कागजको मूल्य अत्याधिक बढ्दा, क्षमता कटौती गर्दै विराटनगरका मुद्रण उद्योग

कागजको मूल्य अत्याधिक बढ्दा, क्षमता कटौती गर्दै विराटनगरका मुद्रण उद्योग

विराटनगर । कागजलगायतका आवश्यक वस्तुमा अत्याधिक मूल्यबृद्धि हुँदा त्यसको असर मुद्रण उद्योगमा देखिएको छ । भारत तथा तेस्रो मूलुकबाट पैठारी हुने सबै प्रकारका कागजमा पछिल्लो एक महिनायता दैनिकजस्तो मूल्य बृद्धि हुँदै गएपछि विराटनगरका मुद्रण उद्योगीहरुले चिन्ता व्यक्त गरेका छन् ।

विद्यालयका पुस्तक छपाईका लागि प्रयोग हुने म्यापलिथो एक महिनायता ८६ रुपिँया प्रतिकेजीबाट १०२ रुपिँया पुगेको छ । यसैगरी प्रतिकेजी १५० रुपिँयामा खरिद हुँदै आएको आर्टबोर्ड पेपरको मूल्य २४० रुपिँया पुगेको छ । यो पेपर क्यालेन्डर तथा कार्ड छपाईमा प्रयोग हुन्छ । यसैगरी न्यूज प्रिन्ट पेपरको मूल्य ८४ रुपिँया प्रतिकेजीबाट १०५ रुपिँया पुगेको छ ।

भारत तथा तेस्रो मुलुकबाट कागजजन्य वस्तुको पैठारीकर्ता विराटनगरस्थित ओरियन्ट सप्लायर्सका ज्योती साबुका अनुसार तेस्रो मूलुकबाट ६४० प्रतिटनमा खरिद हुँदै आएका कागज अहिले एकहजार २१५ प्रतिटन पुगेको छ । यो कोलकातास्थित सिआईएफको मूल्य हो । त्यहाँबाट प्रतिकेजी ८ रुपिँया ढुवानी र २८ प्रतिशत भन्सार तथा मूल्य अभिबृद्धि कर तिर्नुपर्दछ ।

नेपालमा भारत तथा तेस्रो मुलुकबाट किताब छाम्ने म्यापलिथो, क्यालेन्डर छाप्ने आर्थपेपर, किताबको कभरको रुपमा प्रयोग हुने आर्ट बोर्डर, पत्रपत्रिका छाप्न न्यूज प्रिन्ट र मिडिया पेपर आयात हुँदै आएको छ । विराटनगरस्थित कृष्णा ट्रेडर्सका हेमन्त बोहराले भारत तथा तेस्रो मुलुकबाट आयात हुने कागजको मूल्य सम्बन्धित देशमै बढेको दावी गरे । त्यसको असरको रुपमा नेपालमा अझै बढ्ने संभवना छ ।

नेपाल राष्ट्र बैंकले प्रतितपत्र (एलसी) खोल्न कडाई गरेसँगै मुद्रण उद्योगका आवश्यक सबै प्रकारका वस्तुको अभाव हुने देखिने चिन्ता मुद्रण उद्योगीमा छ । नेपाल मुद्रण उद्योग महासंघ प्रदेश १ का अध्यक्ष लवकुमार घिमिरेका अनुसार एलसी खोल्न कडाई गरिएसँगै पहिला आयात गरिएको सामानमा समेत कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाइएको आशंका छ । मुद्रण उद्योगसँग सम्बन्धित कागज, इन्क लगायतका आवश्यक वस्तु बजारमा अभाव भईसकेको छ । मुद्रण उद्योगले आफ्नो छपाई क्षमता समेत ४० प्रतिशतले कटाएको अध्यक्ष घिमिरेको भनाई छ ।

नेपालमा उत्पादन नहुने र आयातकै भर पर्नुपर्ने मुद्रण उद्योगसँग सम्बन्धित कच्चाको अभाव देखिए धेरैको रोजगारी गुम्ने मोरङका अध्यक्ष सुभास कार्की बताउनुहुन्छ । पैठारीकर्ताले भारत तथा तेस्रो मुलुकबाट झिकाउने कागजमा १५ प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्यअभिबृद्धि कर बुझाउनु पर्नेहुन्छ । ढुवानी तथा भन्सार चेकजाँचका सबै प्रक्रिया पूरा गर्दा गतवर्षको भन्दा ३० प्रतिशतले सबै प्रकारका कागजमा मूल्य बृद्धि भईसकेको आयातकर्ताहरुको दावी छ ।

नेपालमा उत्पादन हुने कागजले सबै प्रकारका काम टार्न सक्दैन । जसका कारण आयात गरेर ल्याउनु पर्ने कागज तथा इन्क अभाव भए त्यसको असर धेरै क्षेत्रलाई पर्नसक्ने मुद्रण उद्योगीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्