विराटनगर । पूर्वी तराईको नगदे बाली जुटको २० वर्षपछि नयाँ जातको बीउ उत्पादन गरिएको छ । जुट अनुसन्धान केन्द्र इटहरीले जेआरओ–५२४ जातको जुट परीक्षणबाट नयाँ इटहरी–४, इटहरी–६ र इटहरी–८ जातको बीउ सिफारिस गर्ने तयारी सुरु गरेको हो ।
जुट अनुसन्धान केन्द्र इटहरीका कार्यक्रम संयोजक तिर्थ रिजालले बी गुणस्तर नियन्त्रण केन्द्रमा तीनवटा जातको बीउ सिफारिस गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अनुसन्धान केन्द्रले २०५८ सालमा इटहरी–१ र २ जातको बीउ उत्पादन गरेको थियो ।
किसानलाई फाइदा हुने किमिसको बीउलाई वैधानिकता प्राप्त गर्नका लागि अब तीन चरणको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । बीउ गुणस्तरमा अनुसन्धान केन्द्रले गरेको सिफारिसको अध्ययन, अध्ययनपछि यकिन, विभागिय मन्त्रालयमा प्रस्तुती र स्वीकृति तथा त्यसपछि रातो किताबमा प्रकाशित हुनुपर्ने हुन्छ ।
बीस वर्ष अगाडी सिफारिस भएको बीउ किसानले लगाईरहेका बेला नयाँ जातको बीउ प्रयोगमा ल्याउन पेश गर्न लागिएको छ । नयाँ तीनवटै जातको बीउ मिठामा पर्दछ । जुटको तीता र मिठा दुई प्रकार हुने कार्यक्रम संयोजक रिजालले बताउनुभयो । लामो समयसम्म एउटै बीउ लगाउनु परेपछि किसानले भारतबाट नयाँ जातको बीउ खरिद गरेर लगाउँदै आएका थिए । नयाँ जातसँगै किसानले अब नेपालकै बीउ लगाउने भएका हुन् ।
कुनैबेला पूर्वी तराईमा धानपछिको प्रमुख बाली जुट अहिले सुस्ताउँदै गएको छ । पराम्परागत बीउ र खेती प्रणालीले जुट बाली मासिदै गएपछि नयाँ जातको बीउ उत्पादन गरिएको छ । झापा, मोरङ, सुनसरी र छिटपुट उदयपुरमा चालु आर्थिक वर्षमा ७ हजार ५०० हेक्टर क्षेत्रफल जमिनमा जुट बाली लगाइएको थियो ।
अनुसन्धान केन्द्रले तराईका अन्य जिल्लामा विस्तार गर्ने लक्ष्यसहित सिरहाको जमदहमा सामुदायिक बीउ उत्पादन केन्द्रको सुरुवात गरेको संयोजक रिजालले जानकारी दिनुभयो । त्यहाँ उत्पादन भएको ८०० केजी बीउ अहिले बिक्री भईसकेको उहाँले जानकारी दिनुभयो ।
अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०७७÷२०७८ मा दुई हजार ३०० केजी नयाँ जातको बीउ उत्पादन गरेको छ । किसानले अहिले जुटको बीउ धमाधम खरिद गरिरहेका छन् । चालु आर्थिक वर्षमा १० हजार १६५ मेट्रीक टन जुट उत्पादन भएको थियो । किसानले प्रतिकेजी १४४ रुपिँयाले जुटको बिक्री गर्ने अवसर पाएका थिए । सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेका ६ वटा उद्योगलाई आवश्यक पर्नेमध्ये नेपाली उत्पादन २० प्रतिशतको हाराहारी मात्रै छ । बाँकी जुट भारत र बंगलादेशबाट आयात गरेर वस्तु उत्पादनपछि निर्यात गरिदैं आएको छ ।