‘अन्सेड्यूल’ लोडसेडिङ विरुद्ध विराटनगरका उद्योगी आन्दोलनमा उत्रने

‘अन्सेड्यूल’ लोडसेडिङ विरुद्ध विराटनगरका उद्योगी आन्दोलनमा उत्रने

विराटनगर । विकल्पमा इन्धन समेत प्रशस्त नपाउने र विद्युत पनि नियमित आपूर्ति नहुने कुराले हैरानीमा परेका सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी नेपाल बिद्युत प्राधिकरण विरुद्ध आन्दोलनमा उत्रने तयारीमा जुटेका छन् । दैनिक कति समय र कुन समय बिद्युत आपूर्ति हुने भन्ने कुरा यकिन गराउनकै लागि भएपनि विराटनगरमा उद्योगीहरु आन्दोलनमा उत्रने भएका हुन् ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले नेपाल बिद्युत प्राधिकरणले लोडसेडिङ तालिका सार्वजानिक नगर्दा औद्योगिक क्षेत्र अन्यौल र अस्तव्यस्त बन्दै गएको गुनासो गर्नुभयो । यसका लागि प्राधिकरण विरुद्ध उद्योगी–व्यवसायीको छाता संस्थाबीच मोर्चाबन्दी कसेर आन्दोलनमा उत्रने जोरजाम सुरु गरिएको अध्यक्ष रिजालले बताउनुभयो ।

आन्दोलनका कार्यक्रम यकिन गर्न संघमा शुक्रबार छलफल कार्यक्रम राख्ने तयारी गरिएको छ । त्यसका लागि कुन–कुन संस्थासँग मिलेर जाने कुरामा सहमति लिन सकिन्छ भन्ने काम भईरहेको छ ।
अहिले औद्योगिक क्षेत्रका उद्योगीलाई बिद्युतको विकल्प जेनेरेटर चलाउने सुविधा समेत छैन । कुनै समय नियमित लोडसेडङ हुँदा जेनेरेटरको विकल्प सोचेका उद्योगीहरु अहिले मूल्य र आपूर्तिको चापमा रहेको बताउँछन् ।
इन्धनको मूल्य ७०–८० रुपिँया प्रतिलिटर हुँदा सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीले जेनेरेटर चलाएर उद्योग सञ्चालन गर्थे । उसबेलाको लोडसेडिङको ‘सेड्यूल’पर्खेर मजदुरलाई बोलाउँथे र उद्योग चलाउँथे । पछिल्लो समय सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीलाई ‘अन्सेडुयूल’ लोडसेडिङले उद्योग कुनदिन बन्द हुन्छ भन्ने चिन्ता बढाएका हो । इन्धनको मूल्य १५० रुपिँया पुगेको छ, त्यहि पनि प्रशस्त पाइदैन ।

मोरङ व्यापार संघका अध्यक्ष रिजालले नेपाल बिद्युत प्राधिकरणको भारप्रेषण केन्द्रले कुन दिन कहाँ र कति समय लोडसेडिङ हुन्छ भन्ने ‘सेड्यूल’ नै जारी नगर्दा समस्या परेको बताउनुभयो । बिना जानकारी हुने लोडसेडिङका कारण औद्योगिक क्षेत्र अस्तव्यस्त भईरहेको अध्यक्ष रिजालको गुनासो छ ।
उद्योगीलाई इन्धनबाट उद्योग चलाउने विकल्प पनि महंगो छ । १५० रुपिँया प्रतिलिटर इन्धन खरिद गरेर जेनेरेटर चलाउँदा बिद्युत खपत मूल्य ३६ रुपिँया प्रतियूनिट बराबर पुग्छ । पहिले नियमित लोडसेडिङ हुँदा ७०–८० रुपिँया प्रतिलिटर इन्धनको मूल्य थियो, अर्का उद्योगी अनुपम राठीले भन्नुभयो–त्यसबेला जेनेरेटर चलाउँदा बिद्युतको महशुल १८ रुपिँया पर्दथ्यो । अहिले इन्धनको प्रयोग बढाउन सक्ने अवस्था छैन । उद्योगीहरुले बिद्युतकै भर पर्नु बाहेक अर्को विकल्प सोच्न सकेका छैनन् ।

उद्योगीहरुले प्राधिकरणले देशभर दैनिक ६ घण्टा लोडसेडिङ गरेर बाँकी १८ घण्टा बिद्युत आपूर्ति प्रणालीलाई सुचारु गर्नुपर्ने माग राख्दै आएका छन् । तर, लोडसेडिङ हुने समयको बारेमा प्राधिकरणले १२ घण्टा अगाडी नै जानकारी दिनुपर्नेमा उनीहरुको जोड छ ।
करिडोरका उद्योगहरु राती ११ बजेदेखि बिहानसम्म सञ्चालन गर्न उद्योगीहरुले बढी चासो राख्ने गरेका छन् । प्राधिकरणले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको बिद्युत महसुल दर ८ रुपिँया, साँझ ६ बजेदेखि राति ११ बजेसम्मको ११ रुपिँया र राति ११ बजेदेखि बिहान ६ बजेसम्मको ५ रुपिँया महसुल कायम गरेको छ । ठूला लगानी र प्लान्टका उद्योग महसुल कम पर्ने समयमा बढी चलाउन चाहन्छन् । उद्योगीले ‘पिक आवर’ साँझ ६ बजेदेखि ११ बजेसम्म औद्योगिक क्षेत्रमा औपचारिक लोडसेडिङ गरिएपनि आफूहरुलाई स्वीकार हुने तर त्यसपछिको समय बिद्युत उपलब्ध गराउनुपर्ने दवाव बढाउँदै आएका हुन् ।

बिद्युत अनियमित भएसँगै अहिले करिडोरका उद्योगले ६० प्रतिशत उत्पादन र ५० प्रतिशतको हाराहारीमा रोजगारी कटौती गरेका छन् । बिद्युत आपूर्ति प्रणाली सहज हुने स्थिति नआएसम्मका लागि कामदार कटौती गरिएको संघका वरिष्ठ उपाध्यक्ष राठीको दावी छ ।
संघका अध्यक्ष रिजालले आगामी तीनदिन भित्रमा करिडोरको बिद्युत आपूर्ति प्रणालीको सेड्यूल नदिए प्राधिकरण विरुद्ध सशक्त आन्दोलनमा उत्रने जानकारी दिनुभयो । नेपालले भारतसँग प्रति युनिट १२ रुपिँयाका दरले ४५० युनिट बिद्युत माग गरेको थियो । तर, भारतबाट ८० युनिट मात्रै प्राप्त भएपछि औद्योगिक क्षेत्रमा कुन समय लोडसेडिङ गर्ने भन्ने अहिलेसम्म यकिन हुन नसकेको हो । आन्तरिक उत्पादन समेत ६६ प्रतिशतले घटेकोले अहिले समस्या परेको प्राधिकरणका अधिकारीहरु बताउँछन् । पूर्वमा सुनसरीको दुहबी सबस्टेशनबाट दैनिक दिउँसो १४० देखि १५० र राती ७५ देखि ९० मेगावाट बिद्युत वितरण भईरहेको छ । झापाका अनारमनि सबस्टेसनबाट दिउँसो ४० देखि ४५ र राति १५ देखि २० मेगावाट बिद्युत वितरण भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्