मोरङमा छ महिनाको अवधिमा २२४ जना पीडित

मोरङमा छ महिनाको अवधिमा २२४ जना पीडित

विराटनगर । इन्सेकले मोरङमा २०७८ पुस १७ गतेदेखि जेठ ३१ गतेसम्मको अवधिमा राज्यपक्षबाट १७ जना नागरिक पीडित भएको प्रतिवेदन सार्वजनिक गरेको छ । सोही अवधिमा अन्य पक्षबाट ३४ जना पुरूष र १ सय ९० जना महिला गरी २ सय २४ पीडित भएको प्रतिवेदन असार ७ गते सार्वजनिक गरेको हो ।

मानव अधिकारको क्षेत्रमा क्रियाशील इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सन् २०२२ को जनवरीदेखि जुन १५ सम्म अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीमा घटनामा घरेलु हिंसामा महिला र बलात्कार घटनामा बालिका पीडित भएको उल्लेख गरेको छ ।
असार ७ गते विराटनगरमा आयोजना गरिएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रममा इन्सेक मोरङ प्रतिनिधि विनोद सुवेदीले ६ महिनाको अवधिमा राज्यपक्षबाट भएका् गिरफ्तारीका घटनामा चार जना, यातना घटनामा एक जना, कुटपिटका घटनामा सात जना र घाइते घटनामा पाँच जना गरी १७ जना पीडित भएका बताए ।

सन् २०२२ को पहिलो ६ महिनाको अवधिमा जिल्लामा १८ जना बालिका बलात्कार, २२ जना बालिका र दुई जना बालक गरी २४ जना यौन दुव्र्यवहार घटनामा पीडित भएको इन्सेक अभिलेख गरेको सुवेदीले बताए । इन्सेक अभिलेखका आधारमा ६ महिनाको अवधिमा १४ जना महिला बलात्कार, ९ जना बलात्कार प्रयास, ११ जना यौन दुव्र्यवहार र ८५ जना महिला घरेलु हिंसा घटनामा पीडित भएका प्रतिवेदन इन्सेकको छ ।
कार्यक्रममा सहभागीहरूले इन्सेकलाई मानव अधिकार उल्लङ्घनका घटना स्थानीय तहसम्म पुगेर अभिलेखीकरण गर्न सुझाव दिएका छन् ।
समीक्षामा राष्ट्रिय मानव अधिकार आयोग विराटनगर कार्यालय प्रमुख नितु गड्तौलाले संविधानले प्रदान गरेका अधिकारबाट नागरिक वञ्चित भएको बताइन् । उनले यौनजन्य घटनामा हद म्याद भएका कारण धेरै महिला र बालिका पीडित भएर पनि न्यायबाट वञ्चित हुनु परेको बताइन ।
पत्रकार सुशीला पाठकले मोरङ कारागारमा कैदीबन्दी आधारभूत अधिकारबाट वञ्चित भएको बताइन । उनले कारागारमा रहेका महिला तथा पुरूष कैदीबन्दी हालका दिनमा छालाजन्य रोगबाट पीडित भएपनि उनीहरूको उपचारमा राज्यले चासो नदिएको बताइन । उनले मोरङ कारागारमा कैदीबन्दी उडुसबाट पीडित भएको बताइन । पत्रकार पाठकले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पहिले पछिल्ला दिनमा हिरासतमा रहेका व्यक्तिमाथि मानव अधिकारमैत्री व्यहार नभएको सूचना पाएको बताइन ।

वरिष्ठ पत्रकार यज्ञ शर्माले अबका दिनमा राज्यले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सवाललाई सम्बोधन गर्न आवश्यक रहेको बताए । माइती नेपाल मोरङ संयोजक विनोद नेपाल मोरङमा अझै पनि बालिका वेचविखनको अवस्था भयावह रहेको बताए ।
कार्यक्रममा अधिकारकर्मी, वुद्धिजीवी, पत्रकार र सामाजिक अभियान्ताको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्