हालै मात्र एक जना पत्रकार साथीले यो प्रश्न सामाजिक संजालमा राख्नुभयो । यसमाथि धेरै खाले प्रतिक्रियाहरू आए । कुनै प्रतिक्रिया एक पक्षीय थिए भने कुनै बहु पक्षीय थिए । म विद्यालय संचालक अनि शिक्षक भएको नाताले मैले सामुहिक उत्तरदायित्वबोध हुने प्रतिक्रिया दिएँ । यस्तो कुरामा केवल बहस मात्रै समाधान हुन सक्दैन भन्ने विचारले मलाई दिनरात गिजोलिरह्यो । आफैंलाई बारम्बार प्रश्न गरिरहेँ तर समाधान फेला परेन ।
उसोभए समाधान के हो त? मेरो दीर्घ अनुभवले यसको गम्भीर समीक्षा शुरु ग¥यो । मैले आफू विद्यार्थी हुँदाको परिवेश सम्झिएँ । मेरा पिताजी बिँडीचुरोटको दीर्घ अम्मली हुनुहुन्थ्यो। उहाँले पिउने बिँडीको पहिलो सर्कोको स्वाद जहिल्यै हामी छोराहरूले लिन पाउँथ्यौँ । उहाँलाई तलतल लाग्नासाथ एउटा बिँडी दिएर, “जा सल्काएर ल्या !” भन्नुहुन्थ्यो ।
म हुर्किएको परिवेशमा बिँडीले निम्न वर्गीय हैसियत प्रकट गर्दथ्यो भने चुरोटले वैभवको परिचय दिन्थ्यो । चुरोट(फिल्टरवाला) पिउने ल्याकत भएको मानिसलाई देख्नेहरू ईष्र्याभावले हेर्ने गर्थे अनि आफूलाई हीन सम्झिन्थे ।
अधिकांश परिवारमा सुर्ती चुरोटको अम्मली कोही न कोही भएकै हुन्थ्यो कसैकसैकोमा त परिवारैले प्रयोग गरेको पाइन्थ्यो । तर शिक्षा र चेतनाको विकाससँगै धूम्रपान र सुर्ती सेवन क्रमशः परिवारहरूमा प्रतिबन्धित हुँदै गएको देखियो । हिजोआज पहिले जस्तो कुनै पनि बच्चाले अभिभावक सामु अम्मलको प्रयोग गरेको पाइन्न जब कि मेरा पिताजीले आठ बर्षकै कलिलो उमेरमा बिँडी खान शुरु गर्नुभएको थियो रे ।
यसको अर्थ बच्चाहरू अम्मली हुन छोडेका चाहिँ पक्कै होइनन् । पहिले जस्तो अचेल जुनसुकै ठाउँमा जुनसुकै उमेरको मानिसले प्रयोग गरेको पाइन्न किन्तु चुरोट र सुर्तीको बिक्रीलाई हेर्दा अम्मलीहरू दसौं गुनाले बढिरहेको पाइन्छ ।
विद्यार्थीहरूमा देखिएको सुर्ती चुरोटको लत कालान्तरमा गएर गाँजा, चरेस जस्ता लागुऔषधमा परिवर्तन हुने गरेको पाइन्छ । फलस्वरूप हाम्रो समाजमा लाहुऔषधका दुर्व्यसनीहरू दिनप्रतिदिन उल्लेख्य संख्यामा बढिरहेका छन् ।
यसलाई रोक्ने दायित्व कसको ?
कुलतमा फसेकोलाई लत छुटाउनभन्दा कुलतमै फस्न नदिनु चाहिँ सजिलो कार्य हो । आजका बालबालिकाहरू परिवारभित्रबाटभन्दा पनि बाह्य संगतबाट कुलतमा फस्ने सम्भावना उच्च रहेको पाइन्छ । जतिपनि दुर्व्यसनी बढेका छन् अधिकांश सामाजिक प्रभावको सिकार भएर दुव्र्यसनतवलए लागेका छन् । तर यसमा अभिभावकले गर्ने व्यवहारले प्रमुख भूमिका खेलेको कुरा चाहिँ हाम्रो समाजको तितो यथार्थ हो ।
आमाबाबुबाट यथोचित माया नपाउनु या अति धेरै लाडप्यार पाउनु नै उसको बर्बादीको आरम्भ बिन्दु हो । बच्चाको मनोभावनाप्रति अभिभावक उदासीन भैदिँदा त्यसको पूर्ति उसले बाह्य स्रोतबाट पाउने अपेक्षा राख्दछ र ऊ खराब साथीहरूप्रति आकर्षित हुन पुग्छ। त्यस्ता साथीहरूले उसलाई एकैपटक मायाप्रेम, सहानुभूति, हिम्मत र भरोसा दिने सामर्थ्य राख्दछन्। मेरो बारेमा राम्रो सोचिदिने केवल साथीहरू मात्रै रहेछन् भन्ने भ्रमको विरुवा उसभित्र पलाउँछ जसले दिनप्रतिदिन अभिभावकप्रति विकर्षण उत्पन्न गराउँदै लैजान्छ ।
कुनैपनि बालक कुलतमा फस्नका लागि माथिको कारण प्रमुख हो भने सहायक कारणहरू निम्न रहेका छन् ।
१) तनावपूर्ण दैनिकी : भारी नै बोक्न नसक्ने किताबका ठेलीहरू, खोक्नै नसकिने पाठहरूको चाप अनि अभिभावकले अरुभन्दा राम्रो नतिजा ल्याउन दिइराख्ने दबाबले बच्चालाई मनोवैज्ञानिक रूपमा अत्यन्त कमजोर बनाउँछ अनि सजिलै डिप्रेसन (तनाव) को सिकार बन्दछ । अभिभावकले क्षमताभन्दा धेरै नतिजा नखोज्ने हो भने पनि बच्चा अभिभावकबाट टाढिँदैन र कुलतमा फस्ने सम्भावना न्यून हुन पुग्दछ । यसर्थ अभिभावकले माथिका कुराहरूलाई विचार गरि बच्चालाई तनावरहित वातावरण दिन सक्नुपर्छ ।
२) सञ्चारमाध्यम र चलचित्रको प्रभाव
बालबालिकाहरूमा आफूले आदर्श मानेको व्यक्तिको हुबहु नक्कल गर्ने तीब्र चाहना रहेको हुन्छ। चलचित्रमा नायक नायिकाले धूम्रपान परेको देखेपछि आफूले पनि त्यस्तै गरेर चर्चा पाउने लालसा जाग्नु स्वाभाविक हो । चुरोट सेवन गर्दा सर्वाधिक शक्तिशाली भइने प्रेरणा पनि यस्तै दृश्यहरूबाट उसले प्राप्त गर्दछ । अनि सन्चारमाध्यममा प्रकाशित र प्रसारित हुने विज्ञापनले पनि कुलततर्फ लाग्ने प्रेरणा दिइरहेका हुन्छन् ।
३) राज्यसंयन्त्रको उदासीनता
हामीकहाँ सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कुनै पनि कानुनी बन्देज छैन । एउटा ७÷८ बर्षको बालकलाई पनि दोकानदारले बिना हिच्किचाहट सजिलै चुरोट खैनी बेचिदिन्छ । जुनसुकै ठाउँमा जुनसुकै व्यक्तिले सहज रूपमा किन्न पाउनु पनि दुर्व्यसन वृद्धिको कारण हो । यसर्थ यस्ता हानिकारक वस्तुहरूको बिक्रीवितरण राज्यको गम्भीर चासो हुनुपर्छ । यस्ता सामग्री बिक्री गर्ने पसलहरू निश्चित ठाउँमा मात्रै हुनुपर्ने, वयस्कलाई मात्रै बेच्नु पर्ने अनि गलत गरेको खण्डमा कठोर सजायको व्यवस्था हुनुपर्ने देखिन्छ ।
४) विद्यालय र शिक्षकको भूमिका
बालबालिकाले अभिभावकभन्दा धेरै शिक्षकको कुरामा विश्वास गर्दछ्न्। शिक्षकहरू उनीहरूका आदर्श हुन् । आफ्नो आदर्शले नै यस्तो दुर्व्यसनको प्रयोग गरेको देखे भने त्यसको असर शीघ्रातीशीघ्र बच्चाले ग्रहण गर्ने हुनाले शिक्षकहरू हरपल सचेत रहनु पर्दछ अनि विद्यालयभित्र कुलत विरोधी जागरण निरन्तर दिइरहनु पर्दछ ।
निष्कर्ष :
माथिका जतिसुकै कारणहरूको चर्चा गरिएपनि छोराछोरीको जीवनप्रतिको प्राथमिक दायित्व अभिभावकको नै हो । अभिभावकहरूको लापरबाहीले गर्दा नै अधिकांश बालबालिका कुलतमा फस्न पुग्दछन् । घरभित्र बालबालिका सामु रक्सी सेवन गर्ने कार्य हाम्रो समाजमा परम्परा बन्दै गएको छ । रक्सीसँगै चुरोट सेवन गर्ने अभिभावकले नै बच्चालाई दुर्व्यसनतर्फ धकेलिरहेका छन् ।
यसर्थ एउटा युनिफर्म लगाएको विद्यार्थीले चुरोट किन्न खोज्दा सजिलै बेच्ने पसले, उसको कलिलो ओठले चुरोट तानेको देखेर पनि नदेखेझैं गर्ने आम व्यक्ति, छोराछोरीको कोमल मनोभावलाई पैसाले पूरा गरेको छु भनेर खुसी हुने अभिभावक, व्यसनको विज्ञापनबाट पैसा कमाउने सन्चारमाध्यम, नायकले शक्तिशाली बन्न चुरोट तान्नै पर्छ भन्ने देखाउने चलचित्र निर्देशक, कानुनी अधिकार बोकेर कानुनको खिल्ली उडाउने राज्यका भ्रष्ट निकायहरू र गुरुको भूमिकामा रहेर पनि गुरु बन्न नसकेका कथित शिक्षकहरू नै बालबालिकाको अँध्यारो भविष्यका लागि जिम्मेवार रहेका छन् ।