बैंक ब्याज विरुद्ध विराटनगरका उद्योगी आन्दोलित

बैंक ब्याज विरुद्ध विराटनगरका उद्योगी आन्दोलित

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले बैंकको चर्को ब्याज बृद्धिलाई रोक्नुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका छन् । उद्योगी–व्यवसायीले बैंकहरुको संस्थागत निक्षेपको ब्याजलाई ६ प्रतिशतमा झारिनुपर्ने मागसहित सडक आन्दोलनको घोषणा गरेका हुन् ।

आइतबार विराटनगरमा अर्थमन्त्री जनार्दन शर्मालाई संस्थागत निक्षेपको ब्याजलाई ६ प्रतिशतमा सिमित राख्न माग गर्दै मोरङ व्यापार संघले ज्ञापनपत्र बुझाएको थियो । यसैगरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका उद्योगी–व्यवसायीले सोमबार मध्याह्नदेखि हातमा कालो पट्टी बाँधेर सडकमा उत्रिएको घोषणा गरेका हुन् ।

मोरङ व्यापार संघले मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई सोमबार नै ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा संस्थागत निक्षेपलाई ६ प्रतिशत कायम गरिनुपर्ने एक सूत्रीय माग राखिएको छ ।
जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा सहायक प्रजिअ महेश तिम्सिनालाई ज्ञापन पत्र बुझाउँदै सङ्घका अध्यक्ष नवीन रिजालले सरकारले बैंकहरुलाई नियन्त्रण नगरे औद्योगिक वातावरण चौपट्ट हुने दावी गर्नुभयो ।


अध्यक्ष रिजालले देशका वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, बुटवल र बिर्तामोड लगायतका मुख्य व्यावसायिक स्थानका उद्योग वाणिज्य संघसँगको सहकार्यमा आन्दोलन गरिने जानकारी दिनुभयो । सरकारका कानमा पुर्याउन र सरकारको आँखा खोल्न आन्दोलनमा उत्रनु पर्ने स्थिति आएको उद्योगी–व्यवसायीको दावी छ । नेपाल राष्ट्र बैङ्कको विराटनगरस्थित शाखाको गेटमा समेत कालो पट्टी लगाएर तथा हातमा प्ले कार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम राखिएको अध्यक्ष रिजालले जानकारी दिनुभयो । संघले आन्दोलन बारे जारी गराउन सोमबार कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

सरकारको पूँजीगत खर्च २० प्रतिशत मात्रै छ, पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले भन्नुभयो–अर्कातिर कुल निक्षेपको ४४ प्रतिशत अर्थात् १८ अर्बजति संस्थागत निक्षेप छ । यसमा ११ प्रतिशत ब्याज दिनु अनुत्पादक क्षेत्रमा लगानी बढाउनु भएको मुन्दडाको तर्कछ ।


कुल ग्राहस्थ उत्पादनमा बृद्धि नहुने संस्थागत निक्षेपको ब्याज कामय राख्दा अर्थतन्त्र झन् समस्यामा पर्दछ, त्यसैले यसलाई ६ प्रतिशतमा कायम गर्दा ऋणको ब्याजलाई एकअंकमा झार्न सकिने उद्योगीहरुको बुझाई छ । संघका पूर्व अध्यक्ष महेश जाजूले अर्थमन्त्री शर्मालाई भेटेपछि तरलताको संकट र ब्याज वृद्धिका विषयमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्ककाबीच समन्वय नभएको निष्कर्ष उद्योगीहरुले निकालेको बताउनुभयो । जाजूले भारतमा दुई–तीन वर्षअघि भएको १४ प्रतिशतको ब्याज ७ मा झरिसकेको तर नेपालमा ७ बाट १४ मा पुग्न लागेको भन्दै नेपाली अर्थतन्त्रलाई उल्टो गतिमा बैंकहरुले धकेलिरहेको गुनासो गर्नुभयो ।
पूर्व अध्यक्ष एवं उद्योगी पवनकुमार शारडाले नेपाल राष्ट्र बैंकका गभर्नरले बैङ्कको नाफा नबढेकोमा चिन्ता व्यक्त गर्न छोड्नुपर्ने सुझाव दिनुभयो । उद्योगी शारडाले गभर्नरलाई बैङ्कको नाफामा मात्र चिन्ता भएको तर ब्याज बढेर उद्योग चलाउन नसक्ने अवस्थाप्रति कुनै चासो नभएको आरोप लगाउँदै सरकार हस्तक्षेप गर्ने बेला आएको सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्