथुम मातहत रहेको प्रहरी चौकी जिरिखिम्तीको नवनिर्मित कार्यालय भवनको समुद्घाटन् भएको छ । चौकीहरुको हाता भित्र भएको कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले दुईवटा प्रहरी चौकीको भवन उद्घाटन गर्नु भएको हो ।
नवनिर्मित प्रहरी चौकी टुटे देउराली संखुवासभा र प्रहरी चौकी जिरिखिम्ति तेह्रथुमको साढे २ तले भवनहरुको उद्घाटनसँगै सेवा प्रवाह सुरु भएको छ । नेपाल सरकारबाट विनियोजित २ करोड ६ लाख ३१ हजार ३ सय ३२ रुपैयाँको लागतमा प्रहरी चौकी टुटे देउराली र प्रदेश सरकारबाट बिनियोजित १ करोड २५ लाख ९२ हजार ९४ रुपैयाको लागतमा भवनको निर्माण कार्य सम्पन्न भएको हो ।
भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस बस्ने उचित ब्यवस्था भएसंगै प्रहरी कर्मचारीहरुमा काम गर्ने थप हौसला मिल्ने बताउनु भयो । उहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।