धरान । धरान १३ मंगलबार उत्सवमय बन्यो ।
नेकपा एमालेको चुनावी गीतले गुञ्जायमान बनेको धरान १३ मा लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका वडाध्यक्षका उम्मेदवार नेत्र काफ्लेसँगै वडावासी छमछमी नाचे । आठ सूर्य सात छाप नेकपा एमाले जिन्दावादको नारासँगै वडामा नेकपा एमालेको सूर्यध्वजा फहराउँदै वडावासी काफ्लेको समर्थनमा घरदैलो अभियानमा जुटे ।
विकास प्रेमी वडाध्यक्षका रुपमा पहिचान बनाएका नेकपा एमालेका तर्फबाट धरान १३ मा वडाध्यक्षका उम्मेदवार काफ्ले मंगलबार मतदाता माझ भोट माग्दै घरदैलो अभियानमा निस्किएपछि वडावासीले उत्साहलाई मतमार्फत् अभिव्यक्त गर्ने प्रतिबद्धता गरे । उम्मेदवार काफ्लेले पनि अधुरा रहेका योजना पूरा गर्ने घोषणा गरे । धरान १३ को विकास र समृद्धिका लागि दिलोज्यान दिने उम्मेदवार काफ्लेले उद्घोष गरे ।
धरान १३ ले विकास देख्न नसकेको अवस्थामा नेत्र काफ्लेले वडाको विकास गरेको धरान १३ निवासी सुष्मा राईले बताइन् । ‘अब उहाँको काम विकासलाई व्यवस्थित गर्नेतर्फ हुनुपर्छ ।’ उनले भनिन् । उम्मेदवार काफ्लेसँगै स्वतःस्फूर्त रुपमा वडावासी नेकपा एमालेको सूर्यध्वजा लिएर निस्किए । धरान १३ का निवर्तमान वडाध्यक्ष काफ्ले स्थानीय तहको निर्वाचनमा पुनः वडाध्यको उम्मेदवार उठेपछि मतदाता उत्साहित बनेका छन् । वडाबासीको तीव्र समर्थनबाट उत्साहित बनेका काफ्लेलाई जिताउन वडावासी आफैं भोट माग्दै, नाच्दै गाउँदै घरदैलो अभियानमा सहभागी भएका छन् ।
पहिलो चरणको घरदैलो मंगलबार थालनी गरेका एमालेका उम्मेदवार काफ्लेले दोस्रो चरणमा भने आगामी वैशाख २३ गतेदेखि मतदाता शिक्षासहित, घोषणापत्र सार्वजनिक गर्ने वडाका प्रचारप्रसार समिति सह-सचिव विष्णुु चौलागाईले बताए