स्थानीय तह निर्वाचनका लागि तनहुँमा दुई हजार ३ सय ७६ जनशक्ति खटिने

स्थानीय तह निर्वाचनका लागि तनहुँमा दुई हजार ३ सय ७६ जनशक्ति खटिने

तनहुँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा दुई हजार ३ सय ७६ जनशक्ति परिचालन गरिने भएको छ ।

जिल्ला निर्वाचन कार्यालयले १० वटै स्थानीय तहको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी दुई हजार ३ सय ७६ जनशक्ति परिचालन गर्न लागेको हो ।

मतदान केन्द्रमा जनशक्ति परिचालनका लागि कर्मचारीको विवरण सङ्कलनको काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । जिल्लामा वैशाख २७ गतेभित्र मतदान अधिकृत, सहायक मतदान अधिकृत नियुक्त गरेर मतदानस्थलमा खटाइसक्ने तयारी गरिएको छ ।

निर्वाचनका लागि तनहुँमा १ सय ३६ मतदानस्थल र २ सय ९७ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि २ सय ९७ मतदान अधिकृत, २ सय ९७ सहायक मतदान अधिकृत, ५ सय ९४ सहायक, २ सय ९७ सहयोगी परिचालन हुनेछन् । त्यसका साथै मतदान केन्द्रमा ८ सय ९१ कर्मचारी नियुक्त गरिनेछन् ।

आँबुखैरेनी गाउँपालिकामा कूल १ सय ३६, ऋषिङ गाउँपालिकामा २ सय, घिरिङ गाउँपालिकामा १ सय ३६, देवघाट गाउँपालिकामा १ सय १९, बन्दीपुर गाउँपालिकामा १ सय ६८, भानु नगरपालिकामा ३ सय ९२, भिमाद नगरपालिकामा २ सय ४८, म्याग्दे गाउँपालिकामा १ सय ६०, व्यास नगरपालिकामा ४ सय ४७ र शुक्लागण्डकी नगरपालिकामा १ सय ८९ जनशक्ति परिचालन गरिनेछ । तनहुँका दुई लाख ४४ हजार ३ सय ४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८ सय ६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४ सय ७१ मतदाता रहेका थिए ।

निर्वाचन कार्यालय तनहुँकाअनुसार जिल्लाका १० वटै स्थानीय तहमा २ सय ९७ मतदान केन्द्र कायम गरिएको छ । करिब एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र कायम गरिएको ढकालले जानकारी दिए । सबैभन्दा बढी व्यास नगरपालिकामा ५६ र सबैभन्दा कम देवघाट गाउँपालिकामा १५ मतदान केन्द्र कायम गरिएको छ । यसैगरी आँबुखैरेनी गाउँपालिकामा १७, ऋषिङ गाउँपालिकामा २५, घिरिङ गाउँपलिकामा १७, बन्दीपुर गाउँपालिकामा २१, भानु नगरपालिकामा ४९, भिमाद नगरपालिकामा ३१, म्याग्दे गाउँपालिकामा २० र शुक्लागण्डकी नगरपालिकामा ४६ मतदान केन्द्र कायम भएको छ ।

उम्मेदवार छान्दै राजनीतिक दल
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकै आएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता छ । निर्वाचन नजिकिँदै जाँदा तनहुँका मतदाता सक्षम उम्मेदवारको खोजीमा छन् ।

म्याग्दे गाउँपालिका–१ का अनिल अधिकारीले निर्वाचनमा सक्षम र विकासको भावना भएको उम्मेदवारलाई जिताउनुपर्ने धारणा राखे । “पार्टीमा देखिएको टिकटको होडबाजीले समाजसेवा भन्दा कमाउधन्दाका लागि उम्मेदवारी दिनेको होडबाजी छ,” उनले भने, “मतदाताले को सक्षम छ त्यसको मूल्याङ्कन गर्नुपर्ने बेला आएको छ ।

म्याग्दे गाउँपालिका–२ का युवा रमेश क्षेत्रीले जुन दलको भए पनि सक्षम र उदार मन भएका व्यक्तिलाई निर्वाचनमा जिताउनुपर्ने धारणा राखे । “दलगत भन्दा पनि सवल व्यक्ति छनोट गर्नुपर्छ, त्यसका लागि निर्वाचन उपयुक्त माध्यम हो,” उनले भने। घिरिङ गाउँपालिका–१ पुट्टारका दीपक भट्टराईले हाम्रो भन्दा राम्रो उम्मेदवारको खोजीमा जनता रहेको बताए । “अहिले चाहिएको भनेको विकास हो, जनतालाई राजनीति चाहिएको छैन, विकास चाहिएको छ, जसले विकास गर्ने सङ्कल्प बोकेको छ मत उसैलाई मत दिने हो,” उनले भने ।

तनहुँका राजनीतिक दललाई यतिबेला उम्मेदवार छनोटको चटारो छ । उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गर्दा यहाँका राजनीतिक दलले उम्मेदवार सिफारिस गर्न थालेका छन् । राजनीतिक दलले सम्बन्धित पालिकाबाट आकाङ्क्षीको नाम सङ्कलन गरी माथिल्लो कमिटीमा उम्मेदवार सिफारिस गर्न थालेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, (नेकपा माओवादी) केन्द्र, राप्रपा लगायतका दलहरु उम्मेदवार छनोटमा व्यस्त छन् ।

नेकपा एमालेले सम्बन्धित पालिकामा आकाङ्क्षीको नामावली सङ्कलन गरी मतदानबाट उम्मेदवार टुङ्गो लगाएर माथिल्लो कमिटीमा नामावली सिफारिस गर्ने गरेको नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । सम्बन्धित पालिकाबाट सिफारिस भई आउने उम्मेदवारको नामावली प्रदेश कमिटीमा पठाइने र गाउँपालिका÷नगरपालिकाको प्रमुख÷अध्यक्षको टुङ्गो प्रदेश कमिटीले लगाउने श्रेष्ठले बताए ।

नेकपा माओवादी केन्द्रले भने केही पालिकामा सर्वसम्मत उम्मेदवार छनोट गरिसकेको छ । राप्रपाले पनि सर्वसम्मत उम्मेदवार छनोट गरेको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्