जीवन विकास लघु वित्तीय संस्थाको व्यापार : सदस्यका नाममा जारी गरेको ऋणले कर्मचारीले खोलेको फर्मको सामान किन्नुपर्ने

जीवन विकास लघु वित्तीय संस्थाको व्यापार : सदस्यका नाममा जारी गरेको ऋणले कर्मचारीले खोलेको फर्मको सामान किन्नुपर्ने

विराटनगर। ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनस्तर उठाउने उद्देश्यले सञ्चालित जीवन विकास लघु वित्तीय संस्था लि.कटहरीले सदस्यलाई आफ्नै नाफामुलक व्यापारमा जर्बरजस्ती सहभागी गराउँदै आएको छ । आर्थिक असमानतालाई न्यूनिकरण गर्न ग्रामिण वित्तीय सेवा प्रदान गर्ने संस्थाले सदस्य बनेका सेवाग्राहीलाई आफैं सामान बिक्री गर्ने व्यापारीक संस्था र त्यसका डिलर खडा गरेर सामान खरिद गर्ने सेवाको नाममा ऋणभार थोपर्ने शैली अपनाएको हो ।

कटहरीमा अमाही मार्ट प्रा.लि.लाई सुपरमार्केटको रुपमा सञ्चालन गरिएको छ । जसमा जीवन विकास लघु वित्तीय संस्थाकै कर्मचारीको लगानी छ । संस्थाका कर्मचारीले सुपर मार्केट अवधारणमा स्थापना गरेको वितरक केन्द्रबाट इलेक्ट्रोनिक्स, मोवाईल, फर्निचर र अन्य सामानहरु बिक्रीका लागि विभिन्न स्थानमा १३० वटा डिलर खोलिएका छन् । जसमध्ये हाल ९३ डिलरले अमाही मार्टमार्फत कारोबार गरिरहेका छन् ।
जीवन विकासकै सदस्य रहेकाहरुलाई डिलर प्रमुखको रुपमा नियुक्ति गरिन्छ । डिलर प्रमुखमा नियुक्त हुन चाहने सदस्यले ३ लाख ५० हजारदेखि पाँचलाखसम्म धरौटी अमाही मार्टमा बुझाउनु पर्नेहुन्छ । जसको ग्यारेन्टी आवश्यकता पर्दा जीवन विकास लघु वित्तीय संस्था आफैं बसिदिन्छ । ती डिलरमा राखिएका इलेक्ट्रोनिक्स सामान खरिद गर्न चाहने ग्राहकलाई जीवन विकाल लघु वित्तीय संस्थाले ऋण प्रवाह गर्दछ । सदस्यहरुले प्रयोजन खुलाएर मागेको ऋण प्रवाह गरेपछि अमाही मार्टले स्थापना गरेकै डिलरमा गएर सामान खरिद गर्नुपर्ने हुन्छ ।
सदस्यका लागि अमाही मार्टले छुट्टै मूल्य निर्धारण गरेर डिलरमा पठाउँदै आएको छ । लघु वित्तीय संस्थाका कर्मचारीले खोलेकै व्यापारीक संस्थाबाट डिलरमा पुगेका सामान खरिद गर्ने ग्राहक सामानसँग सन्तुष्ट छैनन् । तर, पनि ऋण लिनेहरुले प्रयोजन खुलाएको शिर्षकमा सामान खरिद नगरे उनीहरुलाई किस्तामा कसिने गरेको गुनासो गर्दछन् ।

सेवाग्राहीले अमाही मार्टले खोलेका डिलर बाहेक सामान खरिद गर्न नसक्ने मात्रै हैन, डिलरहरुले समेत अन्य सप्लायर्सबाट सामान ल्याएर बिक्री गर्न नसक्ने गरि कसिएको छ । मोरङको पथरी–शनिश्चरेमा छिन्ताङ माई जेनरेल स्टोर्सले ३ लाख ५० हजार रुपिँया धरौटी अमाहीमा राखेर डिलरको काम गर्दै आएको थियो । पछिल्लो समय एकाएक उक्त डिलरलाई अमाहीले सामान उपलब्ध गराउन छोडेपछि अहिले अलपत्र परेको यसका सञ्चालकले गुनासो गरेका छन् ।
करारनामा अनुसार सामान नदिनुको कारण बारे अमाही मार्टका प्रमुख कुमोद मण्डलसँग बुझ्दा अन्य सप्लायर्सबाट सामान लिएर बिक्री गरेको आरोप लगाउनुभयो । तर, यो भन्दा अर्को गतिलो समस्या के छ भने डिलरवालाले बैंकिङ्ग कारोबारको खाता समेत जीवन विकास लघु वित्तीय संस्थामै खोल्नुपर्दछ । तर, डिलरकै नाममा खाता हुँदैन । लघु वित्तीय संस्थाका सदस्यको नाममा भएको खाताबाट कारोबार हुन्छ । सामान खरिद गर्ने सेवाग्राहीले त्यहिंबाट ऋण पाउँछन् र १२ प्रतिशत ब्याज बुझाउँछन् । अनि कर्मचारीले खोलेको अमाही मार्टबाटै डिलरमा पुगेका सामान मात्रै खरिद गर्नुपर्ने शर्तनामा राख्ने गरिएको छिन्ताङ माई जेनेरल स्टोरका प्रवन्धक अजय दास बताउनुहुन्छ । दासले आफ्नी भाउजु काजल दासको नामबाट डिलर सञ्चालन गरिरहनु भएको छ ।

यदि अमाही मार्टको नाममा बुझाउनु पर्ने रकम देखिए डिलरवाला सेवाग्राहीको खाताबाट जीवन विकास लघु वित्तीय संस्थाले रकम रोक्का गर्दछ । फरक प्रयोजनका लागि जम्मा भएको रकम समेत सेवाग्राहीले झिक्न पाउँदैनन् । सामान अर्डर गर्दा डिलर सञ्चालकले खाली चेक अमाही मार्टलाई दिनुपर्दछ । तीस दिनभित्र रकम जम्मा नगरे चेकमा आफैं उल्लेख गरेर अमाही मार्टले बाउन्स गराउने धम्की दिने गरेको मोरङ बेलबारीस्थि न्यू पाथीभरा जेनेरल स्टोर्सका सञ्चालक सुजित साहको गुनासो छ ।
साहलाई समेत पछिल्लो छ महिनायता अमाही मार्टले सामान दिएको छैन । धरौटी रकम मात्रै नभई जीवन विकास लघु वित्तीय संस्थामा खोलेको खाताबाट रकम झिक्न समेत नपाएका साहको गुनासो छ । किन यस्तो भईरहेको छ ? अमाही मार्टका प्रमुख मण्डल भन्नुहुन्छ–त्यस्तो केहि भएकै छैन, हामीबाट लगेका सामान बिक्री गरेर पैसा जम्मा नगर्दा व्यवहार बिग्रेको हो । तर, डिलरवालाले सामान बिक्री गरेको रकम समेत नगद मात्रै बुझाउन सक्ने सुविधा दिइएको छ ।

जीवन विकास लघु वित्तीय संस्था लि.ले केहि महिना अगाडी सर्वसाधारणका लागि शेयर निस्कासन गरेको थियो । सर्वसाधारणका लागि निश्काशन गरेको पौने पाँचलाख कित्ता शेयरमा सञ्चालकहरुले आफ्नै नाममा राखेपछि नेपाल राष्ट्र बैंकले चासो राखेको थियो । त्यो प्रकरणपछि अमाहीका भरतलाल बहदारले राजीनामा दिनु भएको थियो ।
डिलर खोल्नु अगाडी अमाही मार्टले शाखा सञ्चालन गर्दै आएको थियो । प्रदेश १ र २ का विभिन्न जिल्लामा खोलिएका शाखा एकाएक बन्द गरेर डिलर सिस्टममा लगिएको हो । तर, डिलरले स्वायत्तता पाएका छैनन् । गैरकानुनी काम धेरै हुने गरेका कारण ठूलो कर छली हुने गरेको आशंका गरिएको छ । अमाही मार्टले आफ्नो ब्राण्ड आइबाको टिभी समेत बिक्री गर्दै आएको छ । त्यसको उत्पादन कहाँ गरेर कुन मार्ग प्रयोग गरेर नेपाल भित्र्यान्छ डिलरहरुलाई जानकारी हुँदैन ।

जीवन विकास लघु वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत सञ्जय मण्डलले अमाही मार्ट र लघु वित्तीय संस्था फरक रहेको बताउनुभयो । उहाँले लघु वित्तीय संस्थाका सदस्यहरुकै माग अनुसार व्यापारीक फर्म अमाही मार्टको अवधारणा अगाडी सारिएको जानकारी दिनुभयो । तर, लघु वित्तीय संस्थाबाट ऋण लिएर व्यापारीक फर्ममा अमाही मार्टका डिलरबाट सामान खरिद गर्नुपर्ने शर्त नराख्ने गरेको दावी गर्नुभयो । उहाँले शेयरको विवाद मिलिसकेको बताउँदै अहिले समस्या नरहेको जानकारी दिनुभयो ।
हाल यस वित्तीय संस्थाको १४६ वटा शाखा कार्यालय मार्फत ३२४ हजार परिवारहरु प्रत्यक्षरुपमा लाभान्वित भएको दावी गरिन्छ । आर्थिक असमानतालाई न्युनिकरण गर्दै शहरमा उपलब्ध हुने सुविधाहरु ग्रामिण क्षेत्रसम्म विस्तार गर्ने अभिप्रायले यस वित्तीय संस्थाले विभिन्न प्रकारका वित्तीय सेवाहरु (वचत, ऋण, वीमा तथा रेमिटान्स) प्रदान गरिरहेको छ । वित्तीय संस्थाले आफ्नो वार्षिक योजना बमोजिम सम्बन्धित निकायहरुको सहयोग तथा सहकार्यमा शिक्षा, स्वास्थ्य, कृषि, उर्जा, रोजगारी विकास लगायतका क्षेत्रमा समेत कार्य गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्