विराटनगरका उद्योगीले भने–विद्युत अनियमित भए उत्पादन रोकिन्छ

विराटनगरका उद्योगीले भने–विद्युत अनियमित भए उत्पादन रोकिन्छ

विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा पछिल्लो एकसातादेखि अनियमित विद्युत आपूर्तिका कारण उत्पादनसँगै रोजगारी घुम्ने अवस्था आएको उद्योगीहरुले बताएका छन् । दैनिक १२ घण्टासम्म भईरहेको लोडसेडिङ औद्योगिक क्षेत्रले धान्न नसक्ने भन्दै उद्योगीहरुले सरकार र नेपाल विद्युत प्राधिकरणले यसको समाधान खोज्नुपर्ने माग गरेका हुन् ।

उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेर औद्योगिक क्षेत्रमा हुने लोड सेडिङको सेड्यूल यकिन गरिनुपर्ने माग गरेका छन् । भारतबाट महंगोमा विद्युत खरिदका लागि बोलकवोल दररेट प्रस्ताव गर्दा समेत बिद्युत नपाएको भन्दै विद्युत प्राधिकरणले एकसातादेखि करिडोर क्षेत्रमा दैनिक १२ घण्टासम्म लोडसेडिङ गरिरहेको उद्योगीहरुको गुनासो छ ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले कोभिडको महामारीबाट थला परेका उद्योग व्यवसाय क्षेत्रले केहीमहिनायता भोग्नु परेको वित्तीय संकट तथा बढ्दो व्याजदरसँगै दैनिक १२ घण्टा लोडसेडिङको समस्यासँगै उद्योग सञ्चालन गर्न असजिलो स्थिति आएको बताउनुभयो । तत्काल विद्युत आपूर्ति सुचारु गर्नेतर्फ सरकार गम्भीर नभए उद्योगहरु बन्दगर्न वाध्य स्थिति आउने अध्यक्ष प्याकुरेलको चेतावनी थियो ।
सरकार र प्राधिकरणले प्रशस्त विद्युत उपलब्ध गराउने आश्वासन दिएर अहिले भारतबाट बिद्युत नआउँदाको स्थिति भनाई र व्यवहारमा मेल नखाएको अर्का उद्योगी पवन सारडाको भनाई थियो । पत्रकार सम्मेलनमा सारडाले बिद्युत समस्या हुँदैन भनेर लगानी गर्न आग्रह गर्ने सरकार नै बिद्युतका कारण फेल हुनेस्थिति आएको आरोप लगाउनुभयो ।

पत्रकार सम्मेलनमा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले सरकारले दैनिक १२ घण्टाको लोडसेडिङलाई औद्योगिक क्षेत्रमा ६ घण्टामा झार्नुपर्ने माग गर्नुभयो । उहाँले दैनिक लोडसेडिङको यकिन तालिका निकालेर औद्योगिक क्षेत्रको आपूर्ति प्रणालीलाई स्थिर बनाउनुपर्ने माग गर्नुभयो । विद्युत अभाव भएको कुरा उद्योगी–व्यवसायीले महसुश गरेका छौं, अध्यक्ष रिजालले भन्नुभयो–तर, कुनै सेड्युल बिना जथाभावी लाइन काट्ने कुरा रोकेर दैनिक निश्चित समय तोकिनु पर्दछ ।

विद्युतको मूल्य बृद्धि भएको जानकारी गराएर कटौति गर्न नमिल्ने, उद्योगीहरुको भनाई छ । उद्योगलाई आवश्यक विद्युत उपलब्ध गराउने दायित्व सरकारको भएको बताउँदै पिक आवरका लागि खरिद गरिएको विद्युत उद्योगहिरुले उपयोग नगर्ने उनीहरुको भनाई छ । सरकारले भारतबाट खरिद गर्ने विद्युत पिक आवरका बेलुका ८ बजेदेखि १२ बजेसम्मको मूल्य २० रुपिँया आईसी छ, उद्योग संगठनका अध्यक्ष प्याकुरेलले भन्नुभयो–त्यो विद्युत उद्योगले उपयोग गर्दैनन् तर अन्य समयमा आवश्यक विद्युत दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्