भोजपुर । भोजपुरमा जन्मिनुभएकी क्रान्ति योद्धा योगमायाको नाममा बन्न लागेको योगमाया आयुर्वेद विश्व विद्यालयका लागि जग्गा खरिद प्रक्रिया अघि बढेको छ ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ को ढुङ्गा बिसौनी र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रमा जग्गा खोजी भइरहेको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । जग्गा खरिद गर्न केन्द्र सरकारबाट विनियोजन भएको रु सात करोड आइपुगेको उहाँले बताउनुभयो ।
नगरप्रमुख उदासले भन्नुभयो, “योगमाया आयुर्वेद विश्व विद्यालय निर्माणको प्रक्रिया सुरु भएको छ । अहिले हामी विश्वविद्यालयले निर्माणका लागि आवश्यक पर्ने जग्गाको खोजीमा छौँ । खादबारी नगरपालिकामा पर्ने जग्गाको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।”
विश्वविद्यालयले निर्माणका लागि षडानन्द नगरपालिकामा २३३ रोपनी र खादबारी नगरपालिका ३७२ रोपनी जग्गा लिने मन्त्रिपरिषद्को निर्णयबमोजिम खोजी प्रक्रिया थालनी गरिएको नगरप्रमुख उदासले जानकारी दिनुभयो ।
योगमाया भोजपुरमा जन्मिएको भए पनि मन्त्रिपरिषद्को निर्णयमा भोजपुरमा भन्दा सङ्खुवासभामा बढी जग्गा खरिद गर्ने निर्णयले यस नगरपालिका असन्तुष्ट रहेको उहाँको भनाइ थियो । प्रमुख उदासले भन्नभयो, “आवश्यक प्रक्रिया थालनी भयो तर जग्गा खरिद प्रक्रिया हाम्रा लागि न्यायोचित देखिँदैन ।”
योगमायाको जन्म भोजपुरमै भएको हो, तर जग्गा भने सङ्खुवासभामा बढी खरिद गर्ने भन्ने उल्लेख छ । हाम्रा तर्फबाट दुवै क्षेत्रमा जग्गा बराबरी हुनुपर्छ भन्ने मेरो माग छ । त्यस्तै बन्ने संरचना पनि भोजपुर क्षेत्रलाई प्राथमिकतामा राखेर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
जग्गा खरिद गर्न रु सात करोड रकम सङ्खुवासभा जिल्ला प्रशासन कार्यालयमा आएको छ भन्दै नगरप्रमुख उदासले हाम्रो क्षेत्रको जग्गा खरिदका लागि आएको रकम पनि सङ्खुवासभा जिल्ला प्रशासनमा छ । खासमा नगरपालिकाका यसअघिका जनप्रतिनिधिले समयमा मागपत्र पेश गर्न नसक्दा यस्तो भएको हो ।
त्यो बेला अलिकति प्राथमिकताका साथ काम गरिदिएको भए हाम्रो जिल्ला प्रशासन कार्यालयबाट नै खरिद रकम भुक्तानी गर्न सकिन्थ्यो । त्यो नहुँदा हाम्रो क्षेत्रको जग्गा खरिदको रकम पनि सङ्खुवासभाले भुक्तानी गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ थियो ।
योगमायाको समाधिस्थल मजुवबेँसीमा समेत आवश्यक जग्गा खरिद गरेर संरचना निर्माण गर्नुपर्ने माग आफूहरूको रहेको र भोजपुरतर्फको जग्गा विश्वविद्यालयको नाममा प्राप्ति गर्न जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर निर्णय गरी कामको थालनी गरिएको नगरप्रमुख उदासले जानकारी दिनुभयो ।
“योगमायाको योगदानको कदर गर्दै सरकारले थालेको कामको पूर्णताका लागि नगरपालिका सचेत भएर लागेको छ । मेरो अगुवाइमा अहिले हाम्रा तहबाट गर्नुपर्ने कामको थालनी भएको छ”, उहाँले भन्नुभयो, “केही क्षेत्र सङ्खुवासभासँग जोडिएकाले खादबारी नगरपालिका र त्यहाँको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर कामका गतिविधि अघि बढाएका छौँ । जग्गा खोजीको प्रक्रिया चाँडै नै समाधान गर्नेमा हामी प्रतिबद्ध छौँ ।”
सङ्खुवासभामा विश्वविद्यालयको नाममा जग्गा पास थालिएको त्यहाँ प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो । हालसम्म २२ रोपनी जग्गा पास भइसकेको र यो पक्रिया चाँडै नै सम्पन्न गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो । पहिला भएको सम्झौताअनुसार सङ्खुवासभामा प्रति रोपनी रु एक लाखका दरले जग्गा खरिद गरिएको प्रजिअ खतिवडाको भनाइ थियो ।
भोजपुरका जग्गाधनीले भने प्रतिरोपनी रु ५० हजार पाउने गरी पहिला नै सम्झौता भएको थियो । प्रजिअ खतिवडाले भन्नुभयो, “हाम्रो जिल्लामा जग्गा खरिद प्रक्रिया सुरु भइरहेको छ । बाइस रोपनी जग्गा त विश्वविद्यालयको नाममा पास भइसक्यो । पहिला भएको सम्झौताअनुसार सङ्खवासभाका जग्गाधनीले प्रतिरोपनी रु एक लाख र भोजपुर जग्गाधनीले रु ५० हजार पाउने उल्लेख छ । भोजपुरका नागरिकले पहिला नै प्रतिरोपनी रु ५० हजारमा दिन्छौँ भनेका रहेछन् त्यसै भएर मूल्यमा फरक भएको हो । भोजपुरका नागरिकले जग्गा पास गरेपछि त्यहाँको जिल्ला प्रशासनको सिफारिसमा हामी नै उनीहरूलाई भुक्तानी दिन्छौँ ।”
भोजपुरतर्फको २३३ रोपनी र सङ्खुवासभाको ३७२ गरी ६०५ रोपनी जग्गा खरिद गर्ने र अपुगमा सरकारी जमिनलाई पनि प्रयोगमा ल्याउने प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाइ थियो । दुवै जिल्लाको जग्गा खरिद प्रक्रिया सपन्न भएपश्चात् विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार गरेर निर्माण प्रक्रिया अघि बढ्ने उहाँले जानकारी दिनुभयो । डीपीआर बनेपछि कुन जिल्लामा कति र कस्ता संरचना बन्ने भन्ने टुङ्गो लाग्ने भएको छ ।
दुई जिल्लाको समन्वयमा जग्गा खरिद प्रक्रिया भइरहेको छ । दुई जिल्लामा जग्गा खरिद गर्नु पर्ने भएकाले कुन क्षेत्रमा कति संरचना बन्छन् भन्ने यकिन भएको छैन । विश्वविद्यालयको पूर्ण विस्तृत परियोजना प्रतिवेदन बनेपछि निर्माणको प्रक्रिया सुरु हुन्छ । त्यसपछि कस्ता संरचना कतिवटा कहाँ बन्छन् भन्ने कुराको टुङ्गो लाग्छ ।
सतिप्रथाको अन्त्यका लागि सङ्घर्ष गर्नुहुने क्रान्ति योद्धा योगमायाको जन्म विसं १९१७ मा भोजपुरको षडानन्द नगरपालिका–१, नेपालेडाँडामा भएको थियो । देशमा जगडिएको सतिप्रथा अन्त्यका लागि पटक–पटक तत्कालिन राणा सरकारसँंग मागगर्दा पनि कुनै निर्णय नभएपछि योगमायासहित ८६ जनाले समाधि लिएका थिए । सतिप्रथा, छुवाछूत प्रथा अन्त्यका लागि आफ्नो अभियानको नारा लगाउँदै विसं १९९८ असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले मृत्युवरण गरेका थिए ।
उहाँहरूले समाधि दिएको ठाउँ षडानन्द नगरपालिका–६ को मजुबेँसीमा पर्दछ । समाज सुधारका लागि कुरीति, अन्धविश्वासको विरोधको त्यो समयमा अभियान चलाउने साहसी महिलाको रूपमा योगमायालाई चिनिन्छ । काठमाडौँ पुगेर श्री ३ जुद्धशम्शेरसँग भेट गरी उहाँले धर्म भिक्षा माग्नुभएको थियो । जुद्धशम्शेरबाट धर्म भिक्षाको वचन पाए पनि वचनअनुसार राणाहरूले कुनै काम नगरेपछि उहाँमा थप क्रान्तिको विजारोपन भएको थियो ।
तत्कालीन श्री ३ ले झुक्याउने काम गरेकाले चुनौती दिँदै उहाँले आफ्ना २४० भक्तहरूका साथ अरुण नदीछेउ अग्निदाह गर्ने घोषणासमेत गर्नुभकामा त्यो कुरा तत्कालीन सरकारले थाहा पाएर योगमायासहित उहाँका अनुयायीलाई नियन्त्रणमा लिइएको थियो । त्यहाँबाट छुटेपछि योगमायासहित उहाँका ६८ जना अनुयायीले सामूहिकरूपमा अरुण नदीमा हामफालेर सतिप्रथासहित कुरीतिको विरोधमा देहत्याग गरेका थिए । रासस