ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

विराटनगर । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर प्रक्रियाका लागि अगाडी बढेका छन् । दुवै बैंकका सञ्चालकले एक आपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई ठूला बैंकहरूबीच भएको समझदारीले ‘बिग मर्जर’ संभावना बढाएको छ । ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले समझदारीपत्रमा बिहीबार हस्ताक्षर गरेका छन् ।
मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ‘ग्लोबल आइएमई बिओके लिमिटेड’ हुनेछ । सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहनेछन् ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट सिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ ।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

मर्जरपछि बैंकको कूल पूँजी रु. ५२.२९ अर्ब, चुक्ता पूँजी रु. ३४.४१ अर्ब, कूल निक्षेप रु. ३८४ अर्ब, कूल कर्जा रु. ३८० अर्ब सहित कूल पूँजी, चुक्ता पूँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ ।
दुवै बैंकले जेष्ठ मसान्तसम्म ६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् । दुई बैंकहरुको ३८५ शाखा कार्यालय, ३६७ एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ३७ लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठूलो बैंक हुनेछ ।

दुवै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्