इनरुवा । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) सुनसरी जिल्ला कमिटीको दोस्रो पुर्ण बैठकले आउँदो निर्वाचनमा दलहरु बिच गठबन्धन नबने एकल उम्मेदवारी दिने निर्णय गरेको छ ।
सुनसरी सदरमुकाम इनरुवामा बसेको जिल्ला कमिटीको बैठकले संघीय सरकारमा प्रतिनिधित्व गर्ने दलहरु बिचको सहमतिमा स्थानीय तह निर्वाचन २०७९ का लागि गठबन्धन बन्न नसकेको खण्डमा सुनसरी जिल्लामा सबै पदमा एकल उम्मेदवारी दिने निर्णय गरेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी बिचको सत्ता गठबन्धनबाट चुनावी तालमेल मिलाएर गठबन्धन मार्फत उम्मेदवारी दिन जिल्ला तथा स्थानीय तह र वडा तहमा आवश्यक वार्ता, समन्वय, सहमती र एकता कायम गर्न उम्मेदवारी दिने अन्तिम समयसम्म पहल प्रयत्न गर्ने निर्णय समेत बैठकले गरेको छ ।
गठबन्धन बन्न नसकेको अवस्थामा मात्र एकल रुपमा निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिने तयारी अवस्थामा रहन सबै तहका नेता कार्यकर्तालाई निर्देशन गरिने निर्णय बैठकले गरेको छ । नेकपा एस सुनसरीका अध्यक्ष गोविन्द निरौलाले बैठकको निर्णय सार्वजनिक गर्दै आउँदो निर्वाचनका लागि फागुन मसान्तसम्म सुनसरीका १२ वटा स्थानीय तहका १ सय २४ वटा वडा र टोल बस्तीमा पार्टीको संगठन गठन र पुर्नगठन कार्य सम्पन्न गरि चुनाव केन्द्रित गतिविधिमा सक्रिय हुने निर्णय गरेको जानकारी दिए ।
निरौलाले सुनसरीमा एकल रुपमा निर्वाचनमा उम्मेदवारी दिई भाग लिँदा अधिकांश वडा र स्थानिय तहमा मुख्य प्रतिस्पर्धा केपि ओली समुहसँग र केही स्थानमा नेपाली काग्रेससँग हुने निष्कर्ष बैठकले गरेको बताए ।
सुनसरी जिल्लामा ३ महिनाको अवधिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र सिपी मैनाली नेतृत्वको नेकपा माले परित्याग तथा केपि ओली समुहबाट विद्रोह गरि ७ सय जना नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको अध्यक्ष गोविन्द निरौलाले जानकारी दिए । अध्यक्ष निरौलाले हाल मौजुदा १ सय २५ जनाको जिल्ला कमिटीमा केपी ओली समुहबाट विद्रोह गरि आएका नेता कार्यकताहरु मध्ये एक पदाधिकारीसहित ६४ जनालाई जिल्ला कमिटी सदस्य पदमा चयन गरि पद तथा गोपनियताको शपथ ग्रहण गराई कार्यक्षेत्रमा जिम्मेवारी तोकेर संगठन निमार्ण र परिचालन कार्यमा खटाईएको जानकारी गराए ।
नेकपा एस सुनसरी जिल्ला कमिटीको उपसचिव पदमा धरान निवासी सविता कोइरालालाई चयन गरिएको छ भने धरान उपमहानगर ईन्चार्जमा किशोर सुब्बा र सह इन्चार्जमा राम प्रधानलाई तोकिएको छ । यसैगरि देवानगञ्ज इन्चार्जमा हरिनन्दन मेहता र सह इन्चार्जमा प्रकाश साहलाई जिम्मेवारी दिइएको छ । दोस्रो पुर्ण बैठकले जिल्लाका १ सय २४ वटै वडा तथा टोल बस्तीहरुमा नेकपा एसको चुनाव चिन्ह कलम रहेको झण्डा सेतो कपडा लेखी प्रत्येक पार्टी सदस्यहरुको घरमा अनिवार्य रुपमा राख्ने र चौक बजार पसलमा कलम चिन्हको प्रचार प्रसार गर्न नेता कार्यकर्ताहरुलाई सर्कुलर गरिने जानकारी अध्यक्ष निरौलाले दिए ।
यसैगरि पार्टी संगठन निमार्ण र सृढणीकरण अभियान चैत मसान्तसम्म सञ्चालन गरिने समेत जनाइएको छ ।