गठबन्धनसँग डराउनु पर्दैन : अध्यक्ष ओली

गठबन्धनसँग डराउनु पर्दैन : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनसँग नडराईकन आफ्नो पार्टीका नीति र विचारलाई जनता सामु लैजान निर्देशन दिनु भएको छ । विराटनगरमा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एउटै भाँडोमा खान गएका गठबन्धनमा सिङ्ग जुध्न थालेको बताउँदै एमाले डराई रहनु नपर्ने बताउनु भएको हो ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सिटमा थोरै तलमाथि भए पनि एमाले सबभन्दा ठूलो पार्टी भएको दावी गर्नुभयो । स्थानीय चुनावमा लोकप्रिय पाएको भन्दै सिटमा देखिएको तलमाथिबाट निराश नहुन कार्यकर्तालाई आश्वासन दिनुभएको थियो ।

आफ्नो दल अरु पार्टीहरुसँग तुलना गर्न नसक्ने गरी मजबुत बनेको बताउँदै ओलीले आगामी संघ र प्रदेशको निर्वाचनमा मोरङका ६ संघीय र १२ प्रदेशसभा क्षेत्रका निर्वाचनमा एमालेले जीत निकाल्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाका नेताहरुलाई अरुको कुरा नगरि आफ्नो पार्टीका लागि काम निकाल्न आग्रह गर्दै भन्नुभयो–अर्को जिल्लाको जित्नु भन्या हैन, मोरङमा शतप्रतिशत नतिजा आओस् ।

कार्यक्रममा नेकपा माओवादीका नेता विजय कामतसहित एमाले प्रवेश गरेका थिए । कामत २०७४ मा विराटनगर–६ बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा समेत वडाअध्यक्ष उठेर पराजित भएका थिए । उनी बारम्बार दल बदल गर्ने व्यक्तिमा चिनिन्छन् । तर, माओवादी केन्द्र विराटनगरमा भने कार्यकर्ता राखेर बसेका व्यक्तिको छवी थियो । माओवादीको कार्यक्रममा भेला हुनेमध्ये धेरै समर्थक उनैले भेला पार्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्