विराटनगर । जलपन्क्षीहरुले अनुकुल वातावरण, शान्त र ठुलो क्षेत्रफल तथा फार्म ल्याण्ड भएका ताल र सिमसार क्षेत्रहरु मन पराउँछन् । नेपालमा प्रत्येक वर्ष असोज महिनाको अन्त्यतिर रुसको साईबेरिया, पुर्वी यूरोप, एशियाका भागबाट विभिन्न प्रजातिका चराहरु बसाँईसरी नेपाल आउने गर्दछन् । उत्तरमा रहेका हिमश्रृङ्खला छिचोलेर आउने चराहरु करिब ७ महिनाको बसाईपछि जेठ महिनाको सुरुवातसँगै आफ्नो घर फर्किने गर्दछन् । सिमसार तथा तालहरुमा सबैभन्दा बढी पौष, माघ र फाल्गुण महिनामा जलपन्क्षीहरु देख्न पाईन्छन् ।
तर, पछिल्लो समय बसाँईसरी नेपाल आउने ती जलपन्क्षीहरुले आफ्नो गन्तव्य बदल्न थालेका छन् । बढ्दो अव्यवस्थित सहरीकरण, मानवीय चहलपहमा वृद्धि, बासस्थानको विनाश, सिमसार क्षेत्रमा वनभोज स्थलकोे विकास र फार्म ल्याण्डमा बिषादीको अत्याधिक प्रयोग लगायतका कारण पछिल्लो समय चराहरु लोप हुन थालेका हुन् । नेपालमा हालसम्म गणना भएका ८ सय ८८ प्रजातिका चराहरुमध्ये सबैभन्दा बढी सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा ५ सय २८ प्रजातिका चराहरु पाईन्छन् । बाँकी ३६० प्रजातिका चराहरु सुनसरीको बर्जुताल, पूर्वी मोरङको बेतना र उर्लाबारी तथा प्रदेश नं. २ को भारदह र कमलदह सिमसार क्षेत्रमा पाईन्छन् । तर, पर्यटन पूर्वाधार निमार्णको नाममा चराचुरुङ्गीहरुको बासस्थान नै सखाप हुनेगरी सिमसार क्षेत्रहरुमा संरचना ठड्याउने कार्य नरोकिएपछि दुर्लभ मानिएका चराहरु लोपोन्मुख अवस्थामा पुगेका छन् ।
प्रदेश नं. १ को राजधानी विराटनगरदेखि साढे १३ किलोमिटर पश्चिममा पर्छ सुनसरीको चिमडी बजार । चिमडी बजारदेखि २ किलोमिटर पश्चिममा छ बर्जुताल । बर्जु गाउँपालिका वडा नं. ६ मा रहेको यो ताल १ सय ५२ बिगाहा क्षेत्रफलमा फैलिएको छ । सुनसरीको दक्षिणपूर्वी भेगमा पर्ने बर्जु गाँउपालिकाको परिचय तालसँग जोडिएको भएपनि तालको परिचय भने यहाँको पर्यावरण, जलचर र चराहरुसँग जोडिएको छ । यहाँ ४० प्रजातिका जलपन्क्षीका साथै विभिन्न प्रजातिका पुतली र सरिसृपहरु पाईन्छन् । यहाँको वातावरण चराहरुका लागि अनुकूल रहेको कोशी पन्क्षी समाजका अध्यक्ष सञ्जीव आचार्य बताउँछन् । तर, आसपासका स्थानीयको जिविकोपार्जनसँग समेत जोडिएको उक्त तालको अवस्था अब पहिले जस्तो नरहेको उनको भनाई छ । स्थानीय पञ्कज मेहता भन्छन्, ‘गाउँका साथीहरु पहिले माछा मार्न तालमा आउँथे । एकपटक जाल थापेपछि छाक टर्थ्यो । तालमा घाम छेक्ने गरी चराका बथान आँउथे । तर, अहिले बर्जु ताल विनाश उन्मुख भएको छ ।’
बर्जुतालमा अहिले तालको पानी सुकाएर कृृत्रिम संरचना निमार्णको कार्य भईरहेको छ । ताल भित्र डोजर चलिरहेको छ । ७ करोडको लागतमा रेष्टुरेन्ट सहितको ९ तले भ्यूटावर निमार्णको कार्य भईरहेको छ । तालको पानी सुकाईएका कारण चरा एउटै छैनन् । स्थानीय विराज यादव भन्छन्, ‘हामी घुमफिर गर्न, चराको फोटो खिच्न प्रायः आईरहन्छौं । तर, अहिले आएर छक्क परेका छौं । चरा एउटै छैनन् । हुनुपनि कसरी ? मानिस नभएको ठाउँमा चरा बस्ने हो । तर, चरा बस्ने ठाउँमै मेसिन चलेपछि त के हुन्छ ?’
बर्जुतालको रेखदेखका निम्त्ति गाँउपालिकाबाट नियुक्ति पाएका मनिकलाल चौधरी तालमा जारी निमार्णका कार्यका कारण चराहरु नआएको स्वीकार गर्छन् । बर्जुमा जम्मा ३ वटा ताल छन् । पूर्वपट्टिको तालमा अलिअलि पानी भएपनि पश्चिमपट्टिका दुवै ताल सुकाईएका छन् । पूर्वको ताल घुमफिर र पिकनिकका लागि आउनेलाई बोटिङका निम्त्ति छोडिएको छ । भ्यूटावरको निमार्ण कार्य सम्पन्न भएपछि वर्षायाममा नजिकै रहेको खोलामा आएको बाढी ल्याएर तालमा पुनः पानी भर्ने योजना छ । चौधरी भन्छन्, ‘पानी भरिएपछि सायद अवस्था फर्किएला ।’
२ वर्षअघि मात्रै बर्जुतालमा चरा गणकहरुले ‘वैकाल्टिल हाँस’ रेकर्ड गरेका थिए । नेपालमा दुर्लभ मानिने उक्त जलपन्क्षी २०६८ सालपछि पहिलोपटक २०७६ सालमा देखापरेको थियो । तर, पर्यटन विकासका निम्त्ति भन्दै पर्यावरणीय पक्षलाई समेत खयाल नगरी गाउँपालिकाद्वारा जारी भ्यूटावर निमार्णको कार्यले उक्त हाँस पनि लोप हुने अवस्थामा पुगेको छ । पर्यटनलाई पैसासँग जोडेर हेर्न खोजिएका कारण बर्जुतालको अस्तित्व समाप्त हुँदै गएकोे स्थानीयको गुनासो छ । बर्जु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष जिवच्छ कुमार राय स्थानीयको गुनासो सम्बोधन हुनेगरि आफु लागिपरेको बताउँछन् । जलपन्क्षीहरुको संरक्षणका निम्त्ति छिट्टै नै योजना निमार्ण गरि कार्यान्वयनमा ल्याउने उनको भनाई छ ।
सुनसरीको बर्जुताल मात्र नभई प्रदेश नं. १ को मोरङ र सुनसरीका अन्य सिमसार र तालहरुको अवस्था पनि उस्तै छ । पर्यटन विकासको नाममा पर्यावरणलाई खयाल नगर्दा जलचरहरु यथोचित बासस्थानको खोजीमा बसाँई सर्ने क्रम जारी छ । चराविद्हरुका अनुसार कोशी टप्पु वन्यजन्तु आरक्षमा २०७७ को तुलनामा २०७८ मा चराहरुको संख्यामा ६५ प्रतिशतले कमी आएको छ । यसबर्ष पनि सो क्रम जारी रहने उनीहरुको आङ्कलन छ ।