विराटनगर । राजनीतिक दबाब थेग्न नसकेपछि ग्रामथान गाउँपालिका मोरङ्ले किसान सूचिकरण सहजकर्ता ( गणक( छनोट प्रतिस्पर्धा गराएर गरेको छ । दश जना गणक पदका लागि ७० जनाको उम्मेदवारी परेपछि प्रतिस्प्रर्धाका आधारमा उत्कृष्टलाई छनौट गरिएको हो ।
महानगरपालिका, उप–महानगरपालिका , नगरपालिका र गाउँपालिकामा कुनै पनि जागिर खुल्ने बितिक्कै चर्को रूपमा राजनीतिक दबाब पर्ने गर्दछ । मेयर , उपमेयर वा अध्यक्ष र उपाध्यक्षलाई आफ्नो मान्छेका लागि सिट सुरक्षित गर्दिन फोनका घण्टीहरू निरन्तर बज्ने गरेका छन् ।
यी सबै कुरालाई पाखा लगाउँदै ग्रामथान गाउँपालिका मोरङले गाउँपालिकामा खुल्ने कुनै पनि जागिरका लागि प्रत्यक्ष रूपमा खुल्ला प्रतियोगिताबाट उम्मेदवार छानेको हो ।
गाउँपालिकाले किसान सूचिकरण सहजकर्ता (गणक) का लागि खुल्ला प्रतिस्पर्धाबाट उम्मेदवार छनोट गरेको छ । गाउँपालिकाका अध्यक्ष शिव नारायण माझी, उपाध्यक्ष फुल कुमारी चौधरी , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कार्की आदि लगायतको उपस्थितिमा नै प्रयोगात्मक परिक्षा , अन्तर्वार्ता सम्पन्न गरेको छ ।
गाउँपालिकाले किसान सूचिकरण सहजकर्ता (गणक) का लागि मिति २०७८ माघ १६ गते आवेदन फारम खुलाएको थियो । गाउँपालिकाले खुलाएको फारममा १० सिटका लागि ७० जनाको आवेदन परेको थियोे ।
गत शनिबार लिएको परीक्षामा भने जम्मा २२ जनाले मात्रै सहभागीता जनाएका थिए । त्यसमध्ये १० जना उत्तिर्ण गरिएको थियो ।