विराटनगर आईसिपीसम्म कार्गोरेल ल्याउने विषयमा चासो बढ्दै

विराटनगर आईसिपीसम्म कार्गोरेल ल्याउने विषयमा चासो बढ्दै

विराटनगर । भारतको सीमावर्ती रेल-स्टेसन बथनाहाबाट विराटनगर बुधनगरको आइसिपीसम्म कोलकाता बन्दरगाहबाट कार्गोरेल ल्याउने पहल अगाडी बढेको छ । भारतको रेल विभागले आईसिपीसम्म काम सम्पन्न भएको क्षेत्रमा कार्गोरेल ल्याउनसक्ने संभाव्यता बारे स्थलगत निरीक्षण सुरु गरेको हो ।

भारतीय रेल-वे विभाग अन्तर्गत एनएफ रेलवे कटिहार मण्डलका कर्नल एसके चौधरीले गत आइतबार बथनाहा-बुधनगरसम्मको रेलवे लाइन निरीक्षण गरेर फर्कनु भएको छ । रेल-वे विभाग नेपालका सिनियर डिभिजनल इन्जिनिय एवं प्रवक्ता अमन चित्रकारले आईसिपीको नेपाल कष्टम यार्डसम्म कार्गोरेल ल्याउनका लागि आवश्यक पूर्वाधार तयारी गर्ने विषयमा अहिले प्रक्रिया बढिरहेको जानकारी दिनुभयो ।

प्रवक्ता चित्रकारले बाहिर चर्चामा आएजस्तो आगामी जुलाई (असार) सम्ममा भनरे समय नै यकिन भन्न नसकिने भएपनि आईसिपीसँग ‘लिंकअप वे’ निर्माणको कामका लागि अध्ययन भईरहेको बताउनुभयो ।
उहाँले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आईसिपीसम्म रेललाई जोड्ने लिंक ट्रयाक निर्माणको बारेमा अध्ययन गरिरहेको बताउनुभयो । आईसिपी सञ्चालनको जिम्मेवारी पाएको नेपाल इन्टरमोडल यातायात विकास समिति समेतको सहभागितामा लिंकअप वे निर्माण अध्ययन भईरहेको छ, चित्रकारले भन्नुभयो-आवश्यक संरचना निर्माणसँगै नेपाल आईसिपीसम्म रेलवे ल्याउने पहल भईरहेको छ । तर, त्यसका लागि आवश्यक तयारी गर्नुपर्ने भएकोले तीन महिनाकै समय पर्याप्त हुन नसक्ने बताइन्छ ।

विराटनगरका उद्योगी-व्यवसायीले आईसिपीसम्म परीक्षण गरिसकिएको रेलमार्ग प्रयोगमा चाँडो ल्याउन सके त्यसको फाइदा नेपाललाई पुग्ने बताउँदै आएका छन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल आइसिपीसम्म आईपुगेको रेलमार्ग प्रयोगमा ल्याउन भारतीय पक्ष सकारात्मक रहेको बताउँदै नेपालबाट सरकारी पहलको जरुरी रहेको बताउनुभयो ।
भारतीय रेलवेले भारतको बथनाहादेखि विराटनगरको आइसिपी सम्मको रेलमार्गमा ३ वर्षअघि नै रेल सञ्चालनको सफल परीक्षण गरिसकेको छ । भारतसित सशक्त कूटनीतिक पहल भएमा आइसिपीसम्म कार्गोरेल ल्याउन सकिने विश्वास रहेको अध्यक्ष रिजालको भनाई छ ।
आइसिपीमा कन्टेनर लोडअनलोडका लागि नेपाल पक्षले केही खाली ठाउँमा माटो भर्ने र आइसिपी नजिकको रेल स्टेसनमा पक्की यार्डको निर्माण गर्ने काम भईरहेको छ । यो भारतीय पक्षले नै गरिरहेको छ ।
तर, रेलवे मार्गमा नेपाली कष्टम यार्ड आईसिपीसँगै नभएका कारण नेपाली पक्षले रेलको कन्टेनर यार्ड र पहुँच मार्ग निर्माणको काम सम्पन्न गर्नुपर्ने हुन्छ ।

भारत सरकारले भारतको सीमावर्ती रेलवे स्टेसन बथनाहाबाट मोरङको कटहरी गाउँपालिकासम्म १८ दशमलव ७ किलोमिटर रेलमार्ग बनाइदिने सहमति अनुसार काम भईरहेको छ । कटहरी गाउँपालिकामा मुआबजा विवादले भारत सरकारलाई नेपालले जमिन हस्तान्तरण गर्न नसकदा काममा केहि अवरोध रहेको छ । बथनाहादेखि आइसिपीसम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य भएको छ । यसको अधिकतम उपयोग गरेर आयातनिर्यातलाई सहज र सुरक्षित बनाउन प्रधानमन्त्रीको भारत भ्रमणमा समेत कुरा हुनुपर्ने उद्योगीहरुको माग छ । विराटनगरको आइसिपीदेखि थप १० किलोमिटरमा समेत काम धमाधम भईरहेको छ । अहिले आईसिपीदेखि विराटनगर-१४ स्थित जतुवासम्मको ३.५ किलोमिटरमा लिक निर्माणको भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्