विराटनगर । मोरङको बेलबारीमा पुस ४ गतेदेखि नवौँ संस्करणको ‘बेलबारी मेजर स्व। एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ।
बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको डाँगिहाट रंगशालामा पुस ४ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबारे आयोजक डाँगिहाट युथ क्लबले शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।
क्लबका अध्यक्ष विक्रम बान्तवा राईले बेलबारी क्षेत्रको पहिचान खेलकुदमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। विभिन्न जातजाति, भाषाभाषी र धर्मसंस्कृतिको संगमस्थलका रूपमा रहेको बेलबारीलाई खेलकुदका माध्यमबाट थप चिनाउन गोल्डकपले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

अध्यक्ष राईले सहरका तुलनामा मोफसलको ग्रामीण क्षेत्रमा प्रतियोगिता आयोजना गर्न आर्थिक तथा प्रायोजन जुटाउन कठिन हुने गरेको बताए। स्थानीयवासी, व्यापारी, नगरपालिका र विदेशमा रहेका नेपालीहरूको सहयोगबाट आर्थिक चुनौतीका बीच प्रतियोगितालाई नवौँ संस्करणसम्म निरन्तरता दिन सफल भएको उनले बताए।
प्रतियोगिताको निरन्तरताले आयोजकको आर्थिक पारदर्शिता र स्थानीयको विश्वाससमेत झल्काउने अध्यक्ष राईको भनाइ छ। युवालाई खेलकुदमा आकर्षित गर्दै प्रतिभावान् खेलाडी उत्पादन र सभ्य समाज निर्माणमा योगदान पुर्याउने लक्ष्य रहेको उनले बताए।
प्रतियोगितामा आयोजक डाँगिहाट युथ क्लब, सिरहाको सलहेश युवा क्लब, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, प्लानिङ ब्वाइज क्लब, झापाको रेडस्टार क्लब, भोजपुर जिल्ला फुटबल संघ र भारतको मिक्स क्लब खार्साङ गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले नगद ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले ५१ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट मिडफिल्डरले जनही १७ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताबाट ७६ लाख १ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ भने सञ्चालनका लागि ७२ लाख ७४ हजार रुपैयाँ खर्च हुने अनुमान छ।