विराटनगर हार्डवेयर संघले भन्यो–अब उधारो कारोबार बन्द

विराटनगर हार्डवेयर संघले भन्यो–अब उधारो कारोबार बन्द

विराटनगर । भारत तथा तेस्रो मुलुकबाट मालवस्तु आयात गर्दा एलसीमा शतप्रतिशत मार्जिनको व्यवस्थाले उद्योगी–व्यापारीले उधारो कारोबारलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका छन् । औद्योगिक–व्यापारिक क्षेत्रमा उधारोको जोखिम बढ्दै जाँदा बजारमा भुक्तानी भएको रुपिँयाका आधारमा मात्रै सामान बिक्री गरिने निर्णय गरिएको हो ।

विराटनगर हार्डवेयर संघका अध्यक्ष कमल अग्रवाल एक विज्ञप्ती जारी गर्दै कम्पनीहरुलाई अग्रिम भुक्तानी गरेपछि मात्रै सामान दिने भएकोले उपभोक्तालाई पनि उधारोमा सामान दिन नसकिने जानकराी गराउनु भएको छ ।
हार्डवेयर संघका सचिव देवीप्रसाद पोखरेलले कोभिड–१९ पछि उद्योगीले व्यापारीसँग एड्भान्स भुक्तानीमा मात्रै सामान उपलब्ध गराउँदै आएको बताउनुभयो । विदेशबाट मालवस्तु पैठारी गर्ने अवस्थामा समेत कडाई भएपछि व्यापारीले ‘मार्केट रिटर्न टर्नओभर’को पद्धतिलाई अंगाल्न नसक्ने अवस्था आयो, सचिव पोखरेलले भन्नुभयो–पहिले कम्पनीहरुले सामान दिन्थे र बिक्रीपछि त्यसैको भुक्तानी बुझाउने सुविधा थियो, तर अहिले पहिले भुक्तानी दिएपछि मात्रै सामान दिन थालेका छन् । बजारमा उधारो कारोबारको रकम फर्केर आउने अवस्था घट्दै गएकोले अब हातहाती कारोबार मात्रै गर्ने निर्णय गरिएको हो ।

पोखरेलका अनुसार हार्डवेयर व्यापारीहरुको उधारो कारोबार डुब्दा पलायन हुने स्थिति आईसकेको छ । विराटनगरको श्रीजी हार्डवेयर अहिले बन्द भयो, पोखरेलले भन्नुभयो–उधारो नउठ्दा आफ्नो सम्पति बिक्री गरेर ऋण तिर्नुपर्ने स्थितिको सामाना गर्नुपरेको छ । पछिल्लो समय नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गरेर अनावश्यक हल्ला चलेका कारण तेस्रो मुलुकबाट मालवस्तु पठाउने पाटीले समेत विश्वास भएका व्यापारीलाई पनि पूर्ण भुक्तानी माग्ने गरेका छन् ।
त्यसको असर बजार श्रृंखलामा पर्दै गएकोले समयमै सचेत भएर जति भुक्तानी उति सामान बिक्री गर्ने अवस्थामा व्यापारीहरु पुगेको बताउँछन् । उद्योगले उधारो दिन सक्दैन, मालवस्तु आयातमा कडाई छ, जसको असर उपभोक्तासम्म पुगेको हो ।

प्रिमियर स्टिलका सञ्चालक एवं विराटनगरका उद्योगी पवन शारडाले बजारमा अर्बौंको उधारो उठ्न बाँकी रहेकोले उद्योगीले व्यापारीलाई सामान दिन नसक्ने अवस्था आएको बताउनुभयो । उद्योगी–व्यापारीले एक रथका दुई पाङ्ग्रा भनिएपनि उधारो उठ्न नसक्दा त्यसको ‘चेन इफेक्ट’ बजारमा देखिएको हो । उद्योगीले थाम्न सक्ने स्थितिसम्म उधारो दिएकै थियौं, शारडाले भन्नुभयो–अहिले पूँजीगत खर्च न्यून भयो, बजार चलायमान हुननसक्दा हिजो विश्वास लागेका पाटीलाई समेत उधारो दिनसक्ने अवस्था छैन । चेकमा भएको कारोबारमा समेत बैंकमा पैसा जम्मा नहुने समस्या देखिएको छ । चेक बाउन्स हुँदा समेत कालोसूचीमा राखेर कारावाही गर्नुपर्ने व्यापारीलाई सरकारले संरक्षण गर्दै आएको शारडाको गुनासो छ ।

खाद्यन्न लगायतका आईटम उपभोक्तासम्म पुग्दा नगदमा कारोबार हुने भएपनि निर्माणका सामाग्री उपभोक्तासम्म पुग्दा नगद–उधारो बराबरी नै कारोबार हुने गरेको थियो । तर, अब उद्योगीले व्यापारीलाई र व्यापारीले उपभोक्तालाई पूर्ण भुक्तानीमा मात्रै कारोबार गर्ने स्थिति आएको दावी गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्