नागरिकसँग प्रहरी जोड्दै सुन्दरहरैंचा

नागरिकसँग प्रहरी जोड्दै सुन्दरहरैंचा

विराटनगर । पाँचवर्ष अगाडिसम्म मोरङको सुन्दरहरैंचा क्षेत्रमा प्रहरी चौकी हरैंचाको मात्रै संरचना थियो । स्थानीय तहको गठनसँगै सुन्दरहरैंचा नगरपालिकामा पछिल्लो पाँचवर्षको अवधिमा प्रहरीका संरचना तीनवटा पुगेका छन् । बलिया–बाँसबारी प्रहरी चौकी स्थापना भई हाल भवन निर्माणको कार्य भई रहेको छ । स्थायी संरचना भएका बाहेक मासिक भाडा बुझाएर अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । सुन्दरहैंचा नगरपालिमा प्रहरीका एउटा पोष्ट स्थापना गरेर मासिक भाडा नगरपालिकालले ंबेहोर्छ ।

नागरिक सुरक्षामा नगरको चासो
तीन तहका सरकार गठनसँगै संघको मातहतमा रहेको प्रहरी संगठनलाई नागरिकस्तरमा विस्तार गर्न स्थानीय सरकार बढी प्रभावकारी देखिएको छ । नागरिक–प्रहरी सम्बन्ध विस्तार गर्दै सामाजिक सुरक्षालाई बढाउन स्थानीय सरकारले प्रशस्त सहयोग गरेको हो । अहिले सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा इलाका प्रहरी कार्यालय बेलबारी मातहत रहने गरी इप्रका हरैंचा, विराटचौक तथा गछियामा स्थायी संरचनासहित प्रहरी चौकी स्थापना भएका छन् । त्यसैगरी बलियामा अस्थायी पोष्ट र त्रिवेणी चौकमा बिट राखिएको छ । ईलाका प्रहरी कार्यालय विराटचौक, प्रहरी चौकी गछियामा स्थायी प्रकृतिको भवन निर्माण भएको छ ।

जग्गा उपलब्ध गरेरै संरचना
स्थानीय सरकारले प्रहरीलाई स्थायी रुपमा स्थापित गर्न जग्गा उपलब्धत्र गराएर प्रहरीका इकाई स्थापना गर्दै आएको छ । हरैंचामा मात्रै रहेको प्रहरी चौकीको स्थायी संरचना अहिले विराटचौक र गछियामा स्थापना गरिएको हो । विराटचौक र गछियामा स्थापना भएका संरचनाबाट प्रहरीले सुरक्षा प्रदान गर्दै आएको छ । दैनिक सुरक्षामा खटिने प्रहरीलाई सुविधासम्पन्न भवनबाट सेवा प्रदान गर्न सहज भएको छ । विराटचौक र गछियामा स्थायी संरचना बनिसकेका छन् । साजिलाल मा.वि.को जग्गा उपलब्ध गराएर गछियामा प्रहरीको संरचना निर्माण गरिएको हो ।

नगरक्षेत्र गस्तीमा प्रहरीलाई भ्यान
स्थायी संरचना मात्रै भएर त्यहाँबाट दैनिक सुरक्षा गतिविधिको काम गर्न असहज हुने देखिएपछि सुन्दरहरैंचा नगरपालिकाले दुईवटा गाडी प्रहरीलाई उपलब्ध गराएको छ । संघीय सांसद लालबाबु पण्डित र भानुभक्त ढकालमार्फत नगरपालिका कार्यालयलाई प्राप्त भएका सवारी विराटचौक र गछिया प्रहरीलाई उपलब्ध गराइएको हो ।

दुर्घटना घटाउन ट्राफिक पोष्ट
हरैंचामा मात्रै रहेको ट्राफिक प्रहरीको पोष्ट विराटचौक, बलिया र गछियामा स्थापना गरिएको छ । सवारी आवागमन र दुर्घटना न्यूनीकरणका लागि आवश्यक पर्ने ट्राफिक प्रहरीको लागि स्थानीय सरकारले साझेदारीपूर्ण सहयोग उपलब्ध गराएको हो ।
नगरपालिकाले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउँदै दुर्घटना न्यूनीकरण गर्न विराटचौक, बलिया र हरैंचामा भाडाका घरमा ट्राफिक पोष्ट स्थापना गरेको छ । गछियामा नेपाल प्रहरीसँगै ट्राफिक प्रहरी एउटै भवनमा बस्दै आएको छ ।
सुन्दरहरैंचा नगरपालिका लेखा शाखाका अधिकृत शेखर ढकालका अनुसार गछिया प्रहरी चौकीको भवन निर्माणका लागि ६० लाख रुपैयाँ लगानी भएको छ । जसमा नगरपालिकाले २५ लाख उपलब्ध गराएको हो । यसैगरी सुन्दरहरैंचा नगरपालिका क्षेत्रका प्रहरी इकाई हेर्ने तालुकदार कार्यालय इलाका प्रहरी कार्यालयको नयाँ भवन निर्माणस्थलमा माटो पुर्नका लागि पाँचलाख रुपैयाँ सहयोग उपलब्ध गराइएको छ ।
बलिया बासँबारी प्रहरी चौकी स्थापना गर्न वडा र नगरपालिकाबाट १८ लाख रुपैया विनियोजन गरिएको जनाइएको छ ।

लजिष्टिक र सवारी मर्मतमा सहयोग
नागरिकको सुरक्षालाई ध्यानमा राखेर सुन्दर–हरैंचा नगरपालिकाले प्रत्येक वर्ष शान्ति सुरक्षा शीर्षकमा बजेट व्यवस्थापन गर्दै आएको छ । प्रहरीको सीमित स्रोत साधनलाई ध्यानमा राख्दै नगर क्षेत्रको प्रहरी इकाई हेर्ने तालकुदार कार्यालय इलाका प्रहरी कार्यालय बेलबारी, इप्रका हरैंचा, विराटचौक, प्रहरीचौकी गछियाालाई आवश्यक पर्ने लजिष्टिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैगरी ट्राफिक प्रहरीका चारवटा पोष्ट हरैंचा, गछिया, विराटचौक र बलियालाई समेत सहयोग उपलब्ध गराउँदै आएको छ । सवारी साधान मर्मतदेखि इन्धनमा पनि सुरक्षा निकायलाई सहयोग गरिदै आएको नगरपालिकाले जनाएको छ ।

कोभिड महामारीमा विशेष भत्ता
कोरोना संक्रमणले देशै आक्रान्त भएको बेला सुन्दर–हरैंचा नगरपालिकाले भने प्रहरीको सहयोग लियो । दैनिक खट्न नसक्ने प्रहरीलाई विशेष भत्ता समेत उपलब्ध गराएर परिचालनमा सहजीकरण गरिएको थियो । कोभिड अवधीभर १२ लाखभन्दा बढी रकम यस्तो कार्यका लागि खर्च भएको तथ्यांक छ ।
चाडपर्वमा हुनसक्ने संभावित अपराधनलाई नियन्त्रण र न्यूनीकरण गर्न स्थानीय सरकारले गाउँगाउँमा प्रहरीको उपस्थितिलाई महसुश गराउन सहजीकरण गर्दै आएको छ । जसका लागि प्रहरीलाई विशेष प्रोत्साहन हुने किमिसको कार्यक्रम नगरपालिकाले ल्याउँदै आएको छ । प्रहरीको उपस्थिति अभाव नहुँदा चाडपर्वमा हुनसक्ने संभावित जोखिम न्यूनीकरण र दुर्घटनामा कमी आएको दावी गरिन्छ ।

स्थानीय तहसँगको साझेदारी सुरक्षामा कोषेढुंगा
शान्ति सुरक्षा कायम गराउन स्थानीय तहको भूमिका साझेदारीयोग्य हुँदा नेपाल प्रहरीलाई नागरिकको घरदैलोसम्म पुग्न सहज भएको छ । सामाजिक सुरक्षासँग जोडिएको प्रहरीसँग नागरिकसँग प्रत्यक्ष जोडिएको स्थानीय सरकार सहयोगी बन्दा त्यसको प्रभाव सकारात्मक बन्दै गएको हो ।
कानुन कार्यन्वयन र न्याय निरुपणमा स्थानीय तहको भूमिकाले प्रहरीलाई सहज भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठले बताए । स्थानीय तहसँगको समन्वयमा अपराध न्यूनीकरणका कार्यक्रमहरु सञ्चालन गर्न सहज भएकोले त्यसको प्रभाव नागरिकको चेतनास्तरमा परेको डिएसपी श्रेष्ठको भनाई छ । विकास निर्माणमा हुनसक्ने अवरोधमा आवश्यक सहजीकरण, समाजमा लुकेर बसेको अपराधिक मनोवृत्तिको उजागर गराउन समेत स्थानीय तहको सरकार प्रहरीका लागि बढी सहज भएको दावी गरिन्छ । सामाजिक रुपमा देखिएका समस्याको न्यायिक निरुपण स्थानीय सरकारबाट हुने भएकोले धेरै घटनाहरु प्रहरीसम्म नआई मिल्ने गरेका छन् । जसको फाइदा प्रहरीलाई अन्य क्षेत्रका गतिविधिमा संलग्न गराउन सकिएको डिएसपी श्रेष्ठले बताए ।

सामाजिक सुरक्षामा नयाँ फड्को
नगरिकसँग जोडिएर शान्ति सुरक्षामा खटिने प्रहरीले अपराध न्यूनीकरणका लागि पहिलो भूमिका खेल्नुपर्ने सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव ढकालको भनाई छ । घटना भईसकेपछि अनुसन्धान र नियन्त्रणको पाटोभन्दा समाजमा चेतनास्तर उकास्ने काममा प्रहरीको विशेष भूमिका रहनुपर्ने मेयर ढकालको भनाई छ । सुन्दरहरैंचा नगरपालिकाले यस क्षेत्रमा नागरिक र प्रहरीबीचको सम्बन्ध स्थापित गर्दै सामाजिक सुरक्षामा नयाँ फड्को मार्न सफल भएको ढकालले दावी गरे । कोरोना महामारी नियन्त्रणमा यस क्षेत्रमा प्रहरीको भूमिका निक्कै महत्वपूर्ण रहयो, मेयर ढकालले सरकारले लकडाउन घोषणा गरेसँगै त्यसको कार्यन्वयनमा प्रहरीले आफ्नो जीवनको पर्वाह नगरी नागरिकको स्वास्थ्य सुरक्षा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने,“प्रहरीको भूमिका प्रशंसायोग्य छ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्