रबिन्द्र बराल
रंगेली । रंगेलीमा सरकारी कार्यलय आसपासको एकसय मिटर दुरीसम्म मदिराजन्य वस्तु बिक्रीमा रोक लगाउने निर्णय गरिएको छ । अस्पताल, विद्यालय, सरकारी कार्यालय तथा सार्वजानिक सेवा प्रवाहका कार्यलयको एकसय मिटर वरिपरि मदिरा बिक्री वितरणमा रोक लगाउने तयारी थालिएको हो ।
सार्वजानिक सेवा प्रवाहका कार्यालय आसपासमा मदिराबिक्री वितरण कार्य गर्न नहुने कानुनी प्रावधानको पालना भए–नभएको बारेमा सर्वदलिय एककृत टोली परिचालन गरी अनुगमन गर्ने निर्णय गरिएको छ । रंगेलीका नगर प्रमुख दिलिप बगडियाको अध्यक्षतामा बसेको बैठकले मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।
यसैगरी रंगेली नगरपालिकाले विपद व्यवस्थापनको लागि बैठक राखेको छ । यस बर्ष मनसुन चाँडै सुरु भएको र बिगतको तुलनामा धेरै मनसुन हुने विभागको पूर्वानुमानलाई ध्यानमा राखेर प्रतिकार्यको तयारी थालिएको हो ।
विपद् व्यवस्थापनको बैठकले संभावित प्रभावित व्यक्तिहरुलाई सुरक्षित स्थानमा राखी उचित प्रवन्ध मिलाउने, उच्च क्षेत्रको खोजी, पहिचान गर्ने जिम्मेवारी नेपाल प्रहरी, ससस्त्र प्रहरीलाई जिम्मेवारी दिएको छ । यसैगरी प्रहरीलाई अत्यावश्यक सामााग्री प्रदान गरिने, विपद्को समयमा तत्काल उद्धारको कार्यमा जनपद प्रहरी, सशस्त्र युद्धटरी, नगर प्रहरी परिचालन गरिने, विपद्को समयमा घाइतेको उपचारको लागी रंगेली अस्पतालमा विशेष टोली बनाई परिचालन गर्ने पूर्व तयारी थालिएको हो । रंगेली नगरपालिकाले उद्धारका लागि आवश्यक सामाग्री खरिद गरेर तयारी अवस्थामा राख्ने, दमकल, एम्बुलेन्स लगायतका सेवालाई स्टेण्ड बाई राखिने भएको छ ।