प्रदेश १ : स्वास्थ्य मन्त्रालयद्वारा १०० दिने कार्ययोजना सार्वजनिक

प्रदेश १ : स्वास्थ्य मन्त्रालयद्वारा १०० दिने कार्ययोजना सार्वजनिक

विराटनगर । स्वास्थ्य प्रणाली सुदृढ बनाउने उद्देश्यका साथ प्रदेश नं. १ सरकारको स्वास्थ्य मन्त्रालयले आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गरेको छ ।

आईतबार २४ औ स्वास्थ्य सेवा दिवसको अवसर पारेर मन्त्रालयले नियमित कार्य बाहेकका २० बुँदे कार्ययोजना सार्वजनिक गरेको हो । प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटद्वारा निर्दिष्ट गरिएका प्राथमिकता तथा तत्कालिन आवश्यकता बिश्लेषणको आधारमा कार्यक्रम सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १०० दिने उक्त कार्ययोजनाले स्वास्थ्य प्रणालीका चुनौती र समस्याहरु समाधानमा बिशेष सहयोग पुग्नेछ । १०० दिने कार्यक्रममा मन्त्रालयले प्रादेशिक स्वास्थ्य नितिको खाका तयार गर्ने, पशुबाट मानिसमा सर्ने रोगहरुको नियन्त्रणका लागि स्वास्थ्य रणनिति बनाउने, स्वास्थ्य बिमा बोर्ड प्रदेश नं. १ को कार्यविधि तयार गरि मन्त्रिपरिषदमा पेश गर्ने, प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउन आवश्यक प्रबन्ध मिलाउने, स्वास्थ्य मन्त्रालयमा महाशाखा र शाखाहरुको कार्य विवरण तयार गर्ने र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा आफ्नै भवनबाट सुरु गर्ने लगायतका योजनाहरु समेटेको छ ।

कार्ययोजना अनुसार हालको ५० शैयाको मेची अस्पताललाई पनि २०० शैयामा स्तरवृद्धि गर्न आवश्यक तयारी सहित स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गर्ने मन्त्रालयको तयारी छ । मेची अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने योजना रहेको प्रदेश सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले बताए । उनले बजेट बाँडफाँड पश्चात आवश्यक काम कारबाही अघि बढाउने तयारी रहेको जानकारी दिए ।

कोभिड–१९ उपचार केन्द्रको दीर्घकालिन कार्ययोजना तयार पार्ने, कोभिड–१९ को अवस्था तथा खोप लगायतका सम्पुर्ण जानकारी नियमित रुपमा सार्वजनिक गर्ने, आगामी वर्षका लागि बजेटको व्यवस्था गर्ने, प्रदेशभरिका स्वास्थ्यकर्मीहरुको रिक्त पदको विवरण संकलन गरि लोकसेवा आयोगमा पठाउने, प्रदेशभित्रका अस्पतालहरुसँग सम्झौता गरि प्र्रोल्याप्स युटेरस र फिस्टुलाको शल्यक्रिया सुरु गर्ने, कोरोना विरुद्धको खोपको कभरेज बढाउने र क्षयरोग उपचार तथा पे्रषण व्यवस्थापन केन्द्र स्थापना तथा सञ्चालन मापदण्ड सम्बन्धी निर्देशिका तयार पार्ने बिषयलाई समेत मन्त्रालयले आफ्नो १०० दिने कार्ययोजनामा प्राथमिकतामा राखेको छ ।

बजेटमा व्यवस्था भएका कार्यक्रमहरु कार्यान्वयनका निम्त्ति मन्त्रालयले आवश्यक मार्गदर्शन तयार गर्ने कार्यलाई समेत प्राथमिकता प्रदान गरेको प्रदेश सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले बताए । १०० दिने कार्ययोजनामा २७ वटा प्राथमिकता निर्धारण गरिएको उनले जानकारी दिए । उनले भने, ‘कार्ययोजनामा प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका लागि जग्गा व्यवस्थापन गर्न आवश्यक पहल गरिने बिषयलाई पनि सम्बोधन गरिएको छ ।’

मन्त्रालयले प्रदेश नं. १ का मेची अस्पताल, मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर, इनरुवा अस्पताल र गाईघाट अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा तथा प्रेषण प्रणाली सुदृढ गर्न एम्बुलेन्स हस्तान्तरण गर्ने योजना समेत बनाएको जनाएको छ । प्रदेश नं. १ मा भने गएको माघ २३ गते मन्त्रालय विभाजन पश्चात स्वास्थ्य मन्त्रालय गठन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्