बाढी र डुबान प्रभावित नागरिकको उद्धारमा सुरक्षा संयन्त्र परिचालन

बाढी र डुबान प्रभावित नागरिकको उद्धारमा सुरक्षा संयन्त्र परिचालन

विराटनगर । मोरङमा लगातारको वर्षाका कारण ३६७ घरधुरीका एकहजार ३६८ जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठका अनुसार जिल्लाका धेरै क्षेत्रमा वर्षाका कारण डुबान र कटानको जोखिम देखिएको छ । मंगलबारदेखि लगातार परेको वर्षा बुधबार समेत जारी छ ।

जोखिममा परेका नागरिकको उद्धारमा नेपाल प्रहरीले सहयोग गर्दै आएको छ । हालसम्म विराटनगर महानगरपालिका ८ का २५ घरपरिवारका ९५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । यसैगरी विराटनगर–७ का ३८ घरधुरीका १४५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । विस्थापितमध्ये १७ घरपरिवारलाई गायत्री माविमा र बाँकी आफन्तको बसेका छन् ।

बेलबारी नगरपालिका–६ को बाहुनी खैटे खहरे खोला गाउँ पसेको छ । खोलाले ८ घर डुबान हुँदा ३३ जना विस्थापित भएका छन् । कटहरी गाउँपालिका–१ का १५० परिवार विस्थापित भएका छन् । टाईगर टोलका ८० घरधुरीका २८०, हनुमान मन्दिर क्षेत्रका ४० घरधुरीका १७० जना र नारी विकास टोलका ३० घरपरिवारका एकसय जना विस्थापित भएका छन् । यो बस्तीमा सिंघिया खोलाको बाढी पसेको छ । विस्थापितलाई नारी विकासको भवन, एकिकृत कृषि थोक बजार र सुरक्षित स्थानमा पाल टाँगेर राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी मोरङको बुढीगंगा गाउँपालिका १ खापटोलमा सिंघिया खोलाको बाढी गाउँमा पसेको छ । २६ घरधुरीका १२५५ जनालाई वडा कार्यालयको भवनमा सारिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नजिकैको प्रहरी यूनिटलाई सक्रिय बनाएर उद्धारमा परिचालन गरिएको जानकारी दिनुभयो । नागरिकलाई सचेत रहन आग्रह गर्दै जोखिम भए सुरक्षा लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलिलाई तैनाथ राखिएको उहाँले जानकारी दिनुभयो । जिल्लाभरमा तीनवटा बोटमार्फत आवश्यक पर्दा उद्धार गर्ने गरि तयारी गरिएको छ । दुईहजार ५०० जना सुरक्षाकर्मी एकसाथ परिचालन हुने अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्